
३० वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ मा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने भएको छ । केन्द्रिय तथ्यांक विभागले गरेको प्रदेशगत प्रक्षेपण अनुसार चालु आवमा सबैभन्दा राम्रो आर्थिक वृद्धिदर सुदूरपश्चिम प्रदेशमा हुने भएको छ ।
गत आवमा प्रदेश नं २ को आर्थिक वृद्धिदर राम्रो थियो । विभागका अनुसार यस वर्ष सुदुरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ४.०८ प्रतिशत कायम हुने भएको छ । समग्र मुलुकको आर्थिक वृद्धिदर भने २.२८ प्रतिशत रहने प्रक्षेपण यसअघि नै सार्वजनिक भएको थियो ।
प्रदेशगत रुपमा सबैभन्दा कम आर्थिक वृद्धिदर बागमति प्रदेशको देखिएको छ । यस वर्ष बागमती प्रदेशमा आर्थिक वृद्धिदर मात्र १.२३ प्रतिशत रहने भएको छ । त्यसो त आर्थिक गतिविधि सबैभन्दा धेरै बागमतीमा हुने गर्छ ।
अर्थतन्त्र र कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ठूलो हिस्सा पनि बागमतीले ओगटेको छ । यस क्षेत्रमा कोरोनाका कारण धेरैजसो आर्थिक गतिविधि पछिल्लो दुई महिनायता ठप्प रहेका छन् ।
यसले आर्थिक वृद्धिदरमा असर गरेको विभागले उल्लेख गरेको छ । विभागले आर्थिक वृद्धि र जीडीपीको प्रक्षेपण गर्दा होटेल तथा रेष्टुरेन्ट र अन्तर्राष्ट्रिय यातायात क्षेत्र यस वर्षको अन्त्यसम्म जाने र अन्य क्षेत्र भने जेठबाट क्रमशः अगाडि बढ्ने अनुमानसहित प्रक्षेपण तयार पारिएको छ ।
कुन प्रदेशको आर्थिक वृद्धिदर कति ?
प्रदेश | आव २०७६/७७ | आव ७५/७६ |
प्रदेश नं १ | ३.४१ | ७.४ |
प्रदेश नं २ | २.२८ | ८.१२ |
बागमती | १.२३ | ६.४ |
गण्डकी | २.६८ | ६.६५ |
प्रदेश नं ५ | २ | ६.७८ |
कर्णाली | ३.५६ | ८.१ |
सुदुरपश्चिम | ४.०८ | ६.९ |
कूल | २.२८ | ६.९९ |
जीडीपीमा बढी योगदान बागमतीबाट, कम योगदान कर्णालीको
नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा भने बागमति प्रदेशबाट सबैभन्दा बढी योगदान भएको पाइएको छ । केन्दि्रय तथ्यांक विभागको आकडा अनुसार चालु आर्थिक वर्ष २०७६/७७ को कूल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान बागमती प्रदेशले गर्ने देखिएको छ । यस प्रदेशले जीडीपीमा ३५.८४ प्रतिशतको योगदान गर्नेछ । सबैभन्दा कम योगदान भने कर्णाली प्रदेशले गर्छ ।
यस प्रदेशको हिस्सा ४.२७ प्रतिशत रहेको छ । तथ्यांकअनुसार प्रदेश १ ले बागमति पछि बढी योगदान गर्ने प्रक्षेपण रहेको छ । यस प्रदेशले जीडीपीमा १५.८२ प्रतिशतको योगदान गर्नेछ । त्यसपछि प्रदेश ५ ले १४.१८ प्रतिशतको योगदान गर्नेछ । प्रदेश २ ले १३.७८ प्रतिशतको योगदान गर्ने विभागको तथ्यांक छ । सुदूरपश्चिम प्रदेशबाट ७.२१ प्रतिशतको योगदान हुने रहेको छ ।
बागमति प्रदेशको जीडीपीमा थोक तथा खुद्रा व्यापारको हिस्सा बढी छ । बागमति बाहेकका प्रदेशमा भने कृषिको हिस्सा बढी रहेको विभागले जनाएको छ । बागमतिमा शहरीकरण, बढी जनसंख्या, राष्ट्रिय तहका ठूला व्यापारिक कारोबारले समेत अर्थतन्त्रको आकार ठूलो भएको हो । बागमती प्रदेशमा घरजग्गा, भाडा तथा व्यवसायिक कारोबारको हिस्सा पनि ठूलो रहेको छ । बागमति प्रदेशमा औद्योगिक क्षेत्रअनुसार सबैभन्दा कम ०.५१ प्रतिशत योगदान रहेको छ ।
प्रतिक्रिया 4