+
+
Shares

इजरायल–सिरिया तनाव घटाउन उच्च अधिकारीबीच वार्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते ७:५५
सिरियाका विदेशमन्त्री अल–शैबानी

८ भदौ, काठमाडौं । इजरायल र सिरियाबीच पछिल्लो समय बढेको तनाव कम गर्ने प्रयासस्वरूप दुवै देशका उच्च अधिकारीबीच आइतबार भेटवार्ता भएको छ।

सिरियाका विदेशमन्त्री असाद अल–शैबानी र इजरायली गुप्तचर संस्था मोसादका निर्देशक रोमन गोफम्यानबीच भएको भेटमा पछिल्लो इजरायली हवाई आक्रमण र क्षेत्रीय सुरक्षा अवस्थाबारे छलफल भएको बताइएको छ।

यसअघि मंगलबार इजरायली वायुसेनाले उत्तरी सिरियाको अबु अल–दुहुर एयरबेसमा कम्तीमा आठ वटा बम खसालेको थियो। टर्कीको सीमाबाट करिब ४५ माइल टाढा रहेको उक्त एयरबेसमा टर्कीले ड्रोन र राडार प्रणालीसहित सैन्य पूर्वाधार विस्तार गर्न खोजेको इजरायलको दाबी छ।

टर्कीले त्यहाँ सैन्य उपस्थिति बढाउने तयारी नरोकिए कारबाही गर्ने चेतावनीसमेत इजरायलले दिएको थियो। तर सिरियाले टर्कीलाई स्थायी सैन्य बेस स्थापना गर्न दिने कुनै योजना नरहेको स्पष्ट पारेको छ।

सिरियाका विदेशमन्त्री अल–शैबानीले टर्कीका सैन्य अधिकारीहरूले आक्रमणअघि एयरबेसको भ्रमण गरेको स्वीकार गर्दै त्यो नियमित तालिम र अनुभव आदानप्रदानको हिस्सा मात्र भएको बताएका छन्।

इजरायल, सिरिया र अमेरिकाबीच भएका छलफलमा सिरियाले टर्कीलाई सैन्य आधार बनाउन नदिने प्रतिबद्धता जनाएको थियो। त्यसपछि पनि इजरायलले एयरबेसमा आक्रमण गरेको हो।

अमेरिकी दूत टम ब्याराकसहित वरिष्ठ अधिकारीहरूले इजरायल, टर्की र सिरियालाई पुनः वार्तामा फर्कन आग्रह गरेका छन्। अल–शैबानीले भने तनाव घटाउने जिम्मेवारी सबै पक्षको रहेको भन्दै सिरियामाथिको निरन्तर इजरायली सैन्य कारबाहीले सुरक्षा होइन, थप अस्थिरता निम्त्याउने चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?