Comments Add Comment

कोरोना संक्रमित भेटिएपछि रुपन्देही र बाँकेका चार स्थानमा आउ-जाउ बन्द

२० वैशाख, बुटवल । कोरोना संक्रमित व्यक्ति भेटिएपछि रुपन्देहीको कोटहीमाई गाउँपालिकाको एउटा गाउँ र बाँकेको नेपालगन्जका तीनवटा क्षेत्रमा आउ-जाउ बन्द गरिएको छ । कोरोना संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले शुक्रबार साँझदेखि ती इलाकामा आउ-जाउ गर्न नदिएर निगरानी बढाएको हो ।

रुपन्देही प्रशासनले कोरोना संक्रमित २५ वर्षीय युवकको गाउँ कोटहिमाई वडा नंं. १ को पुर्निहवामा आउ-जाउ गर्न बन्द गराइएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले बताए ।

बाँके प्रशासनले डिएसपी रोड, धम्बोजी, एक्लैनी र महेन्द्रपार्क आसपासको मस्जिद क्षेत्र सिल गरेको छ

संक्रमितलाई लिन भारतीय सीमा क्षेत्रमा लिन गएका उनका दाजुलाई शुक्रबारै क्वारेन्टाइनमा पठाइएको र परिवारका अरु ६ जनालाई पनि शनिबार क्वारेन्टाइनमा पठाइएको छ । उनीहरु सबैको स्वास्थ्य परीक्षण हुने एसपी थापाले बताए । संक्रमित युवक दिल्लीबाट ट्रक चढेर र पैदल हिँडेर रुपन्देहीको मर्चवारस्थित ठोठरी नाका हुँदै घरसम्म आइपुगेका हुन् ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नंं. ८ स्थित २ वटा मस्जिद क्षेत्रलाई सिलबन्दी गरिएको छ । नेपालगन्जको वडा नंं. ८ स्थित अन्सारी मस्जिद र वडा नं. १ धम्बोजीमा रहेको मस्जिद एरिया सिल गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

यो पनि पढ्नुहोस रुपन्देही र बाँकेमा पनि भेटिए कोरोना संक्रमित

संक्रमित ६० वर्षीय पुरुष वडा नंं. ८ को डिएसपी रोड महेन्द्र पार्क क्षेत्रमा बस्दै आएका थिए । उनी हरेक दिन अन्सारी मस्जिदमा आउने-जाने गर्दथे । उनी आउ-जाउ गर्ने क्रममा थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने अनुमानमा सो क्षेत्र सिल गरिएको प्रहरीले जनाएको छ ।

नेपालगञ्ज धम्बोजीका अर्का एक युवकमा पनि कोरोना संक्रमणको आशंका गरिएपछि चार स्थानमा सिलबन्दी गरिएको छ । बाँके प्रशासनले डिएसपी रोड, धम्बोजी, एक्लैनी र महेन्द्रपार्क आसपासको मस्जिद क्षेत्र सिल गरेको छ ।

बाँकेको डडुवा गाउँपालिकाका ती युवक केही वर्षदेखि धम्बोजीस्थित मस्जिदमा बस्दै आएका थिए । संक्रमित ६० वर्षीय वृद्धसहित उनलाई पनि खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा रहेको आइसोलसनमा राखिएको छ । ६० वर्षीय पुरुष भारतको बहराइचबाट एक महिनाअघि नेपालगन्ज आएका थिए ।

युवकको बिहीबार स्वाब संकलन गरी जाँच गरिए पनि रिपोर्ट आउन बाँकी रहेको प्रदेश ५ जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment