
ए कम्युनिस्टहरू, अब तिमी सुध्र !
पैतालाको धुलो पुछ्दै भुइँमान्छेका दैलोमा पुग
अन्यायका पहाड र शोषणका लप्का बाँकी नै छन्,
समानता, न्याय र समृद्धिका लागि जुट ।
तिमी थियौ– रातोतातो अग्निसमान
जसको हुंकारले ल्यायो नयाँ बिहान
जसको त्याग र बलिदानीबाटै
कुदिए संविधानका धाराहरू
गणतन्त्र, स्वतन्त्रता र जनाधिकार
तर हेर, कहाँ पुरियो तिम्रो गौरव ?
बाली एउटाले लायो, फसल काट्न अर्कै आयो !
ए युवा समाजवादीहरू,
इतिहासको रगत र बलिदानको किस्ता नभुल
‘अल्गोरिदम’, ‘एआई’ र ‘भूमण्डलीकरण’को भुमरीमा
तिमी पछि पर्यौ होला तर विचार मरेको छैन
समयको पदचाप पछ्याउँदै जाग,
सम्हाल नेतृत्वको बागडोर ।
ए सच्चा क्रान्तिकारीहरू, अब नथाक
‘पपुलिज्म’को सस्तो बजारमा सिद्धान्त नबेच
बुर्जुवाको चमकधमकले छोपिन नदेऊ चेतना
विज्ञानको गतिमा समाजशास्त्रको नयाँ भाष्य लेख
रुग्णताका साङ्ला तोड र गतिशीलताको ‘लिड’ गर ।
ए प्रगतिशील चेतनाहरू,
तिमी पराजित भएका हैनौ तर भ्रमित भएका हौ
अब मार्क्सवादको ‘क्लासिकल’ रटानबाट माथि उठ
पुनर्व्याख्या गर्दै पुँजी र प्रविधिको संगम
अर्थतन्त्रको नयाँ धुकधुकी र समाजको बदलिँदो नाडी छाम
यथास्थितिको पोखरी भत्काएर समयको नदीमा पौडिऊ ।
ए क्रान्तिका मसालहरू,
अब निभ्ने छुट छैन
इगो, तुष्टि, आडम्बर, मैमत्ता र कुण्ठा मिल्काएर
एकता, संघर्ष र रुपान्तरणको नयाँ ज्योति बाल
शिरमा सगरमाथा र मुटुमा सार्वभौमसत्ता बोकेर
स्वाधिन देशको नवनिर्माणका खातिर
आधुनिक वैरीहरूका विरुद्ध जाग, उठ, हिँड !
जब तिमी आफैँ टुट्छौ, टुक्रिन्छ तिम्रो गौरव
अनि डगमगाउँछ जनमत, ढल्छ अहंकारको महल
ए छरिएका राता थोपाहरू,
अब त एकाकार होऊ
वर्गहरू फेरिएका छन्, तिमी संघर्षको स्वरुप फेर,
‘रगतको नदी’ होइन, ‘विकास र सृजना’को मूल बन ।
ए वामपन्थीहरू, अब सुध्र र संकल्प गर !
निभ्न लागेको क्रान्तिको दियोमा विश्वासको तेल भर
तिमी अहिले उभिएका छौ इतिहासको कठघरामा
साम्राज्यवादी फासिष्टहरु प्रभुत्व जमाउँदैछन्,
अग्निपरीक्षा देऊ र जनतासँग माफी माग
समाजवादको बिहानी ल्याउन एकजुट भई लाग ।
०००
प्रतिक्रिया 4