आमा बनेपछि एउटी महिलाको जीवनमा धेरै कुरा बदलिन्छ । शरीर बदलिन्छ, दिनचर्या बदलिन्छ, निद्रा र खानपानको तालिका बदलिन्छ । तर सेलिब्रेटीका लागि भने सधैँ यो परिवर्तन स्वीकार्य नहुनेजस्तो देखिन्छ ।
विशेषगरी अभिनेत्रीहरू यो लागू हुन्छ । आमा बनेपछि उनीहरूको काम, मातृत्व वा नयाँ भूमिकाभन्दा पहिले शरीर कस्तो थियो र अहिले कस्तो देखिन्छ । तौल कति बढ्यो, अनुहारमा कस्तो परिवर्तन आयो, पहिलेको जस्तो शरीर छ कि छैन ? भन्ने प्रसंगबारे चर्चा हुन्छ ।
आमा बनेपछि पनि महिलाको शरीरकै हिसाबकिताब सुरु हुन्छ ।
अहिले अभिनेत्री कटरीना कैफलाई लिएर सामाजिक सञ्जालमा भइरहेको टिप्पणीले यही मानसिकतालाई फेरि एकपटक सतहमा ल्याएको छ ।
केही दिनअघि सार्वजनिक कार्यक्रममा श्रीमान् विक्की कौशलसँग देखिएकी कटरीनाको तौल र अनुहारमा आएको परिवर्तनलाई लिएर पुराना तस्वीरसँग तुलना गर्दै टिप्पणी गरिए ।
यही विषय ‘बिग बोस २०’ को शनिबार प्रसारित ‘वीकेन्ड का वार’ मा पनि उठ्यो । कार्यक्रमका प्रस्तोता सलमान खानले कसैको शरीर, उमेर वा रूप परिवर्तनलाई लिएर ट्रोल गर्नु गलत भएको बताए ।
उनले गर्भावस्थापछि महिलाको तौल बढ्न सक्ने उल्लेख गर्दै, बच्चा जन्मिएपछि शरीरमा आएको परिवर्तनलाई लिएर किन ट्रोल गर्ने भन्ने प्रश्न गरे । सलमानले कटरीनाको नाम भने लिएनन्, तर उनका यी भनाइलाई कटरीनाको प्रसूतिपछिको शरीरलाई लिएर भइरहेको ट्रोलिङसँग जोडेर सञ्चारमाध्यममा चर्चा भयो ।
कटरीनालाई लिएर अहिले भइरहेको टिप्पणी नयाँ घटना भने होइन । यस अघि पनि कयौं अभिनेत्रीले आमा बनेपछि आफ्नो शरीर र तौललाई लिएर ट्रोलिङको सामना गरिसकेका छन् ।
कटरीनादेखि सुरु भएको फेरि उही बहस
७ नोभेम्बर २०२५ मा कटरीना कैफ र विक्की कौशलले पहिलो सन्तानलाई जन्म दिए । त्यसपछि कटरीना केही समय सार्वजनिक गतिविधिबाट टाढा रहिन् । अगस्ट २०२६ को अन्त्यतिर उनी लामो समयपछि सार्वजनिक रूपमा देखिइन् । त्यसपछि सामाजिक सञ्जालमा उनका तस्वीर र भिडियो सार्वजनिक भए ।
तर, उनको काम वा सार्वजनिक उपस्थितिभन्दा शरीरमा आएको परिवर्तन धेरैको टिप्पणीको विषय बन्यो । कतिपयले तौल बढेको र अनुहारमा आएको परिवर्तनसम्म औंल्याउँदै पुराना तस्वीरसँग नयाँ तस्वीर तुलना गरे ।
गणेश चतुर्थीका अवसरमा मुम्बईमा उनी श्रीमानन विक्की कौशलसँग देखिएपछि पनि यस्तै टिप्पणी दोहोरिए । केहीले शरीरलाई लिएर प्रश्न उठाए भने धेरैले आमा बनेपछि महिलाको शरीरमा आउने परिवर्तनलाई लिएर हुने यस्तो टिप्पणीको विरोध गरे ।
ऐश्वर्या राय बच्चनलाई लिएर ट्रोल
