News Summary
Generated by OK AI. Editorially reviewed.- एमाले केन्द्रीय सदस्य विष्णु रिजालले नेपाली सेनाप्रति पार्टीको दृष्टिकोण स्पष्ट गर्न र जेनजी आन्दोलनताका सेनाको भूमिकाबारे उठेका प्रश्नको जवाफ दिन आग्रह गरेका छन्।
- उनले अध्यक्ष केपी शर्मा ओलीको जीवनरक्षासम्बन्धी भनाइ र राधिका शाक्यको धारणा उद्धृत गर्दै भदौ २३–२४ को घटनाबारे पनि पार्टीभित्र स्पष्टता आवश्यक रहेको बताए।
- रिजालले वामपन्थी दलसँग एकता, नयाँ पुस्ताको सहभागिता र पार्टीका नीतिमाथि पुनःविचार गर्नुपर्ने प्रस्तावसमेत केन्द्रीय समिति बैठकमा राखे।
७ असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले नेपाली सेनाप्रति पार्टीको दृष्टिकोण माग गरेका छन् ।
ललितपुरमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा बुधबार आफ्ना धारणा राख्ने क्रममा उनले अघिल्लो वर्ष भदौमा भएको जेनजी आन्दोलनमा नेपाली सेनाको भूमिकाबारे कैयौं अनुत्तरित प्रश्न गरेको जिकिर गरे । साथै, उनले एमालेको मुख्य निशाना नेपाली सेना नै रहेको जस्तोगरी संसद्मा बारम्बार प्रस्तुती भइरहेकोप्रति उनले आपत्ति जनाए ।
‘सेनाले हाम्रो नेतृत्वको सुरक्षा र सहजीकरण गरेको छ । नेकपा एमालेको आजको मुख्य निशाना नेपाली सेना नै हो जस्तो गरेर संसद्मा बारम्बार प्रस्तुत हुनुले नेकपा एमालेकै दृष्टिकोण त्यही हो कि भन्ने भ्रम उत्पन्न भएको छ र राज्यको स्थायी संरचनासँग हाम्रो टकराव बढाएको छ । यसका बारेमा पार्टीले स्पष्ट पार्नुपर्छ,’ रिजालले भने ।
अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलन हुँदैगर्दा ‘पाँच मिनेट ढिलो भएको भएर लागू पदार्थ खुवाएर ल्याएकाहरुले मलाई बालुवाटारमै मार्ने थिए’ भनिएको अभिव्यक्तिबारे पनि रिजालले बैठकमा चासो राखेका छन् ।
‘नेपाली सेनाप्रति नेकपा (एमाले) को दृष्टिकोण के हो ? अध्यक्ष कमरेड स्वयम्ले भन्नुभएको छ– ‘पाँच मिनेट ढिलो भएको भए लागू पदार्थ खुवाएर ल्याएकाहरुले मलाई बालुवाटारमै मार्ने थिए ।’ राधिका शाक्य म्याडमको पनि अस्ति त्यस्तै धारणा सार्वजनिक भएको छ । भदौ २३–२४ मा सेनाको भूमिकाबारे कैयौँ अनुत्तरित प्रश्न छन्,’ रिजालले भनेका छन् ।
‘पार्टीमा भएका सबै बादल बिलाए’
साथै, उनले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा आफ्ना कमजोरीहरू केलाइएको भन्दै त्यसको समर्थन पनि गरे ।
अझै उक्त प्रतिवेदनमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले गरेको व्याख्यापछि सबै खालका बादल हटेर गएको उनको भनँइ छ ।
‘अध्यक्ष कमरेडको प्रतिवेदनले आफ्ना कमजोरी केलाएको छ । अध्यक्ष स्वयम्ले निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिएर अब के गरेर जार्नुपर्छ भन्ने मार्गचित्र प्रस्तुत गर्नुभएको छ,’ रिजालले भनेका छन्, ‘यसमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल गरेको व्याख्याबाट पार्टीका मुख्य नेताहरुका बीचमा खडा भएको अविश्वासको कालो–सेतो सबै खालको बादल बिलाएर गएको छ । म समर्थन गर्दछु ।
केन्द्रीय कमिटीका सदस्यहरुलाई आफ्नो पालिका जिताउनका लागि उत्तरदायी बनाउन उनीहरुलाई उम्मेदवार छनोट प्रक्रियादेखि नै सामेल गराउने संस्थागत व्यवस्था गर्ने प्रस्ताव पनि उनले राखेका छन् ।
‘वामपन्थी एकताको निर्णय लिनुपर्छ’
फरक प्रसंगमा उनले पार्टीले वामपन्थी एकताको निर्णय लिनुपर्ने बताए । ‘हाम्रो नीति र नेतृत्वमा नेकपालगायत अरु वामपन्थी दलसँग एकता गर्दा कम्युनिस्ट आन्दोलनलाई पुन:स्थापित गर्न सहज हुन्छ । साथै, समग्र कम्युनिस्ट आन्दोलनको पुन:गठनका लागि गम्भीरतापूर्वक बहस हुनुपर्छ,’ रिजालले भनेका छन् ।
पार्टीले फिजिकल र डिजिटल दुबै मोर्चामा उत्तिकै ध्यान दिन आवश्यक रहेको पनि उनले बैठकमा धारणा राख्ने क्रममा बताएका छन् । पार्टीमा नयाँ पुस्तालाई कसरी भित्र्याउने ? भन्ने विषय आजको मुख्य चुनौती रहेको उनले बताए ।
‘विभिन्न कमिटीमा युवालाई स्थान दिने नीति छ तर पर्याप्त छैन । पार्टीसँग असम्बद्ध योग्य, व्यवसायी र आफ्नो क्षेत्रमा राम्रो काम गरिरहेका युवाहरुसम्म कसरी पुग्ने ? उनीहरुलाई खोजेर पार्टीमा सामेल गराउनका लागि पार्टीका विभागहरुलाई परम्परागत नबनाएर कम्तीमा ५० प्रतिशत एक्सपर्ट युवाहरुलाई समेट्ने नीति बनाऔँ,’ रिजालले भनेका छन् ।
पार्टीका समग्र नीतिहरुमाथि पुन:विचार आवश्यक रहेको उनले बताए ।
‘०५१ सालमै निर्णायक राष्ट्रिय शक्ति बनेर सरकारको नेतृत्व गरिसकेको पार्टीलाई ‘निर्णायक राष्ट्रिय शक्ति‘ बनाउने भन्दै ‘क्वाइन‘ गरिएको नारा सोच–विचारको परिणाम थियो ? अनि ‘अब नेपालमा एमाले र कांग्रेस दुईवटा मात्र पार्टी रहन्छन्’ भनेर पढाइएको नीति जनताको बहुदलीय जनवादले नि:सृत गरेको मान्यता अनुकूल थियो ? ‘छैन कसैसँग शत्रुता, छ सबैसँग मित्रता‘ भन्ने नारा अहिलेको विश्लेषण मिल्छ ?,’ उनको प्रश्न छ ।
प्रतिक्रिया 4