News Summary
Generated by OK AI. Editorially reviewed.- प्रियंका कार्कीको होमप्रोडक्सन आयंका फिल्म्सले निर्माण गरेको मास्टर्नीलाई सुभेन्दु घोषले निर्देशन गरेका हुन्, र यसमा धेरै कलाकारको अभिनय छ ।
- पहिलो हाफ कमजोर, दोस्रो हाफ केही सुदृढ, तर अभिनय, संवाद, साउन्ड डिजाइन र कलर ग्रेडिङमा काम गर्नुपर्ने देखिन्छ
कथा १:
विजय नामक केबल टिभी अपरेटर आफ्नी पत्नी र दुई छोरीसहित जीवन बिताइरहेका छन् । एक दिन ठूली छोरीलाई प्रहरी अधिकृत मीना देशमुखका छोराले ब्ल्याकमेलिङ गर्न खोज्छ । आत्मरक्षामा ती युवकको मृत्यु हुन्छ ।
त्यसपछि विजयले फिल्मबाट सिकेका तरिकाहरू प्रयोग गरेर छोरीलाई कानुनबाट बचाउने योजना बनाउँछन् । प्रमाण नष्ट गर्छन् । र, अनुसन्धानलाई भ्रमित पार्छन् । अन्तमा, प्रहरी अधिकृत मीनाले केही गर्न सक्दिनन् । विजयको परिवार सुरक्षित हुन्छ।
कथा २:
तुलसी क्षेत्री ब्राइट फ्युचर स्कुलकी विज्ञान शिक्षिका हुन् । उनी अत्यन्तै चलाख र तेज छिन् । उनकी एक छोरी छिन् । श्रीमान् अलग्गै बसिरहेका छन् । छोरी अंकिता क्षेत्री चर्चित नेता महेश कुमार शर्माकी छोरी शिशिल्यासँग नजिक हुन पुग्छिन् । शिशिल्या लेसबियन हुन्छिन् । र, एक दिन अंकितासँग अलि नजिक हुन खोज्दा गल्तीवस उसको मृत्यु हुन्छ । त्यसपछि तुलसीले आफूले जानेको सबै ज्ञान तथा विधि प्रयोग गरी छोरीलाई सजायबाट बचाउन योजना बनाउँछिन् । प्रमाण नष्ट गर्छिन् । र, अनुसन्धानलाई भ्रमित पार्छिन् । अन्तमा, प्रहरी अनुसन्धानले उनीहरू विरुद्ध केही गर्न सक्दैन।
यी दुवै कथा भएको फिल्म क्राइम थ्रिलर/मर्डर मिस्ट्री हुन् । तर, ट्विस्ट; कथा २ हालै नेपालमा प्रदर्शनमा आएको मास्टर्नी को हो भने कथा १, जितु जोसेफद्वारा निर्देशित मलयालम फिल्म दृश्यमको । जुन पछि निशिकान्त कमातले रिकेम गरेका थिए ।
अर्थात्, हामी सजिलै भन्न सक्छौं – स्टारकास्टहरू भएको मास्टर्नी बनाउन चिटको सहारा लिइएको छ । यद्यपि, चलाखी के गरिएको छ भने कथानकबाहेक अन्य कुराहरू मास्टर्नीमा नवीन बनाइएको छ । यसले ओरिजिनालिटीको झल्को दिन्छ । तर, दृश्यम हेरिसकेका दर्शकहरूलाई यो कुरा थाहा पाउन कति बेर पनि लाग्दैन । नहेर्नेका लागि भने नवीनता पक्कै लाग्न सक्छ ।
यो छल बाहेक के छ त मास्टर्नीमा खास ? यसले आफ्नो विधालाई न्याय गर्छ कि गर्दैन ? प्राविधिक रुपमा यो फिल्म कति बलियो छ ?

प्रियंका कार्कीको होमप्रोडक्सन आयंका फिल्म्सले निर्माण गरेको यो फिल्म भारतीय निर्देशक सुभेन्दु घोषले निर्देशन गरेका हुन् । फिल्ममा प्रियंकासहित सरोज खनाल, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुपविक्रम शाही, गौरी मल्ल, सिम्रन खड्का, रक्षा थापा, विशाल पहारी, दिनेश काफ्ले आदिको अभिनय छ । दीपाश्री निरौला, दिपकराज गिरी क्यामियो रोलमा छन् । फिल्ममा शार्क ट्यांक नेपालका शार्क तथा अग्नि समूहका प्रमुख क्याबिनेट श्रेष्ठ समेत निर्माताको रूपमा छन् ।
यति धेरै सेलिब्रेटी फेस रहेको यो फिल्मको कथानकबारे त सुरुमै उल्लेख गरिसकियो । थपमा भन्दा मास्टर्नी एउटी आमाको प्रेमवरिपरि बुनिएको क्राइम थ्रिलर हो । त्याग, अपराधबोध, न्याय यसका प्रमुख विषय हुन् । आफूले माया गर्ने मान्छे संकटमा पर्दा एउटा मान्छे कुन हदसम्म जान सक्छ भन्ने उत्तर यसको मूलकथा हो । तर, मूल कथाका लागि चिटिङको सहारा लिँदा फिल्म पहिलो गाँसमै ढुङ्गा हुन पुगेको छ ।
गज्जबको क्राइम थ्रिलर वा मर्डर मिस्ट्री हुन यसलाई निश्चित तत्वहरूले न्याय गर्नुपर्छ ।

जस्तो; अपराध हुनुपर्छ । त्यसपछि कसले गर्यो ? कसरी गर्यो ? किन गर्यो ? भन्ने रहस्य उत्पन्न हुनुपर्छ । अनुसन्धान प्रक्रिया देखिनुपर्छ । जसमा प्रमाण र सुराकका कुराहरू हुन्छन् । पूरै कथाभरि तनाव र सस्पेन्स भइरहनुपर्छ । पात्रहरू रोचक र विश्वासनीय हुनुपर्छ । पेसिङ र ब्याकग्राउन्ड स्कोर पनि उत्तिकै राम्रो हुनुपर्छ । अनि गज्जबको ट्विस्ट हुनुपर्छ ।
यी कुराहरूलाई विधाको आधारभूत तत्व मानिने यो कुरामा मार्स्टर्नीले केही हदसम्म राम्रै गर्न सकेको छ । उदाहरणका लागि, अपराध भएको लामो समयसम्म यो फिल्मले दर्शकहरूलाई कथामा बाँधिराख्छ । अपराध भएको उही घटना र पात्रहरूलाई बारम्बार देखाइँदा पनि अन्त्यसम्म सबै कुरा खुल्दैन ।
यसमा कथावाचन शैली उत्कृष्ट बनेको छ । अर्थात् समयको क्रम तोडेर फिल्मको कथावाचन गरिएको छ । घटनाको अनुसन्धान गर्दा अनेकन् स-साना ट्विस्टहरू आइरहन्छन् । तिनले पनि दर्शकलाई अड्याइराख्न राम्रो भूमिका खेलेको छ ।
तर, यी बाेहक अभिनय, लोकेसन, संवाद, साउन्ड, विषय, मुद्धा र पुन: कथानकमा धेरै काम गर्नुपर्ने ठाउँ छाडिएका छन् ।
शीर्षक सुन्दा जोकोहीलाई यो फिल्म शिक्षणसँग नजिक हो कि जस्तो लाग्छ । यो कुरा फिल्ममा आंशिक सत्य मात्र छ । बरु यो नामले महिला शिक्षकहरूको सामाजिक मर्यादामा आँच पुर्याउने हो कि भन्ने लाग्छ । गीतको विवाद त यहाँ के उल्लेख गर्नु!
तुलनात्मक रूपमा फिल्मको पहिलो हाफ कथा र पात्र निर्माणमा अलमलिएको छ । सायद त्यसमा निर्देशकले अझ बढी मेहेनेत गर्नु पर्ने थियो ।

उदाहरणका लागि, तुलसीको भूमिकामा रहेकी प्रियंकाले इट्स नट स्नेक बाइट, इट्स स्कोर्पियन बाइट भन्ने संवाद तीन पटकसम्म दोहोर्याउँछिन्, कम समयमा । अनि उनले कुनै पनि घटना हुनासाथ आफ्नो शिक्षित रूपमा देखाइहाल्छिन् । जसले पात्र निर्माण कमजोर बनाएको छ ।
तर, दोस्रो हाफमा यस्ता समस्याहरू केहीहदसम्म कम भएका छन् । कथानक, संवाद, घटना यी सबैमा दोस्रो हाफमा पहिलोको तुलनामा राम्रो गरिएको पाइन्छ ।
त्यस्तै, मुल विषय अपराध भएता पनि फिल्मले मातृत्व, राजनीति, करियर, पत्रकारिता, लैंगिक अल्पसंख्यक आदिलाई पनि उठान गरेको छ । तर, यी कुनै पनि विषयहरू प्रमुखताका साथ उठ्दैन ।
उदाहरणका लागि, शिशिल्या लेसबियन हुन् । अहिले कोही लैंगिक अल्पसंख्यक भएको थाहा पाउँदा लजाउनु पर्ने अथवा थाहा नपाए जस्तो गर्नुपर्ने अवस्था छैन । तर, उनको वास्तविकतालाई प्रहरी अधिकृतहरूले जसरी हाँसोमा उडाउँछन्; त्यो लापरवाही तरिकाले उठान गरिएको लाग्छ । अनि करियरको रूपमा अंकिता लोकसेवामा भिड्न चाहन्छिन् । तर, उनको जुन पारिवारिक पृष्ठभूमि हो; उनी जुन विलासिता झल्कने घरमा बस्छिन् – त्यसले उनको पात्रमाथिको विश्वासनियतामा शंका पैदा गर्छ । किनकि, यो वर्तमान समयको कथा हो भन्ने प्रमाण फिल्ममा टन्नै भेटिन्छ । उदाहरणका लागि, अहिले सरकारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको रङ र नामसँग मिल्ने गरी देखाउनु । फिल्ममा पनि निलो र पार्टीको नाम आम स्वतन्त्र पार्टी राखिएको छ । तर, यो बाहेक मुल कथानकलाई सहयोग हुने सूक्ष्म पक्षहरूमा यो फिल्म चुकेको छ ।

अर्कोतिर अभिनयको कुरा गर्दा, अंकिताको भूमिकामा रहेकी सिम्रन खड्काले आफ्नो दायरा फैलाएको देखिन्छ । यसअघि गौंथलीमा रहेकी उनले भर्सटाइल भूमिका निभाउने छनक देखाएकी छिन् । प्रियंका कार्की चाहिनेभन्दा धेरै लाउड सुनिएकी छिन् । सम्भवत: संवादमा अझ काम गरिएको भए त्यसो हुने थिएन । सरोज खनाल, आर्यन सिग्देल, अनुपविक्रम शाही, गौरी मल्ल, दीपाश्री निरौला, दिपक राज गिरी, प्रमोद अग्रहरी, ऋषा शर्माको अभिनय औसत देखिन्छ ।
त्यस्तै, सिनेमाको कुनै पनि पात्रहरू सम्झिरहन लायक छैन । बरु पात्रको नाममार्फत दर्शकलाई गिज्याउने प्रयत्न गरिएको छ । किनकि, डीएसपीको भूमिमा रहेका आर्यन सिग्देलको पात्रको नाम दुर्गेश थापा हो । अनि थापा उनै हुन्, जसले यस फिल्मको प्रवर्धनका लागि विवास्पद गीत गाएका थिए । फिल्ममा व्यावसायिक रूपमा जोडिएको एक पेय पदार्थको मार्केटिङका लागि केही दृश्यहरू नै राखिएका छन् । त्यसमा प्रयोग गरिएको संवाद पनि हलमा क्रिन्ज सुनिन्छ । पटकथामा गरिएको यो ठूलो कमजोरी हो ।

प्राविधिक पाटोको कुरा गर्दा, पहिलो हाफको तुलनामा क्यामेरा वर्क दोस्रो हाफमा उत्कृष्ट छ । मोन्टाज सटको प्रयोग सहि साबित भएको छ । तर, कलर ग्रेडिङ र साउन्ड डिजाइनमा भने फिल्म उत्कृष्ट छैन । रातको दृश्यहरूका लागि कलर ग्रेडिङ गरेर एम्बियन्ट बनाउन खोजिएको छ । तर, दिनमा खिचिएका दृश्यहरूमा भने कुनै पनि नजरबाट क्राइम थ्रिलरको झल्को आउँदैन । एउटा क्राइम थ्रिलरमा यी दुई प्राविधिक कुरालाई प्रमुखताका साथ ध्यान दिइनु पर्ने हो । तर, यी दुवैमा मार्स्टर्नी कामचलाउ मात्र बन्न पुगेको छ ।
अन्त्यमा, फरक विधाको फिल्म बनाउन कोसिस गर्नु, त्यसमा केही हदसम्म भए पनि न्याय गर्नु, पुराना स्टारदेखि अहिलेको उदाउँदो कास्टसम्म समेट्नु, ठूला व्यावसायीलाई फिल्म निर्माणमा जोड्नु मास्टर्नीको राम्रो पक्ष हो । तर, सम्झिरहन लायक फिल्म बन्न यो छुकेको छ ।
फोटो: मास्टर्नी टेलर/टिजर, ओएसआर डिजिटल
प्रतिक्रिया 4