News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट आन्दोलनले २००६ सालदेखि सामाजिक रूपान्तरणमा भूमिका खेलेको छ र पुष्पलाल श्रेष्ठले यसको बीउ रोपेका थिए।
- वर्तमानमा कम्युनिस्ट नेताहरूमा अहङ्कार र सत्ता-लिप्सा बढ्दा आन्दोलन वैचारिक र सङ्गठनात्मक रूपमा कमजोर भएको छ।
- घनश्याम भूसालले वामपन्थीहरूको गिरावट र नेतृत्वको चाउचेस्कु–पथ झुकावले पार्टीमा वैचारिक खडेरी आएको बताएका छन्।
नेपालको राजनीतिक इतिहासमा ‘क्रान्ति’ केवल एउटा शब्द होइन, एउटा जीवित अनुभव हो– त्याग, बलिदान र परिवर्तनको आकांक्षाले बनेको इतिहासको । यही इतिहासको केन्द्रमा उभिएका थिए नेपाली कम्युनिस्टहरू । २००६ सालमा पुष्पलाल श्रेष्ठले रोपेको विचारको बीउ समयसँगै आन्दोलनमा परिणत भएको थियो । राणा शासनको अन्त्यदेखि गणतन्त्रको स्थापनासम्म आइपुग्दा कम्युनिस्टहरूले आफ्नो भूमिकालाई केवल राजनीतिक शक्तिका रूपमा होइन, परिवर्तनका वाहकका रूपमा स्थापित गरेका थिए ।
तर आज, इतिहासको यही बिन्दुमा उभिएर हेर्दा एउटा असहज प्रश्न उब्जिन्छ– के ती कम्युनिस्टहरू अझै पनि क्रान्तिका प्रतिनिधि हुन्, कि क्रान्तिको चिहानमा उभिएका अल्पसंख्यक दर्शक मात्र ?
आजकाल कम्युनिस्ट नेता घनश्याम भूसालका निराशावादी सन्देशहरू सुनिरहन पाइन्छ । भूसालले एउटा भिडियो सन्देशमा भनेका छन्, ‘हामी अहिले अयोग्यहरूको शासनबाट गुज्रिरहेका छौँ ।’ यो एउटा नेताको आक्रोशमात्र होइन, बरु वैचारिक स्खलन र सत्ता-लिप्साको दलदलमा फसेको वामपन्थी नेतृत्वप्रति गरिएको एउटा निर्मम प्रहार हो ।
हिजो जसले दलाल पूँजीवाद विरुद्ध जेहाद छेड्ने कसम खाएका थिए, तिनै नेताहरू बिहानीको घामसँगै दलालहरूसँगको सेटिङमा व्यस्त बने । भूसालले औँल्याएझैँ, कम्युनिस्ट पार्टीका नेताहरू वर्गीय आधारबाट पूर्णतः विमुख भएर केवल कर्पोरेट एजेन्ट बने । जब राजनीतिमा सिद्धान्तको सट्टा सिन्डिकेट चल्न थाल्छ र विचारको सट्टा बार्गेनिङले स्थान पाउँछ, तब आन्दोलनले आफ्नो मौलिकता मात्र गुमाउँदैन, बरु आफ्नै समर्थकहरूका लागि एउटा बोझ बन्न पुग्छ ।
वामपन्थी/कम्युनिस्ट दलहरूको वर्तमान सङ्कटलाई बुझ्न विचार र व्यवहारबीचको दूरीलाई गहिराइमा हेर्नुपर्छ । एकातिर समानता, न्याय र सामाजिक रूपान्तरणका आदर्शहरू प्रस्तुत गरिन्छन्, अर्कोतिर व्यवहारमा सत्ताकेन्द्रित राजनीति, सुविधाभोगी जीवनशैली र सङ्गठनभित्रको आन्तरिक द्वन्द्व देखिन्छ । यही विरोधाभासले जनविश्वासमा व्यापक क्षय ल्याएको छ । जब विचार केवल भाषणमा सीमित हुन्छ र व्यवहारमा त्यसको प्रतिबिम्ब देखिँदैन, तब कुनै पनि राजनीतिक शक्ति कमजोर हुनु अनिवार्य हुन्छ ।
