Comments Add Comment

प्रधानमन्त्रीको धम्की : सञ्चार माध्यमले देशलाई अस्थिरतातर्फ धकेले

१९ वैशाख, काठमाडौं । सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेका बेला नेपालका केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लगाएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा जारी गरेको भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन भन्दै धम्कीपूर्ण भाषासमेत प्रयोग गरेका छन् ।

‘आज नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरुको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ,’ मे दिवसको अवसरमा जारी शसभकामना सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ । अर्कातिर यही अफ्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थिरताका त्यस्ता प्रयासहरु गरिनु दुःख कुरा हो ।’

मे दिवससम्बन्धी सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आफ्ना स-साना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन । त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु ।’

‘सरकार र नेकपा कार्यकर्तालाई सैह्य नहुने’ धम्कीपूर्ण भाषा देशको कार्यकारी प्रमुखबाट प्रयोग भएको छ

पछिल्लो समयमा देश कोरोना महामारीविरुद्ध लडिरहेका बेला सरकारले स-साना स्वार्थका लागि राजनीतिक पार्टी फुटाउने अध्यादेश ल्याएपछि मुलुकमा राजनीतिक अस्थिरता सुरु भएको हो । कोरोना महामारीका बेला त्यस्तो बेमौसमी अध्यादेश सञ्चारमाध्यम वा सामाजिक सञ्जालले ल्याएको नभई प्रधानमन्त्री आफैंले ल्याएका हुन्, जसलाई सरकारले तत्कालै फिर्ता लियो ।

अध्यादेश फिर्ता लिइसकेपछि पनि कोरोना महामारीविरुद्ध केन्द्रित हुनुपर्नेमा सरकार र सत्तारुढ नेकपाका नेताहरु अहिले पनि देशलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने खेलमा लागिरहेका छन् ।जनतालाई लकडाउनलाई पालना गरेर बसिरहेका बेला सांसद सुरेन्द्र यादवलाई बेमौसममा रातारात काठमाडौं ओसार-पसार गर्ने काम प्रधानमन्त्रीकै निर्देशनमा नेकपा सांसहरुबाटै भएको हो ।

जनताले बहुमत दिएर सरकारमा पठाएका प्रधानमन्त्री स्वयं चुनाव हारेका व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पार्टीमा ल्याउँदैछन् । आम नेपाली जनता लकडाउन र आर्थिक संकटले इन्तु न चिन्तु बनेका बेला नेकपा सरकार आन्तरिक किचलोमा लागेर तामासा देखाउँदै बसिरहेको छ ।

तर, श्रमिक दिवसको बिहानीमा प्रधानमन्त्रीले दिएको सन्देशमा चाहिँ सञ्चारमाध्यम र सामाजिक सञ्जालले देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको लाञ्छना लगाउँदैछन् । अझ त्यो भन्दा अगाडि बढेर ‘सरकार र नेकपा कार्यकर्तालाई सैह्य नहुने’ धम्कीपूर्ण भाषा देशको कार्यकारी प्रमुखबाट प्रयोग भएको छ ।

प्रधानमन्त्रीबाटै यस्तो धम्कीको भाषा प्रयोग हुनु आश्चर्यजनक मात्र छैन, सञ्चारमाध्यम र अभिव्यक्तिको स्वतन्त्रतामाथि नै यसले प्रश्नचिन्ह खडा गरिदिएको छ ।

आखिर, ‘सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेका बेला’ नेपालमा राजनीतिक अस्थिरता कसले निम्त्याउँदैछ ? सरकार र सत्तारुढ नेकपाका नेताहरुले कि सञ्चार माध्यमले ? प्रधानमन्त्रीको सम्वोधनपछि यो बहसको विषय बन्न पुगेको छ ।

यो पनि पढ्नुहोस अप्ठ्यारो परिस्थितिमा अस्थिरताको प्रयास भयो : प्रधानमन्त्री ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment