२१ भदौ, रसुवा । भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत रिपोर्टिङ गर्ने क्रममा गत साता अनलाइनखबरको टोली रसुवा सदरमुकाम धुन्चेबाट ६ किलोमिटर उत्तर-पश्चिममा पर्ने सानो भार्खु पुगेको थियो ।
बाढी गएको ५ औं दिन बिहान हाम्रो टोली त्यहाँ पुग्दा विनाशपछिको भोटेकोशी, स्याफ्रु र सानो भार्कु नियालिरहेको एउटा समूह सडक (बाढीपछि सुनसान) छेउ उभिएको थियो । राजधानी काठमाडौंबाट गएको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मिडियाका रिपोर्टरहरूले स्थानीयसँग बाढी पछिको पीडा टिप्दै थिए/ क्यामेरामा कैद गर्दै थिए ।
त्यही भेटिइन्- गङ्ध्रम ल्हमो ।
क्यामेरा बोकेका पत्रकारहरूको छेउसम्म पुग्ने र केही भन्न खोज्ने प्रयासमा थिइन्, उनी ।
तर उनी कसैको चासोमा परिरहेकी थिइनन् ।
बोल्न र सुन्न नसक्ने एक महिलाबाट सूचना नपाउने बुझाइले पनि उनीसँग कसैले संवाद नगरेको अड्कल लगाउन सकिन्छ ।
गङ्ध्रमले अनलाइनखबरको टिमसँग पनि बोल्न खोजिन् । केही भन्न खोजिन् ।

हातले भोटेकोशीतिर देखाइन् । अनि बच्चा बगेको इसारा गरिन् । उनको अनुहारमा पीडा र छटपटी अनुमान लगाउन सकिन्थ्यो । तर बुझाउन सक्दिन थिइन् ।
इसाराले नै आफ्नो घरमा जान आग्रह गरिन् । हाम्रो टीम उनलाई पछ्याउँदै सडक छोडेर ओरालो भित्तातिर झर्यो ।
केही मिनेटको पैदलपछि एउटा घरमा पुग्यौं । जुन घर उनको छिमेकी मेवाङ तामाङको रहेंछ ।
मेवाङ परिवारका सदस्यहरूबाट थाहा भयो, गङ्ध्रमका छोरा प्रेम पनि बाढीमा हराएका छन् ।
२४ वर्षीय छोरा हराएपछि खोजीको अनुनय गर्दै गाउँमा पुग्ने हरकोहीसँग गङ्ध्रमले खोजी गरिदिन आग्रह गरिरहेकी रहिछन् । ‘मिडियामा सूचना दियो भने छोरा भेटिन्छ भनेर सल्लाह गरेको गङ्ध्रमले बुझेछ,’ मेवाङले भने, ‘त्यही भएर तपाईंहरूलाई यहाँ ल्यायो ।’
मेवाङ र उनका परिवारले प्रेमको बारेमा जानकारी दिइरहँदा छेउमै बसेर गङ्ध्रमले हेरिरहिन् । बोल्न सक्ने भए छोरा प्रेमका बारेमा अझ धेरै सूचना दिन्थिन् होला । तर सबैतिर आँखा डुलाउँदै टोलाएर बसिरहिन् ।
प्रेमको प्रतीक्षा
गोसाईंकुण्ड गाउँपालिका–५ की वडा सदस्य डोल्मा याङजेन तामाङका अनुसार गङ्ध्रमको जीवन कहिल्यै सहज थिएन ।
पहिलो श्रीमतीबाट सन्तान नभएपछि उनलाई पेमा दोर्जेले दोस्रो श्रीमतीका रुपमा विवाह गरेका थिए । पहिलो श्रीमतीसँग सल्लाहमै भित्र्याइएकी दोस्रो पत्नी गङ्ध्रमले २१ पुस २०५८ सालमा प्रेमलाई जन्माइन् ।
तर प्रेमलाई जेठी आमाले हुर्काइन् । पढाइ खर्च र हेरचाह जेठी आमा र बुवाले गरे । प्रेम हुर्कंदै गएपछि जन्माउने आमालाई पनि सँगै राख्नुपर्ने अडान लिए ।
एक्लो छोराको अडानका कारण केही वर्ष स-परिवार सँगै रहे । तर फेरि असमझदारी भयो । उनीहरू अलग-अलग भए ।
‘उहाँ आफैं बोल्न र सुन्न सक्नुहुन्न,’ वडा सदस्य तामाङले अनलाइनखबरसँग भनिन्, ‘तरकारी खेती गरेर सदरमुकाममा बेच्ने र त्यही आम्दानीबाट जीवन चलाउने गर्नुहुन्छ ।’
छोरा प्रेमबाट अलग बस्नु उनको बानी अथवा बाध्यता थियो । प्रेमको विवाह भयो । नातिनी जन्मिइन् । प्रेमको प्रगतिबाट गङ्ध्रम खुशी नै थिइन् ।