नयाँ पुस्ताको मनोविज्ञानलाई बुझ्न असफल हुनु पनि वामपन्थी दलहरूको ठूलो कमजोरी बनेको छ । आजको युवा वर्ग परम्परागत राजनीतिक भाष्यभन्दा बाहिर सोच्न थालेको छ । उनीहरू पारदर्शिता, जवाफदेहिता र प्रत्यक्ष परिणाम चाहन्छन् । जब पुराना दलहरूले यी अपेक्षाहरू पूरा गर्न सक्दैनन्, तब उनीहरू वैकल्पिक शक्तितर्फ आकर्षित हुन्छन् । यद्यपि, नयाँ अनुहारहरूले पनि पूर्ण समाधान प्रस्तुत गर्न सकेका छैनन्, किनकि उनीहरूको राजनीति अझै पनि विद्यमान आर्थिक–सामाजिक संरचनाको सीमाभित्रै सीमित देखिन्छ ।
आजको अवस्था वामपन्थी आन्दोलनको पूर्ण अन्त्यको अन्तिम चरण जस्तै देखिन्छ । यदि यस अवस्थालाई आत्मसमीक्षाको अवसरका रूपमा उपयोग गर्न सके भने पुनर्निर्माण सम्भव नै छैन भन्न त नसकिएला तर विश्व कम्युनिस्ट आन्दोलनका पाठहरूले अब नेपालमा ‘कम्युनिस्ट एरा’ सकिन लागेको पूर्वानुमान गर्न गाह्रो छैन ।
राजनीति केवल सत्ता प्राप्तिको माध्यम होइन, विश्वास निर्माणको प्रक्रिया हो । जबसम्म त्यो विश्वास पुनः स्थापित हुँदैन, कुनै पनि विचारधारा दीर्घकालीन रूपमा टिक्न सक्दैन । यद्यपि विश्वास पुनः निर्माण गर्न सकियो भने, इतिहासले फेरि नयाँ मोड लिन सक्छ र सायद, वामपन्थी आन्दोलनले पनि ।
नेपालको आधुनिक राजनीतिक यात्रामा कम्युनिस्ट आन्दोलन एउटा शक्तिशाली धारा मात्र होइन, सामाजिक रूपान्तरणको प्रमुख संवाहक पनि रह्यो । सन् १९४९ (२००६ साल) मा पुष्पलाल श्रेष्ठले सुरु गरेको यो आन्दोलन सुरुदेखि नै विचार, सङ्घर्ष र जनआकांक्षासँग गाँसिएको थियो । प्रारम्भिक चरणमा यो शक्ति राज्यसत्ताबाट टाढा, तर जनभावनासँग नजिक थियो । राणा शासनको अन्त्य र त्यसपछिका राजनीतिक उतारचढावमा कम्युनिस्टहरू प्रत्यक्ष सत्तामा नभए पनि परिवर्तनको बौद्धिक र सङ्गठनात्मक आधार निर्माणमा सक्रिय रहे ।
२०१७ सालमा राजा महेन्द्रद्वारा बहुदलीय व्यवस्था विघटन गरी पञ्चायती शासन लागु गरेपछि कम्युनिस्ट आन्दोलन फेरि भूमिगत भयो । यही समयदेखि विभाजन र विचलनको शृङ्खला सुरु भयो कम्युनिस्टहरूमा । जसले आन्दोलनलाई वैचारिक रूपमा विविध बनायो तर सङ्गठनात्मक रूपमा कमजोर पनि पार्यो । सोभियत र चिनियाँ प्रभावबीचको द्वन्द्व, सशस्त्र र संसदीय मार्गबीचको विवाद, र नेतृत्वकेन्द्रित गुटबन्दीले कम्युनिस्ट आन्दोलनलाई एकीकृत शक्ति बन्न दिएन । यद्यपि, जनस्तरमा यसको प्रभाव निरन्तर रह्यो ।
