News Summary
Generated by OK AI. Editorially reviewed.- लेखमा अब कम्युनिस्ट नेताका कथा सुनाएर युवालाई आकर्षित गर्न नसकिने र सुशासन, फास्ट डेलिभरी, भ्रष्टाचारमुक्त सामाजिक न्याय तथा विकासको कार्ययोजना चाहिने भनिएको छ।
- एमालेमा केपी शर्मा ओलीलाई विस्थापित गर्ने होडबाजी चलिरहेको र जेन–जी आन्दोलन तथा निर्वाचन समीक्षा कार्यदलको छलफल नेतृत्व परिवर्तनमै केन्द्रित रहेको लेखमा उल्लेख छ।
- लेखले रसुवा बाढी प्रभावितको राहत–उद्धार–पुनर्स्थापना, ग्यास अभाव अन्त्य, सुत्केरी र उपचार अभावको समस्या समाधान तथा २०८४ निर्वाचनका लागि राम्रा नेता छान्ने योजना बनाउन आग्रह गरेको छ।
४० को दशकतिर म कम्युनिस्ट पार्टीप्रति आकर्षित भएको हुँ। जतिबेला म कक्षा ८ मा अध्ययन गर्दै थिएँ, त्यो आकर्षण कसैको दबाब वा प्रभावमा भएको होइन। ‘विश्व कम्युनिस्ट इतिहासका रौं ठाडा पार्ने सङ्घर्षशील कथा–कहानी’ ले मलाई कम्युनिस्ट बन्न प्रेरित गर्यो।
सोभियत सङ्घ निर्माणको सङ्घर्षशील कथामा आधारित ‘अग्निदीक्षा’ उपन्यास र त्यसका मुख्य पात्र पाभेलको भूमिकाले मलाई कम्युनिस्ट बनाएको हो। यो २०४२ सालतिरको कुरा हुनुपर्छ।
विश्वमा कम्युनिस्ट विचारलाई अघि बढाउन कार्ल मार्क्स (जर्मन), फ्रेडरिक एङ्गेल्स (जर्मन), भ्लादिमिर लेनिन (रुस), जोसेफ स्टालिन (सोभियत सङ्घ), माओ त्से तुङ (चीन), हो ची मिन्ह (भियतनाम), फिडेल क्यास्ट्रो (क्युबा), चे ग्वेभारा (अर्जेन्टिना–क्युबा), रोजा लक्जेम्बर्ग (जर्मनी–पोल्यान्ड), लियोन ट्रोट्स्की (रुस), निकिता ख्रुश्चेभ (सोभियत सङ्घ), जोसिप ब्रोज टिटो (युगोस्लाभिया), किम इल–सुङ (उत्तर कोरिया), एनभर होक्सा (अल्बानिया), देङ स्याओपिङ (चीन), चारु मजुमदार (भारत), पुष्पलाल श्रेष्ठ (नेपाल), मनमोहन अधिकारी (नेपाल), मदन भण्डारी (नेपाल) लगायतले खेलेका भूमिका, गरेका सङ्घर्ष र त्यागको कथा पढेर धेरै मानिस ‘कम्युनिस्ट’ बनेका उदाहरण छन्।
त्यो समय निरङ्कुशताको थियो। प्रजातन्त्र, समानता, समावेशिताको लागि सङ्घर्ष गर्नुपर्ने समय थियो। र, विश्वभरि नै कम्युनिस्ट नेता–कार्यकर्ताले समानता र समावेशिताको लागि कठिन सङ्घर्ष गरिरहेका थिए।
विशेषगरी सोभियत सङ्घ निर्माणको सङ्घर्ष, चीनमा माओ त्से तुङको नेतृत्वमा भएको सङ्घर्ष, चे ग्वेभाराले क्युबा र अर्जेन्टिनामा गरेको सङ्घर्ष, चारु मजुमदारले भारतमा गरेको सङ्घर्षका कथाले नेपाली युवाहरूलाई कम्युनिस्ट राजनीतिमा लाग्न प्रेरित गरिरहेको थियो।
किनभने नेपालमा राणा र पञ्चायती शासनले नागरिकका सबैखाले अधिकार खोसेको थियो। न प्रजातन्त्र, न समानता, न समावेशिता। नेपालमा निरङ्कुश शासनसत्ताले नागरिकलाई दमन मात्र गरिरहेको थियो ।
नेपालमा मडारिँदै रहेको निरङ्कुशताको भुमरीमा युवाहरू सङ्कुचन महसुस गरिरहेका थिए। उनीहरू ‘यो भुमरीबाट निस्कन’ चाहन्थे। र, त्यसको लागि विश्व कम्युनिस्ट राजनीतिमा भएका सङ्घर्षको कथा र ती कथाका सङ्घर्षशील पात्रहरू नेपाली युवाको प्रेरणा बन्न सकेका थिए, आदर्श बन्न सकेका थिए।
तर, अब कम्युनिस्ट नीति, नेता र नेतृत्वको सङ्घर्षका कथा पढाएर युवाहरूलाई आकर्षित गर्न सकिँदैन। किनभने समय फेरिएको छ।
अब प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्रको लागि कुनै आन्दोलनको आवश्यकता छैन। अबको आवश्यकता भनेको ‘विधिको शासन– सुशासन, फास्ट डेलिभरी (छिटो सेवा प्रवाह), भ्रष्टाचारमुक्त सामाजिक न्याय र चुस्त–दुरुस्त विकासे मोडल’ हो।
मैले अहिले अन्य राजनीतिक विचारको बारेमा ‘गन्थन–मन्थन’ गरिरहेको छैन। नेपालको कम्युनिस्ट राजनीतिको बारेमा थोरै चर्चा गर्न खोजिरहेको छु।
किनभने नेपालका कम्युनिस्ट पार्टी र त्यसका नेताहरूले ‘समयको गतिलाई’ पछ्याउन सकिरहेका छैनन्। उनीहरू अहिले पनि मार्क्स, लेनिन, माओ त्से तुङ, पुष्पलाल, मदन भण्डारीहरूकै कथा–कहानीको चौघेरामा कार्यकर्तालाई ‘दिग्भ्रमित गर्ने असफल प्रयासमै’ लिप्त देखिएका छन्।
उमेर, विचार, पार्टीमा भएको लगानी, राष्ट्रियताजस्ता प्राविधिक शब्दको व्याख्यामा आफ्ना अमूल्य समयलाई ‘विसर्जन गर्ने कुरामा नै’ नेपालका कम्युनिस्ट पार्टीहरू अग्रसर देखिएका छन्।
कम्युनिस्ट : विचार, व्यक्ति, भावना कि कार्य ?
कम्युनिस्ट विचार, व्यक्ति, भावना वा कार्य के हो ? अहिले बहस गर्न जरुरी भएको छ। कतै कम्युनिस्टलाई ‘विचारसँग मात्र’ तुलना गरिन्छ। जुन विचार (सिद्धान्त) मार्क्स र एङ्गेल्सले साझा–सामूहिक भावनाको प्रतीकस्वरूप सन् १८४८ मा ‘कम्युनिस्ट घोषणापत्र’ मार्फत सार्वजनिक गरेका थिए।
कतै कम्युनिस्टलाई ‘व्यक्तिसँग’ तुलना गरिन्छ। नेपालका कम्युनिस्ट पार्टीहरूमा अहिले यसैको बहस भइरहेको छ— केपी ओली, पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, मोहनविक्रम सिंह, चित्रबहादुर केसी, नारायणमान बिजुक्छे आदि को हुन् कम्युनिस्ट अरे !
कतै कम्युनिस्टलाई ‘भावनासँग’ तुलना गरिन्छ। म यति सालदेखि एमाले, माओवादी, जनमोर्चा, नेमकिपा आदिआदि; त्यसैले कम्युनिस्ट !
कम्युनिस्ट, विचार वा भावनाभन्दा पनि राजनीतिक–सामाजिक अभियानलाई मानव कल्याणको लागि उपयोग गर्ने कार्य (काम) हो भन्ने कुरा यी नेता–अभिनेताहरूलाई कसले सम्झाइदिने होला ? ती कार्यहरूमा सुशासन, फास्ट डेलिभरी, विकास, समृद्धि, भ्रष्टाचार–नातावाद–कृपावाद मुक्त समाज निर्माण पर्छन् भनेर कसले पढाइदिने होला ?