यस्तै, दबाब पूर्व मिस वर्ल्ड तथा अभिनेत्री ऐश्वर्या राय बच्चनले पनि बेलाबखतमा भोग्ने गरेकी छिन् । २०११ मा छोरी आराध्यालाई जन्म दिइन् । त्यसपछि सार्वजनिक कार्यक्रममा देखिँदा उनको शरीरमा आएको परिवर्तनलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी हुन थाल्यो ।

विशेषगरी २०१२ को कान्स फिल्म फेस्टिभलमा उनको उपस्थितिलाई लिएर उनको काम वा अभिनयभन्दा शरीर र तौलको चर्चा बढी भयो । तर यस्ता टिप्पणीले फरक नपर्ने उनले बताइन् । सन् २०१२ मा बेलायती पत्रकार डेभिड फ्रस्टको कार्यक्रममा उनले आफूले कहिल्यै डाइटिङ नगरेको बताएकी थिइन् ।
आफ्नो तौललाई ठूलो समस्या ठानेको भए आफू सार्वजनिक रूपमा नआउने वा त्यसका लागि केही गर्ने उनको भनाइ थियो ।
बिपाशाले दिइन २० वर्षको जस्तै शरीर फर्काउनुपर्ने दबाबको जवाफ
अभिनेत्री बिपाशा बसुले पनि आमा बनेपछि शरीरलाई लिएर हुने टिप्पणीको सामना गरिन् । उनले नोभेम्बर २०२२ मा छोरी देवीलाई जन्म दिएकी थिइन् ।
सुत्केरीपछिको तस्वीर जब सार्वजनिक भयो, तब उनको शरीरलाई लिएर निकै टिप्पणी हुन थाले । एक अन्तर्वार्तामा उनले बच्चा जन्माएपछि महिलाबाट गरिने अपेक्षामाथि प्रश्न उठाइन् ।

बिपाशाले आफ्नै अनुभव सुनाउँदै बच्चा जन्माएपछि आफूले तौल र शरीरलाई लिएर निकै ट्रोलिङ सामना गरेको बताएकी थिइन् । बच्चाको हेरचाह, आफ्नो जीवनशैलीमा आएको परिवर्तन र प्रसूतिपछिको अवस्थालाई नहेरी महिलाको शरीर मात्रै हेर्ने प्रवृत्तिले आफूलाई दुःख लागेको उनले बताएकी थिइन् ।
उनले प्रश्न गरेकी थिइन्, ‘बच्चा जन्माएपछि ४० वर्षकी महिलाले पनि २० वर्षकी महिलाजस्तै शरीर किन देखाउनुपर्ने ?
करीना कपूरको बच्चा जन्माएपछि पनि ‘फिगर’ कै चर्चा
यसबाट अछुतो छैनन्, अर्की अभिनेत्री करीना कपूर पनि । करीना कपूर खानलाई लामो समयदेखि फिटनेस र ग्ल्यामरका लागि चिनिन्छ । तर उनका लागि पनि मातृत्वपछि शरीरलाई लिएर हुने टिप्पणीबाट उम्कन सहज भएन ।
उनले सन् २०१६ मा पहिलो छोरा तैमुरलाई जन्म दिइन् । गर्भावस्थामा करिब १८ किलो तौल बढेको उनले बताएकी थिइन् । बच्चा जन्मिएपछि शरीरका विभिन्न भागमा आएको परिवर्तनलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी भए ।

२०२१ मा दोस्रो छोरा जेह जन्मिएपछि पनि अवस्था उस्तै रह्यो । त्यसको केही महिनापछि उनी फेसन कार्यक्रममा र्याम्पमा देखिइन् । तर उनको पुनरागमन र कामभन्दा प्रसूतिपछिको शरीरमा धेरैको ध्यान गयो।
पछि आफ्नो अनुभव सुनाउँदै करीनाले बच्चा जन्माएपछि तौल घटाउनुपर्ने दबाबको क्षणिक अनुभूति भएको बताएकी थिइन् ।