२०४६ सालको जनआन्दोलनपछि बहुदलीय व्यवस्था पुनःस्थापित हुँदा कम्युनिस्टहरू खुला राजनीतिमा आए । २०४८ सालको निर्वाचनमा नेकपा एमालेले ६९ सिट जित्दै प्रमुख शक्ति बन्यो र २०५१ मा ८८ सिटसहित सरकार गठन गर्यो । यो नेपाली कम्युनिस्टहरूको लागि ऐतिहासिक क्षण थियो– क्रान्तिकारी आन्दोलन संसदीय अभ्यासमा रूपान्तरित भयो । तर यही रूपान्तरणसँगै एउटा सूक्ष्म विचलन पनि सुरु भयो, जहाँ सिद्धान्त क्रमशः व्यवहारसँग सम्झौता गर्न थाल्यो ।
२०५२ सालमा पुष्पकमल दाहालको नेतृत्वमा सुरु भएको सशस्त्र युद्धले वाम आन्दोलनलाई पुनः क्रान्तिकारी धारमा फर्काउने प्रयास गर्यो । एक दशक लामो द्वन्द्वले राज्य संरचना नै परिवर्तन गर्यो र अन्ततः २०६२/०६३ को आन्दोलनमार्फत राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना सम्भव भयो । २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी शक्तिको उदयले कम्युनिस्ट आन्दोलनको चरम राजनीतिक प्रभाव देखायो ।
२०६२/०६३ सालको आन्दोलनपछि कम्युनिस्ट आन्दोलनका दुई धार पुनः एक बिन्दुमा आए । गणतन्त्र स्थापनासँगै माओवादी २०६४ सालको संविधानसभा निर्वाचनमा ६०१ सिटमध्ये २२० सिट जित्दै पहिलो शक्ति बन्यो । यसपछि २०६५–२०७९ बीच नेपालमा १४ वटा सरकार बने, जसको औसत आयु करिब १.५ वर्षभन्दा कम रह्यो । कम्युनिस्ट दलहरू प्रायः सबै सरकारमा प्रत्यक्ष रूपमा सहभागी भए ।
२०७४ सालको निर्वाचन कम्युनिस्टहरूको चरम उत्कर्षको उदाहरण हो । एमाले र माओवादीबीचको गठबन्धनले प्रतिनिधिसभामा २७५ मध्ये करिब दुईतिहाइ (१७०+ सिट) जित्यो । त्यसपछि नेपाल कम्युनिस्ट पार्टी गठन भयो, जसलाई धेरैले कम्युनिस्ट स्वर्णयुगको सुरुवात माने । तर यो एकता टिकेन । २०७७–२०७८ बीचको आन्तरिक सङ्घर्ष, नेतृत्व विवाद र वैचारिक अस्पष्टताले पार्टी विभाजनमा पुग्यो ।
घनश्याम भूसालको तथ्याङ्कलाई मान्ने हो भने देशमा वामपन्थीहरूको गिर्दो आँकडा डरलाग्दो छ । भूसाल यो तथ्याङ्कले आफूलगायत धेरै नेता डिप्रेसनमा गएको बताउँछन् । पछिल्ला ८ वर्षको वामपन्थीको गिरावट हेर्ने हो भने डिप्रेसनयुक्त नै छ । ०७४ सालमा ४८ प्रतिशत वामपन्थीको भोट रहेकोमा ०७९ सालमा घटेर त्यो ४३ पुग्यो र ०८२ सालमा आइपुग्दा २२ प्रतिशतमा झरेको छ । ०७९ देखि ०८२ को ३ वर्षमा नेपालमा वामपन्थीहरूको भोट २१ प्रतिशतले घटेको बताउँदै भूसालले आफूहरू तिल्मिलाएको र नासिने बाटोतिर उन्मुख रहेको बताएका छन् ।
यही १०-१२ वर्षमा नेपाली कम्युनिस्टहरूको यात्रामा एउटा गम्भीर प्रवृत्ति देखापर्छ– चाउचेस्कु–पथतर्फको झुकाव । रोमानियाका शासक निकलाई चाउचेस्कुले जस्तै, सत्ता टिकाउन व्यक्तिपूजा, केन्द्रीकरण र आलोचनाप्रतिको असहिष्णुता बढ्दै जानु । नेपाली सन्दर्भमा यो पूर्णरूपमा निरङ्कुश स्वरूपमा प्रकट नभए पनि यसको छायाँ स्पष्ट देखिन्छ– नेतृत्वको अतिशय महिमामण्डन, पार्टीभित्र लोकतान्त्रिक बहसको खुम्चिँदो दायरा, र आलोचनालाई विद्रोहका रूपमा चित्रण गर्ने प्रवृत्ति ।
