
१८ वैशाख, विराटनगर । ज्वरो देखिएको भन्दै विराटनगरका एकसेएक निजी अस्पतालले भर्ना लिन नमानेर फनफनी घुमाएका एक विरामीको धरानमा उपचारका क्रममा निधन भएको छ ।
देवानगञ्ज-१, सुनसरीका ३५ वर्षीय रवीन्द्र यादवको मृगौला र लिभरमा समस्या देखिएपछि कोशी अस्पतालले भेन्टिलेटर भएको अस्पतालमा लैजान रिफर गरेको थियो ।
विरामीका परिवारले बुधबार राति र बिहीबार विहानभर विराटनगरका एकपछि अर्को निजी अस्पतालमा पुर्याएका थिए । तर ज्वरो आएको भन्दै गेटबाट प्रवेश नै दिएनन् । बिहीबार मध्याहृन धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएका उनले केही घण्टामै निधन भएको छ । राति करिब ७ बजेतिर उनको निधन भएको बुवा जोगिलाल यादवले जानकारी दिए ।
हार्बिसाइड (खेतमा प्रयोग हुने किटनाशक औषधि) सेवन गरेका रवीन्द्र यादवलाई परिवारका सदस्यहरुले आइतबार नै कोशी अस्पतालमा भर्ना गरेका थिए । तर उनको स्वास्थ्यमा सुधार भएन ।
मृगौला र कलेजोमा समस्या देखिएपछि भेन्टिलेटरमा राख्नुपर्ने भयो । तर कोशी अस्पतालमा भेन्टिलेटर छैन । त्यसैले अस्पतालले बुधबार साँझ भेन्टिलेटर भएको अर्को अस्पतालमा लैजान रिफर गर्यो ।
आफन्तले एम्बुलेन्समा राखेर बिराटनगरकै नोबेल मेडिकल कलेज लगे । तर, ज्वरो देखिएको भन्दै बिरामीलाई गेटबाटै फर्काइदियो । त्यसपछि उनीहरू लाइफगार्ड अस्पताल पुगे । त्यहाँबाट पनि उपचार नगरी उनीहरूलाई फर्काइयो । एकातिर रवीन्द्रको अवस्था नाजुक बन्दै थियो भने अर्कोतिर कुनैपनि अस्पतालले उनीहरूको भर्ना लिन मानेको थिएन । त्यसैले भाइ रामलालले मध्यरातमा बिरामी दाइ रवीन्द्रलाई घरमै फिर्ता लगे ।
पछि पैसा जोहो गरेर बिहानै घरबाट रामलालले नै दाइलाई लिएर हिँडे । बिरामीको ज्वरो भने घटेको थिएन । उनले नोबेल अस्पतालमा फोन गरे । तर, अस्पतालले कोभिड अस्पताल लैजान सुझाव दियो । रामलाल बिरामी दाइलाई लिएर न्यूरो अस्पताल पुगे । त्यसपछि रवीन्द्रलाई गि्रनक्रस अस्पताल लगियो, त्यहाँबाट गोल्डेन अस्पताल ल्याइयो । तर, सबैले ज्वरो नापे र गेटबाटै फर्काए ।
अन्यत्र लैजाने अवस्था थिएन । त्यसैले रामलालले रवीन्द्रलाई लिएर ९ बजे कोशी अस्पतालमा पुगे ।
उनको अवस्था झन् बिगि्रसकेको थियो । मुखबाट रगत आउन थालेको थियो । सास फेर्न गाह्रो भएको थियो । त्यसैले तत्काल भेन्टिलेटर भएको स्थानमा लगेर डाइलसिस गर्न सुझाएको कोशी अस्पतालका चिकित्सक लक्ष्मीनारायण यादवले बताए । तर विराटनगरको कुनै अस्पतालले उनलाई भर्ना लिन मानेन । त्यसैले दिउँसो १२ बजेतिर एम्बुलेन्स खोजेर परिवारले धरान लगेको थियो ।
प्रतिक्रिया 4