रसुवाका धेरै युवाको रोजगारीको आधार नै ड्राइभिङ हो । बितेको ५ वर्षदेखि प्रेमले पनि गाडी चलाउन थालेका थिए । प्रेमकी पत्नी भने वैदेशिक रोजगारीका लागि साइप्रस पुगेकी थिइन् ।
प्रेम गाडी चलाउन हिँडिरहने र बुहारी विदेशमा भएकाले नातिनी हजुरबुवासँग बस्ने गर्थे । जेहोस्- परिवार राम्रै चलिरहेकै थियो ।
तर १० भदौको भोटेकोशी बाढीमा परेर प्रेम बेपत्ता भएपछि यो परिवारमा बज्रपात भएको छ । बुहारी नेपाल फर्किएकी छन् ।
भार्खुका अरु थुप्रै परिवार जस्तै यो परिवारले पनि प्रेमको खोजीमा हिँडेका छन् । भोटेकोशी र भार्खु खोलाको पुल समेत बाढीले बगाएकाले खोजीमा कतै निस्कन सक्ने स्थिति पनि छैन ।
‘सडक भत्किएपछि कतै जान सकिने स्थिति छैन । आकाशमा उड्ने हेलिकोप्टरले हराएका हाम्रा छोराहरू खोजी दिएको छैन,’ मेवाङले भने, ‘गङ्ध्रमले तपाईंहरूलाई भेटेछ, र बोलायो ।’
अरु जसरी बोलेर भन्न नसके पनि गङ्ध्रमले इसारा मार्फत प्रेम हराएको सूचना धेरैतिर फैलाइदिन आग्रह गरिन् ।
स्थानीयका अनुमानमा प्रेम मानसरोबर जाने क्रममा घट्टे खोलाबाट हराएको हुनुपर्छ ।

अरुको पीडा पनि उस्तै
गङ्ध्रमका छिमेकी मेवाङकै पनि छोरा बाढीमा बेपत्ता छन् । ‘हाम्रो छोरा घर आउनेछ भनेर यही बाटो हेरेर दिन–रात कटाइरहेका छौं,’ उनीहरूले भने ।
बाढी आएको दिन मेवाङ भने गोसाइँकुण्डतिर लाग्ने मेलाका लागि छाप्रो थाप्न गएका थिए । छोरा लामा सेनाम गाडी लिएर निस्किएका थिए ।
‘ढुङ. ढुङ… आवाज आयो,’ मेवाङ भन्छन्, ‘छोरालाई फोन गरे, लागेन ।’
उनले पटक–पटक फोन गरिरहे । फोन व्यस्त भयो । केहीबेरपछि सम्पर्क नै भएन ।
त्यस दिनदेखि मेवाङ आफ्नो छोरा ल्हामो सेनामको बाटो हेरिरहेका छन् ।
जीवित छन् कि छैनन् ? उनलाई अत्तोपत्तो छैन ।

२८ वर्षका सेनाम रसुवा नाकामा गाडी चलाउँथे । उनकी दुई वर्षकी छोरी छिन् । कैलाशतिर सामान ओसारपसार गर्नु उनको दैनिकी थियो । बाढी आएको दिन पनि उनी त्यतै थिए ।
बाढी पछि मेवाङ धुन्चेतिर पुगे । छोराको खबर कुर्दै रहे । कतै उद्धार टोलीले ल्याउला कि ? कतैबाट फोन आउला कि ?
दिन बित्दै गए । खबर आएन ।
छोरीले सोध्छिन् – बाबा कहिले आउनुहुन्छ ?
सोनमका छोरीले बाबाबारे सोधिरहन्छन् । ‘नानीले बाबा कहिले आउँछ भनेर सोध्छ,’ मेवाङ भन्छन्, ‘मैले नरोऊ, बाबा आउँछ भनेर सम्झाउँछु ।’
उनलाई कसैले सही कुरा भन्न सकेका छैनन् । ‘बाबा गुफामा बसेको होला भन्छौं, कहिले काठमाडौं पुगेको होला, फर्केर आउँछ भन्छौं,’ मेवाङकी पत्नी भन्छन् ।

बाढी आउनुअघि यो गाउँको अवस्थिति/स्थिति अर्कै थियो । मानिसहरूको चहलपहल थियो ।
अहिले त्यही ठाउँसँग यहाँका स्थानीयलाई डर लाग्छ । ‘पहिला ठूलो बजार थियो ठूला–ठूला बिल्डिङ थिए,’ मेवाङ भन्छन्, ‘अहिले उतातिर हेर्न पनि डर लाग्छ।’
बाढीपछि आसपासका धेरै मानिस सुरक्षित ठाउँतिर सरेका छन् । घरहरू भत्किएका छन् । बाढीको त्रास कायमै छ । ‘राति पनि डुङ डुङ गरेर आवाज आउँछ । भागौँ भने साना बच्चाहरू छन् । कहाँ जाने ? मेवाङकी पत्नी भन्छन्, ‘रातभरि बाहिर उभिएर बस्छौं । रोएर रात काट्छौं ।’
बाढीमा परेर सानो भार्खुका मात्रै ३५ जना हराइरहेका छन् । जिल्ला प्रशासन कार्यालय रसुवाको तथ्याङ्क अनुसार शनिबार साँझसम्म बाढीमा परेर तीन हजार ७१ जना हराइरहेका छन् । १६३ जनाको शव रसुवामा भेटिएका छन् ।
गङ्ध्रम ल्हामो सहित यहाँका हरेक आमा आफ्ना सन्तान सकुशल फर्किएको खबर सुन्न चाहन्छन् ।
तस्वीरहरू : कमल प्रसाईं/अनलाइनखबर
प्रतिक्रिया 4