
२९ असोज, काठमाडौं । देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारको मूल गेटमा सेल्फ लोडिङ राइफल (एसएलआर) कक गर्दै पोजिसन लिने व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुरस्थित ब्रान्चले जेनजी आन्दोलनको क्रममा एलएलआर हतियारमार्फत पोजिसन लिएर उच्छृंखल गतिविधि गर्ने ती युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने व्यक्ति सम्राट भनेर चिनिने राजु परियार हुन् । ललितपुर महानगरपालिका-१३ कुसुन्ती घर भएका ३६ वर्षीय परियारले २४ भदौमा भएको जेनजी आन्दोलनमा राइफल लिँदै उच्छृखंल गतिविधि गरेको भिडिओ, तस्वीर भाइरल बनेको थियो ।
टाउकामा क्याप र मुखमा कालो मास्क लगाएका परियारले माथिको कपडा भने फुकालेका थिए । उनको छातीमा ट्याटु खोपेको पनि भिडिओमा देखिन्थ्यो ।
ट्राउजर र चप्पल लगाएका ती व्यक्ति सिंहदरबार तोडफोड र आगजनीमा अग्रमोर्चामा रहेको आशंका प्रहरीको छ । उनै परियारले सुरक्षाकर्मीको स्वचालित एसएलआर हतियार लुटेर आतंक सिर्जना गरेका थिए ।
राइफल बोकेर पोजिसन लिएको तस्वीर भाइरल भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले समेत उनको खोजी सुरु गरेको थियो । घटनाको एक महिनापछि अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो ।
सार्वजनिक भिडिओअनुसार व्यक्ति पहिचान गरी पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं बुझाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले पुष्टि गरे ।
उनलाई आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाउन लागिएको छ । त्यही प्रयोजनका लागि अपराध अनुसन्धान कार्यालयले परियारलाई परिसर काठमाडौंको जिम्मा लगाएको छ ।
हतियार सेनालाई बुझाएको दाबी, छैन केही प्रमाण
शारीरिक रूपमा निकै हट्टाकट्टा देखिने परियारलाई पक्राउ गर्न प्रहरी पुग्दा उनी उल्टै प्रहरीमाथि जाइलागेका थिए । मंगलबार साँझ पक्राउ गरेर प्रहरीले उनीमाथि सामान्य सोधपुछ गरेको थियो ।
तर, आफूले बोकेको हतियार भने उनले सुरक्षाकर्मीलाई बुझाएको दाबी गरेका थिए । ‘मैले नेपाली सेनालाई त्यो हतियार बुझाएको हुँ,’ परियारले प्रहरीसमक्ष भनेका थिए ।
तर, सेनालाई हतियार बुझाएको कुनै प्रमाण भने फेला पगरेको प्रहरीले बताएको छ । बुझाउँदाको भिडिओ रहेको दाबी गरे पनि प्रहरीले उनको मोबाइल हेर्दा हतियार बुझाएको कुनै प्रमाण फेला परेन ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनी जेनजी आन्दोलनमा सहभागी हुनेभन्दा पनि मौकामा उच्छृंखल गतिविधिमा संलग्न भएको देखिएको छ । उमेर ३६ वर्ष भइसकेको र आपराधिक पृष्ठभूमिका कारण परियार आगजनी र तोडफोडकै लागि उत्रिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
परियारले उक्त हतियार भने सर्वोच्च अदालतभित्र रहेको प्रहरी कार्यालयबाट लुटेको बताएका छन् ।
ज्यान मार्नेसहित ८ मुद्दा
एसएलआर बोकेर सिंहदरबारको गेट अगाडि पोजिसन लिएको भिडिओ, तस्वीर भाइरल बने पनि उनको यकिन नाम तथा ठेगाना खुलेको थिएन । प्रहरीले लामो अनुसन्धानपछि उनको ठेगाना पत्ता लगाएको थियो ।
त्यसपछि बल्ल उनी पक्राउ परेका थिए । पक्राउ गरेपछि प्रहरीले अनुसन्धान गर्दै विगतको ट्र्याक रेकर्ड केलाउँदा परियार ८ वटा मुद्दा चलेका व्यक्ति रहेको पाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनीविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलेको थियो । गंगामाया देउलाले उनीविरुद्ध जाहेरी दिएकी थिइन् । ज्यान मार्ने उद्देश्यले आफूमाथि आक्रमण गरिएको गंगामायाको भनाइ थियो ।
त्यस्तै जिल्ला प्रहरी परिसर ललितपुरबाट पनि परियारविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलेको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)मा भेटिएको छ । ललितपुरमा भने रोमन महर्जनले उनीविरुद्ध जाहेरी दिएका थिए ।
दुईवटा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलेका परियारविरुद्ध ठगीदेखि बैंकिङ कसुरको मुद्दा चलेको रेकर्ड पनि भेटिएको छ ।
प्रहरी वृत्त नयाँबानेश्वरमा परियारविरुद्ध रवि तामाङले ठगीको जाहेरी दिएका थिए । त्यस्तै प्रहरी वृत्त महाराजगञ्जबाट बैंकिङ कसुरमा मुद्दा चलेको रेकर्ड भेटिएको छ । उनीविरुद्ध राजकुमार खड्कीले बैंकिङ कसुरको जाहेरी दिएका थिए ।
जिल्ला प्रहरी परिसर ललितपुरमै परियारविरुद्ध ठगी कसुरको अर्को मुद्दा चलेको थियो । मिक्सार तामाङ नाम गरेका व्यक्तिले उनीविरुद्ध जाहेरी दिएका थिए ।
प्रहरी वृत्त स्वयम्भूमा परियारविरुद्ध सुदन बैजुले ठगीको जाहेरी दिएका थिए । यो कसुरमा पनि उनीविरुद्ध मुद्दा चलेको भेटिएको छ ।
यो बाहेक उनीविरुद्ध दुईवटा अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको भेटिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरमा गोविन्द रिमालको जाहेरीले अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको भेटिएको छ ।
प्रहरी वृत्त नयाँबानेश्वरमा रवि तामाङको जाहेरीपछि परियारविरुद्ध अभद्र व्यवहारको मुद्दा चलेको रेकर्ड भेटिएको छ ।
कसुन्ती घर भएका परियारले लाइसेन्सको बिचौलियाको काम गर्ने गरेको पनि प्रहरी अधिकृतहरू बताउँछन् । लाइसेन्स बनाइदिन्छु भन्दै रकम लिएरसमेत ठगी गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।
अहिले सबैजसो प्रहरी कार्यालयहरू जलेर कागजात र रेकर्ड सिस्टम नै नष्ट भएकाले उनीविरुद्धका मुद्दा फर्स्योट भइसके वा कस्तो अवस्थामा छन् भन्ने प्रहरीले अहिलेसम्म खुलाउन सकेको छैन ।
कुन मुद्दा चालु अवस्थामा छ वा कुन मुद्दा किनारा लागिसकेको छ भन्नेबारे अहिले बुझ्ने काम भएको प्रहरीले बताएको छ ।
परियारमाथि ८ वटा मुद्दा चलेको प्रमाण भेटपछि प्रहरी अधिकारीहरू नै छक्क परेका छन् । यस्ता गतिविधि गर्नेमा जेनजीभन्दा पनि यस्तै आपराधिक पृष्ठभूमिका व्यक्तिको हात हुनसक्ने प्रहरी अधिकारीहरूले विश्लेषण गरेका छन् ।
प्रतिक्रिया 4