यससँगै अर्को गम्भीर समस्या देखिन्छ– भ्रमको खेती । कम्युनिस्ट आन्दोलनले समयक्रममा जनतासामु जुन वाचा गर्यो, त्यसको व्यावहारिक रूपान्तरण कमजोर रहँदा नाराहरू नै वास्तविकताभन्दा ठूलो बन्न थाले । समाजवाद, समानता, जनताको सत्ता जस्ता शब्दहरू राजनीतिक भाषणमा दोहोरिरहे, तर जनताको दैनिकीमा तिनको ठोस प्रभाव सीमित देखियो । यसले जनतामा वैचारिक अन्योल मात्र होइन, गहिरो निराशा पनि जन्मायो ।
मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादले वामपन्थलाई संसदीय लोकतन्त्रसँग जोड्ने ऐतिहासिक काम त गर्यो । तर समयसँगै यही अवधारणा व्यावहारिक लचकताको नाममा सैद्धान्तिक विचलनको आधार बन्न पुग्यो । निजी क्षेत्रसँग सहकार्य, उदार आर्थिक नीतिको स्वीकृति र सत्ता–केन्द्रित गठबन्धनले वामपन्थलाई व्यावहारिक बनायो, तर त्यसै अनुपातमा यसको वैचारिक धार भुत्ते हुँदै गयो ।
नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान सङ्कटको मुख्य जड नेतृत्वमा हाबी भएको ‘अहङ्कार’ हो । केपी ओलीमा देखिएको ‘म नै पार्टी, म नै कानुन र म नै राज्य’ भन्ने मनोविज्ञानले दुई-तिहाइको कम्युनिस्ट सरकारलाई सडकमा पुर्यायो । आफ्नै सहयात्रीहरूलाई शत्रु देख्ने र गुटबन्दीलाई नै पार्टी सञ्चालनको मूल कडी बनाउने प्रवृत्तिले एउटा विशाल सपनाको अकाल मृत्यु भयो ।
अर्कोतर्फ, प्रचण्डमा देखिएको ‘अस्थिरता र सधैँ सत्ताको केन्द्रमा रहनुपर्ने’ छटपटीले गर्दा उनी क्रान्तिका नायकबाट केवल सत्ता समीकरणका खेलाडीमा सीमित हुन पुगे । यी दुवै नेतामा देखिएको साझा चरित्र भनेको– आलोचना सुन्न नसक्नु र आफूलाई सर्वोपरी ठान्नु हो, जुन चाउचेस्कु–पथ कै एउटा आधुनिक रूप हो ।
जुन आन्दोलनले सामन्तवाद विरुद्ध लड्यो, त्यही आन्दोलनका प्रमुख पात्रहरू आज नव-सामन्त का रूपमा उदाए । प्रचण्डको राजनीति केवल आफ्नै परिवार र घेराभित्र घुम्नुले हजारौँ सहिदका सपनाहरूमाथि व्यङ्ग्य गरिरह्यो । छोरी, बुहारी र नातागोतालाई नै राजकीय पद र शक्तिको केन्द्रमा स्थापित गर्ने मोहले गर्दा निष्ठावान् कार्यकर्ताहरू किनारा लागे ।
केपी ओलीको हकमा पनि किचन क्याबिनेट र आफ्नो नजिकको स्वार्थ समूहलाई काखा च्याप्ने प्रवृत्तिले कम्युनिस्ट अनुशासनलाई एउटा ठट्टामा परिणत गरिदिएको छ ।