अब कम्युनिस्ट नेताहरूको किस्सा–कहानी रटाएर न कार्यकर्ता थपिन्छन्, न परिवर्तन हुन्छ। अब कार्ययोजना र कार्यप्रगति चाहिन्छ।
एमाले के गर्दै छ ?
एमाले नेतृत्वको सरकारलाई ‘जेन–जी आन्दोलन’ को राप–तापले विस्थापित गरिदिएपछि अहिले एमालेभित्र ‘अध्यक्ष केपी शर्मा ओलीलाई खुइल्याएर आफूहरू पानीमाथिको ओभानो बन्ने’ होडबाजी चलिरहेको छ। ‘जेन–जी आन्दोलन र निर्वाचनको समीक्षा गर्न’ बनेको रामबहादुर थापा नेतृत्वको कार्यदलमा चलिरहेको छलफल र त्यो कार्यदलले तयार गरेको प्रतिवेदनको विषय अहिले चर्चामा छ।
तर दुःखको कुरा, कार्यदलको छलफल र प्रतिवेदनको सार सुशासन, फास्ट डेलिभरी, विकास र समृद्धि केन्द्रित छैनन्। त्यो त नेतृत्वमा कसलाई विस्थापित गर्ने र कसलाई स्थापित गर्ने ? भन्ने कुरामै केन्द्रित देखिन्छ।
के यस्तो छलफलले मुलुकको विकास र समृद्धि सम्भव छ ? यो छलफलले नेकपा एमालेलाई राजनीतिमा पुनः स्थापित गर्न सहयोग पुग्छ ? यसले नेकपा एमालेप्रतिको युवा आकर्षणलाई’ जोगाउने काम गर्छ ? मलाई लाग्दैन— अहिलेको छलफलले न मुलुकमा राजनीतिक निकास दिने काम गर्छ, न पार्टीलाई पुनः राजनीतिक रूपमा मजबुत ढङ्गले स्थापित गर्ने काम गर्छ।
अहिलेको आवश्यकता विचार होइन, विवेक हो। पुस्तान्तरण होइन, रूपान्तरणको प्रतिबद्धता हो। अब न विगतका कम्युनिस्ट विचारले युवालाई आकर्षित वा निर्देशित गर्न सक्छन्, न पुस्तान्तरणले समाधान दिन सक्छ। मार्क्सवाद, लेनिनवाद, माओवाद, समाजवाद वा जनताको बहुदलीय जनवाद पढाएर अबको राजनीतिक निकास निस्कँदैन। घण्टौं कोठामा थुनेर यी वादहरू घोकाएर पनि राजनीतिक निकास निस्कँदैन।
अब त योजना बनाउनुपर्छ, त्यसको कार्यान्वयनको मार्ग खोज्नुपर्छ र त्यो मार्गमा प्रतिबद्ध भएर अघि बढ्नुपर्छ; अर्थात् काम गर्नुपर्छ। नेताका किस्सा–कहानी सुनाएर जनतालाई मूर्ख बनाउने समय सकियो अब।
जेन–जी विद्रोहसम्म देशलाई धकेल्ने कुरामा अन्य राजनीतिक दलसँगै नेकपा एमालेको राजनीतिक भूमिका पनि कारक छ। नेकपा एमालेको नेतृत्व गर्ने अध्यक्ष केपी शर्मा ओलीसँगै सबै पदासीन नेताहरूको त्यसमा हिस्सा छ। तर, यसको दोष अध्यक्ष केपी शर्मा ओलीलाई मात्र दिने नेता–कार्यकर्ताको रवैया नितान्त अवसरवादी देखिन्छ।
राजनीतिक–सामाजिक अभियानलाई मानव कल्याणको लागि उपयोग गर्ने कार्य (काम) भएन भने ओली हटाएर पनि केही परिवर्तन हुनेवाला छैन। समयक्रममा नेतृत्वमा रहेका केपी शर्मा ओलीलगायत सबैले ‘बिदा लिँदै’ जाने हो।