समीरा रेड्डीकोलाई फ्यानहरूले बोस भने पछि
समीरा रेड्डीको अनुभव अझ फरक थियो । पहिलो सन्तान जन्मिएपछि सन् २०१५ मा उनको तौल ७२ किलोबाट बढेर १०५ किलो पुगेको थियो ।
गर्भावस्था र प्रसूतिपछिका हार्मोनल तथा शारीरिक परिवर्तनसँग जुधिरहेकी उनलाई बाहिरबाट आएका टिप्पणीले झन् अप्ठ्यारो बनायो ।
उनले त्यस समय आफू भावनात्मक रूपमा निकै कठिन अवस्थामा रहेको बताएकी थिइन् । मानिसहरूले उनको शरीरमा आएको परिवर्तनलाई लिएर गर्ने टिप्पणीले आफूलाई थप असर गरेको उनको अनुभव थियो ।
पछि भने फिटनेसप्रतिको उनको बुझाइ बदलियो । दुब्लो हुनेभन्दा बलियो र स्वस्थ रहने कुरालाई उनले प्राथमिकता दिन थालिन् । बारम्बार तौल घटाउने र बढाउनेभन्दा दीर्घकालीन रूपमा स्वस्थ रहनु महत्वपूर्ण भएको उनको बुझाइ थियो ।
‘मैले बच्चा जन्माएकी हुँ’ : अभिनेत्री पत्रलेखा
अभिनेत्री पत्रलेखाले भने प्रसूतिपछिको शरीरलाई लिएर टिप्पणी गर्नेहरूलाई सार्वजनिक रूपमै जवाफ दिइन् । उनले १५ नोभेम्बर २०२५ मा अभिनेता राजकुमार रावसँग छोरीलाई जन्म दिइन् । त्यसपछि एउटा पापाराजी पेजले उनको भिडियो सार्वजनिक गर्दै उनको शरीरलाई लक्षित गरेर टिप्पणी गर्यो ।
पत्रलेखाले त्यसको जवाफमा सामाजिक सञ्जालमार्फत आफूले भर्खरै बच्चा जन्माएको स्मरण गराइन् । गर्भावस्थापछि शरीरमा आएको परिवर्तन अस्वाभाविक नभएको भन्दै उनले मानिसहरूलाई अरूको शरीरबारे टिप्पणी गर्नुअघि संवेदनशील हुन आग्रह गरिन् ।
स्वरा भास्कर भन्छिन्, ‘शरीरमाथिको अधिकार कसको ?
अभिनेत्री स्वरा भास्करले पनि छोरी राबियाको जन्मपछि आफ्नो शरीर र तौललाई लिएर अनलाइन टिप्पणीको सामना गरिन् । उनले सन् २०२३ मा छोरीलाई जन्म दिएपछि सार्वजनिक रूपमा देखिँदा उनको शरीरमा आएको परिवर्तनलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी भए।
२०२६ मा उनले प्रसूतिपछि तौल नघटाएको विषयमा गरिएका टिप्पणीको जवाफ दिँदै बच्चा जन्मिएपछि महिलाको शरीरलाई लिएर समाजले बनाउने अपेक्षा अवास्तविक हुने बताएकी थिइन् ।
आखिर ‘पहिले जस्तै’ भन्नाले के ?
चाहे सेलिब्रेटी होस वा साधारण महिला गर्भावस्था र प्रसूतिपछि महिलाको शरीरमा धेरै परिवर्तन आउन सक्छ । पेटको आकार, तौल, स्तन, छाला, मांसपेशी, हार्मोन र निद्रादेखि दैनिक जीवनशैलीसम्म प्रभावित हुन सक्छ ।
यी परिवर्तनबाट शरीरलाई पुरानै अवस्थामा फर्किन समय लाग्न सक्छ । त्यो समय हरेक महिलामा एउटै हुँदैन । त्यसैले ‘बच्चा जन्माएको यति महिना भयो, अझै पहिले जस्तै किन भइनन् ?’ भन्ने प्रश्न आफैंमा समस्याग्रस्त छ ।
प्रतिक्रिया 4