
News Summary
Generated by OK AI. Editorially reviewed.- २३ र २४ भदौमा ताहाचलस्थित वैदेशिक रोजगार विभागमा भएको आगजनीले कार्यालय पूर्णरूपमा क्षतविक्षत भएको छ।
- विभागले जलेका फाइलको सट्टा सेवाग्राहीबाट प्रतिलिपि कागजात मागेर सेवा निरन्तरता दिइरहेको छ।
- आगजनीपछि पनि विभागले दैनिक श्रम स्वीकृति, राहत–उद्धार लगायतका काम नियमित सञ्चालन गरिरहेको छ।
२९ असोज, काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा ताहाचलस्थित वैदेशिक रोजगार विभागमा भएको आगजनी र तोडफोडपछि कार्यालय पूर्णरूपमा क्षतविक्षत बन्यो ।
कागजातमात्र नभई फर्निचर, कम्प्युटर र सवारीसाधनसम्म जलेर खरानी भयो । तर, आगलागीको केही दिनमै विभागले सेवा प्रवाह रोकिन नदिई वैदेशिक रोजगार कार्यालय मार्फत अस्थायी रूपमा काम सञ्चालन गर्दै आएको छ ।
विभागका उपमहानिर्देशक तथा प्रवक्ता चन्द्रबहादुर सिवाकोटीका अनुसार अहिले विभागका विभिन्न शाखाका काम अस्थायी रूपमा छुट्टाछुट्टै कक्ष र हलमा बसेर भइरहेको छ ।
‘कार्यालय जलिसकेपछि अनुगमन, लेखा, योजना–प्रशासन, राहत–उद्धार, अन्तिम स्वीकृति लगायत शाखा स–साना कोठा र हलमा सरेका छन्,’ सिवाकोटीले भने ।
जलेका फाइलको सट्टा सेवाग्राही र म्यानपावर व्यवसायीबाट प्रतिलिपि कागजात मागेर सेवा निरन्तर भइरहेको उनको भनाइ छ ।
‘हामीले जलेका फाइलको स्थानमा सेवाग्राहीले ल्याएका प्रमाणका आधारमा फाइल पुनः तयार गरिरहेका छौं,’ उनले भने, ‘अनलाइन प्रणालीका कारण श्रम स्वीकृतिसँग सम्बन्धित सेवा भने रोकिएको छैन ।’
विभागको आन्तरिक लेखा परीक्षणको विषयमा भने केही समस्या देखिएको छ । विभागको आन्तरिक लेखा परीक्षण पहिला नै सम्पन्न भइसकेको थियो । तर, महालेखाले त्यही आधारमा विभागको लेखा परीक्षण गराउँछ वा के गर्छ भन्ने छलफलको विषय रहेको सिवाकोटीको भनाइ छ ।
राहत उद्धार शाखाका करिब ४ सय फाइलमध्ये अधिकांश सुरक्षित छन् । मुद्दा तथा कारबाहीसँग सम्बन्धित फाइल पनि सुरक्षित रहेको उनको भनाइ छ । मुद्दा शाखा विभाग परिसरभन्दा बाहिर रहेकाले त्यो जोगिएको थियो । त्यसमा समेत आगलागी भएको भए अहिले ३५ हजारभन्दा बढी उजुरी तथा मुद्दा जलेर सखाप हुन्थ्यो ।
विभागका अधिकांश सेवा अहिले ‘फेमिस प्रणाली’ मार्फत अनलाइन हुँदै आएको छ । ‘हाम्रो श्रम स्वीकृति प्रणाली अनलाइन भएकाले डेटा सुरक्षित छ, अनलाइन प्रणालीले धेरै सहयोग गरेको छ,’ सिवाकोटीले भने ।