कम्युनिस्ट पार्टीमा सादा जीवन र उच्च विचारको आदर्श हुनुपर्नेमा, कम्युनिस्ट नेतृत्व विलासी जीवनशैली र दलाल पूँजीपतिहरूसँगको उठबसमा रमाइरह्यो । हिजोका सर्वहारा नेताहरू आज आलिसान महल र महँगा गाडीहरूमा सयर हुँदा भुइँतहका कार्यकर्ता र जनताको अवस्था उस्तै थियो । पार्टीभित्रको आन्तरिक लोकतन्त्र र जनवादी केन्द्रीयताको सिद्धान्तलाई नेतृत्वको आदेश पालना गर्ने मेसिनका रूपमा मात्र प्रयोग गरियो । यसले कार्यकर्तालाई विवेकशील नागरिकभन्दा पनि ‘अन्धभक्त’ बनाउने काम गर्यो, जसको परिणाम आजको वैचारिक खडेरी हो ।
यसबीच प्रचण्ड र ओलीबीचको द्वन्द्व कुनै वैचारिक मतभेदका कारण नभई केवल शक्ति र भागबन्डाका लागि थियो भन्ने तथ्य पटक-पटकका सत्ता समीकरणहरूले पुष्टि गरेका छन् । कहिले एमाले र माओवादी मिल्नु, कहिले कांग्रेससँग टाँसिनु र कहिले दक्षिणपन्थी शक्तिहरूसँग घाँटी जोड्नुले यी नेताहरूको कुनै निश्चित गन्तव्य छैन भन्ने देखाउँछ । समाजवाद केवल चुनाव जित्ने कार्ड मात्र बन्यो, जबकि व्यवहारमा उनीहरूले त्यही पूँजीवादी र नोकरशाहीतन्त्रलाई मलजल गरिरहेका थिए ।
नेपालजस्तो बहुजातीय र बहुसांस्कृतिक समाजमा वर्गीय प्रश्नसँगै जात, समुदाय र पहिचानका मुद्दाहरू पनि उत्तिकै महत्त्वपूर्ण छन् । तर कम्युनिस्ट भन्ने दलहरूले यी आयामहरूलाई समुचित रूपमा सम्बोधन गर्न नसक्दा उनीहरू केही समुदायबाट टाढिँदै गए । यसै क्रममा आन्दोलनको ऊर्जा क्रमशः संस्थागत जडतामा रूपान्तरित भयो– जहाँ पार्टीहरू विचारका भन्दा संरचनाका रूपमा बढी देखिन थाले ।
आजको अवस्थामा आइपुग्दा नेपाली कम्युनिस्ट आन्दोलन एक जटिल मोडमा उभिएको छ । यसको इतिहास सङ्घर्ष, बलिदान र उपलब्धिहरूले भरिएको छ, तर वर्तमान विसर्जनको रातो कपडामा बेरिएको छ । चाउचेस्कु–पथतर्फको झुकाव र भ्रमका खेतीले आन्दोलनबाट प्राप्त विरासत अब सत्ताप्राप्तिको बाटोदेखि टाढिँदै गयो । यद्यपि राजनीति केवल सत्ता प्राप्तिको खेल होइन, जनविश्वास निर्माण गर्ने प्रक्रिया हो । त्यो विश्वास एकपटक भत्किएपछि पुनः निर्माण गर्न गाह्रो हुन्छ, तर असम्भव होइन । नेपाली कम्युनिस्टहरूको भविष्य यही प्रश्नमा निर्भर छ– उनीहरूले आफ्नै इतिहासबाट पाठ सिक्छन् कि भ्रमकै खेतीमा अल्झिरहन्छन् ।
अन्ततः, नेपाली कम्युनिस्ट आन्दोलनको यो विद्रुप रूप कुनै बाह्य शक्तिको षड्यन्त्र होइन, बरु ओली र प्रचण्डजस्ता पात्रहरूको अहङ्कार र सत्ता-लिप्साको परिणाम हो । जब नेतृत्वले वर्गभन्दा परिवार, विचारभन्दा स्वार्थ र जनताभन्दा शक्तिलाई केन्द्रमा राख्छ, तब लाल झण्डा केवल एउटा कपडाको टुक्रामा सीमित हुन्छ ।
नेपाली जनताले अब भ्रमको खेती होइन, व्यावहारिक परिवर्तन खोजेका छन् । यो विचलनको गम्भीर समीक्षा नगर्ने हो भने, इतिहासको पानामा नेपाली कम्युनिस्ट आन्दोलन केवल एक समयको एउटा ठूलो अवसरको रूपमा मात्र सीमित रहनेछ ।
प्रतिक्रिया 4