ग्यासको अभाव अन्त्य गर्ने विषयमा छलफल गर्नुस्। रसुवा बाढी प्रभावितको राहत–उद्धार–पुनर्स्थापनाका योजना’ बनाउनुस् र त्यसमा छलफल गर्नुस्। ‘आर्थिक अभावमा बाटोमै सुत्केरी हुनुपर्ने–उपचार नपाएर छटपटाउनुपर्ने अवस्थाको अन्त्य कसरी हुन सक्छ ? भनेर छलफल गर्नुस्। २०८४ को निर्वाचनमा हाम्रा होइन, राम्रालाई नेतृत्व दिने कार्ययोजना ल्याउनुस् र छलफल चलाउनुस्। विगतमा एमाले नेतृत्वमा भएका काम, कमजोरी र आगामी कार्यभारको विषयमा छलफल–बहस गर्नुस्।
अहिले युवा पुस्ताले सुशासन चाहेका छन्। विधि र प्रविधिअनुसारको काम चाहेका छन्। कतै–कुनै काममा भ्रष्टाचार नहोस्, ढिलासुस्ती नहोस्, नातावाद–कृपावादका दुष्ट छायाको अन्त्य होस्। शिक्षा, स्वास्थ्य, सडक, बिजुली, नेट–इन्टरनेट, खानेपानीजस्ता अत्यावश्यक कुराहरू नागरिकले सहज र सुलभ ढङ्गले प्राप्त गर्न सकून्। यो हो जेन–जी पुस्ताको माग र आवश्यकता।
के नेकपा एमालेभित्र केपी शर्मा ओलीलाई विस्थापित गरेर अरू कुनै नेतालाई नेतृत्वमा ल्याउनासाथ यी आवश्यकता पूरा हुन्छन् ? एमालेको नेतृत्व लिन चाहेका नेताहरूले यी आवश्यकताको विषयमा कहीँकतै योजना–कार्ययोजना सार्वजनिक गरेका छन् ? जेन–जी आन्दोलनको गहन अध्ययन मार्फत त्यसको कारण र आगामी दिनमा यस्ता अवस्थाको अन्त्यको लागि गर्नुपर्ने कामको विषयमा छलफल, बहस र योजना अघि सारेका छन् ?
मेरो सम्झनामा यी कामहरू भएका छन् भन्ने लाग्दैन। न यी विषयमा बहस–छलफल–योजना बनाउने ल्याकत भएका नेताहरू नै देखिएका छन्।
विगतमा केपी शर्मा ओलीलाई थोरै दम्भी र हठी बनाउने नेताहरू नै अहिले पार्टीको नेतृत्व र कार्यदलमा समेत छन्। केपी शर्मा ओलीले गलत गरिरहेका छन् भन्ने लागेको थियो भने ‘जेन–जी आन्दोलनपछि’ भएको पार्टीको महाधिवेशनमा किन उनैलाई अत्यधिक मतसहित अध्यक्षमा निर्वाचित गरेको ?
ढुङ्गालाई अबिर लगाएर देवताको मान्यता दिएपछि विधिसम्मत मन्दिरमा लगेर प्रतिस्थापन गर्न पनि जान्नुपर्छ। अबिर लगाएर देउता मानेपछि मागेको कुरा पूरा भएन भनेर धक्कामूक्का गर्नु सांस्कृतिक दरिद्रता हुन्छ।
ओली वा अरू कोही हट्नुहुँदैन, आउनै हुँदैन भन्ने धारणा कसैको छैन। तर सबै कुराको छिनोफानो विधिसम्मत ढङ्गले हुनुपर्छ। ढुङ्गालाई देउता मानेपछि मन्दिरमा लगेर विधिसम्मत प्रतिस्थापन गर्नैपर्छ। त्यसैले अहिले नेताको होइन, कार्यनीतिको बारेमा बहस गरौं। विकास र समृद्धिको योजना बनाऔं। त्यो योजना कार्यान्वयनको खाका तयार गरौं। त्यसलाई जनताबाट अनुमोदन गराऔं। र, त्यसको कार्यान्वयनको लागि नेता–कार्यकर्ता–जनता सबै परिचालित हुने वातावरण बनाऔं।
प्रतिक्रिया 4