आगजनीपछि सेवाग्राही र कर्मचारी दुवै पक्षमा असहजता देखिए पनि विभागले नियमित काम जारी राखेको छ । सेवाग्राहीको अपेक्षा बढ्दो छ, तर कानुन र प्रक्रिया अनुसार मात्रै काम गर्नुपर्ने भएकाले कतिपय अवस्थामा गलत बुझाइ पनि हुने गरेको छ ।
‘हामी कानुन अनुसार प्रक्रिया पूरा गर्न आग्रह गर्छौं, कतिपयले त्यसलाई ढिलाइ ठान्छन् तर पारदर्शिता कायम गर्न कानुनी प्रक्रिया पालना गर्नैपर्छ,’ उनले भने ।
विभागले अहिले पनि दैनिक श्रम स्वीकृति, संस्थागत फाइल स्वीकृति, गुनासो तथा राहत–उद्धारका काम नियमित सञ्चालन गरिरहेको छ ।
स्थान साँघुरो भए पनि काम नरोकिएको उनको भनाइ छ । आगजनी र क्षतिका कारण सेवा अवरुद्ध हुन नदिन सबै शाखा संयुक्त रूपमा जिम्मेवारीपूर्वक काम गरिरहेको उनले बताए ।
विभागमा १ हजार ७ सयभन्दा बढी दर्तावाल म्यानपावर कम्पनीका फाइल समेत जलेका छन् । उनीहरूले राखेको ५० हजार रुपैयाँ धरौटीको अभिलेख समेत जलेर नष्ट भएको छ भने म्यानपावर कम्पनी विरुद्धका उजुरी तथा मुद्दा विवरण समेत जलेर नष्ट भएको छ ।
विभागले धरौटीका हकमा व्यवसायी स्वयं र बैंक दुवैबाट ‘क्रस–भेरिफिकेसन’ गरेर सरकारी रकममा एक रुपैयाँ पनि फरक नपर्ने गरी अद्यावधिक गर्ने काम भइरहेको जनाएको छ ।
त्यस्तै कर्मचारीसँग सम्बन्धित सरुवा–बढुवाका फाइलहरू जलेर नष्ट भएका छन् । प्रशासनिक फाइलहरू पुनः संकलन गर्न कर्मचारीलाई नै आफ्ना कागजातको प्रतिलिपि ल्याउन भनिएको थियो ।
कसरी भयो आगलागी ?
२४ भदौ दिउँसो एक समूह विभाग परिसरभित्र प्रवेश गरेको थियो । अन्यत्र सरकारी कार्यालयमा आगजानी भइरहेको जानकारी पाएपछि विभागको सुरक्षार्थ खटिएका सुरक्षा गार्डहरूले मूलगेटमा ताला लगाइसकेका थिए । प्रदशर्नकारीहरू बाहिरैबाट गेट फुटाउने, ढुंगा हान्दै अघि बढे ।
घटनास्थलमा रहेका एक सुरक्षागार्डका अनुसार तोडफोड गर्दै आएका प्रदर्शनकारीले तोडफोडसँगै आगो लगाउँदै हिँडेका थिए ।
विभागमा आगो लगाएर उनीहरू वैदेशिक रोजगार कार्यालयमा समेत आगो लगाउन हिँडेका थिए । तर, सुरक्षा गार्डहरूले ‘माथि क्यान्टिन हो, त्यहाँ ग्यास सिलिन्डर मात्रै छ, पड्कियो भने तिमीहरू पनि मर्छौ,’ भनेर कन्भिन्स गरेपछि कार्यालयमा आगो लगाउन जानबाट पछि हटेका थिए ।
विभाग परिसरमा रहेका सरकारी तथा नीजि मोटरसाइकल समेत जलाइएको थियो । तर, विभागभन्दा बाहिर राखिएका कारण गाडी भने जल्नबाट बचेका थिए ।
विभागका सूचना अधिकारी टीकाराम ढकालका अनुसार आगजानीपछि सहज सेवा प्रवाह प्रयास भइरहेको छ ।
‘आवश्यकता अनुसारका कागजात मगाएर होस् वा सरकारी निकायमा भएका कागजातका आधारमा होस्, सेवा प्रवाह जति सकिन्छ सहज बनाउने प्रयास गरिरहेका छौं,’ ढकालले भने ।
प्रतिक्रिया 4