+
+

कोरोनापछिको अर्थतन्त्रमा लघुवित्तको भूमिका

झबिन भण्डारी झबिन भण्डारी
२०७७ जेठ ७ गते १२:०८

तीन दशकभन्दा पहिलेदेखि नै दुर्गम, विकट र निर्धन जनताका बीचमा पुगेर उनीहरूलाई आर्थिक क्रियाकलापमा सरिक गराउने प्रमुख साधन लघुवित्त संस्था नै हो। राज्यको कुनै सुविधा र साक्षरता नभएको बस्तीबस्तीमा आर्थिक क्रियाकलाप सिकाउने नै लघुवित्त हो।

अझ भनौं अहिलेको कमर्सियल बैङ्कको जग अथवा बैङ्कप्रतिको ग्राहकको जनचेतना उठाउने नै लघुवित्त संस्था नै हो। जब देश शान्तिप्रक्रियामा आइसकेपछि राज्यले सहकारी संस्थालाई प्राथमिकतामा ल्यायो । तर, त्योभन्दा दशक पहिलेदेखि नै लघुवित्तहरूले ग्रामीण भेगमा आफ्नो कार्यविस्तार गरेर जनतालाई आर्थिक कारोबारमा सु-सूचित गराइसकेको थियो। तर, विडम्बना नै भन्नुपर्छ, जन्म भएर छोरो ठूलो भएपछि म यस्तै जन्मिएको जस्तो लाग्ने तीन दशक अगाडिको कहालीलाग्दो स्थितिमा लघुवित्तले पुर्‍याएको योगदान न त ग्रामीण स्तर न त राज्य अझ भनौं नीतिनिर्माण गर्ने स्तरबाट पनि लघुवित्तलाई व्यवस्था गरिएको छ।

आखिर समाजलाई दिएको यति ठूलो योगदानको कदर हुनुपर्दैन र ? अहिले विश्व कोरोना भाइरसका कारण अस्तव्यस्त छ। नेपालमा समेत दिनानुदिन संक्रमण बढ्दो छ। विदेशमा अझ खाडी मुलुकमा गएका लाखौं युवाहरूको जागिर गुमेर स्वदेश फिर्ता हुने देखिन्छ। एक तथ्यांकले २० लाख युवा स्वदेश फर्किने बताएको छ। अब यत्रो संख्यामा युवा स्वदेश फर्किए भने उनीहरूलाई व्यवस्थापन गर्न न त राज्यले उचित व्यवस्था मिलाउन सक्ने ठोस नीति छ न त अन्य कुनै निकायले नै व्यवस्थापन गर्न सक्छ।

यसरी विदेशमा जागिर गुमाएर फर्किएका युवाहरू तत्काल विदेश जाने अवस्था छैन । गाउँ घरमा २-४ लाख लगानी गरेर केही गरौं भन्ने इच्छा आउँदा अहिले लगानीका लागि समेत पुँजीको अभाव अवश्य पर्नेछ । त्यो अवस्थामा हजारौं‌को युवाहरू प्रत्येक गाउँमा फर्किँदा पक्कैपनि त्यहाँका पुँजीपति अझ भनौं त्यहाँ स्थानीय सहकारी संस्थाहरूले उनीहरूलाई करोडौंको लगानी गर्न सम्भव छैन। त्यो पुँजी त्यो ठाउँमा जुटाउन प्राय: असम्भव नै छ । यो अवस्थामा स्थानीय निकायले प्रत्येक युवालाई लगानी गर्ने कुरै आउँदैन । कमर्सियल बैङ्कहरूको कार्यक्षेत्र त्यो दुर्गमबस्तीभित्र पर्दैन । परिहाल्यो भने पनि उसको मूल्यांकनले केही भेट्दैन । अब यो अवस्थामा ती लाखौं युवाको गुमेको जागिर र गाउँमै केही गर्छु भन्ने लगानीकर्ता भनेको लघुवित्त स‌ंस्था नै हो।

प्रत्येक गाउँगाउँमा सामूहिक जमानी वा व्यक्तिगत धितो कारोबार सहज र सुलभ तवरले प्रवाह गर्ने संस्था नै लघुवित्त हो। अहिले पनि प्राय: वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यहरूमध्ये अधिकां‌श लघुवित्तमा आबद्ध नै छ। त्यसले गर्दा पनि ती युवा वर्गलाई सहज तवरले पुँजी प्राप्त गर्न सजिलो हुन्छ।

यस्तो भनिरहँदा हाल लघुवित्तमा देखा परेका कैयौं समस्याहरू अब नीतिनिर्माण गर्ने निकाय स्थानीय सरकारले समेत पहलकदमी गर्न सके लाखौ‌ं युवाहरूलाई देशमै कृषिलगायत अन्य पेशामा लगाएर आर्थिक विकासमा टेवा पुर्‍याउन सकिन्छ ।

१. विदेशबाट फर्किएका युवाहरूलाई तत्काल उनीहरूको क्षमता अनुरुप तालिमको व्यवस्था स्थानीय सरकारले संस्थासँग समन्वय गरी संस्थाकाे लगानीका लागि  जमानत बसिदिने,

२. अहिले पनि लाखौं संख्यामा त्यस्ता कर्जामा आनाकानी गरेर कर्जा तिर्न सकारात्मक नदेखिएका सदस्यलाई वर्गीकरण गरेर स्थानीय निकायबाट समेत पहल गर्ने,

३. परियोजनाको वर्गीकरण गरेर ब्याज असुलीसँगै त्रैमासिक र वार्षिक कर्जालाई अझ प्रभावकारी गराउने,

४. राज्यको अनुदान कर्जा समेत लघुवित्त माध्यमबाट प्रवाह गराउने व्यवस्था मिलाउने,

५. हाल प्रवाह गर्दै आएको कर्जा सीमा परियोजना अनुरुप २० लाखसम्म गराउने,

६. हाल लघुवित्तको संख्या धेरै छ। यस्तोमा केही क्षेत्र छुट्याएर काम गर्न सकिन्छ। धेरै लघुवित्तलाई मर्ज गर्न अझ सकारात्मक नीति ल्याउनुपर्छ। जसले गर्दा लघुवित्त स‌ंस्थाको स्थिति अझ मजबुत हुन सक्छ।

विदेशमा रोजगारी गुमाएका लाखौं युवाहरूलाई आफ्नै गाउँठाउँमा प्रर्याप्त लगानी गरेर उनीहरूलाई स्वरोजगार गराउने कार्यमा सबैभन्दा अग्रपङ्क्तिमा लघुवित्त हुन सक्छ। तसर्थ सम्बन्धित सम्पूर्ण निकायहरूले यही समयमा नीति निर्माण गर्नसके देशको अर्थतन्त्र केही हदसम्म बचाइराख्न र लाखौं युवालाई रोजगार निर्माण गर्न सक्छौं।

यसरी नेपालको विकट गाउँबाट दुई जना कर्मचारी राखेर सञ्चालनको सुरूवात गरेको लघुवित्त आज देशको ७७ जिल्लामा विस्तारसहित हजारौं शाखा, हजारौं कर्मचारी ,लाखौं ग्राहक र अर्बौं लगानीसहित एक विशाल उधोगका रुपमा स्थापित छ । जसले लाखौं‌ लगानीकर्ता, हजारौं कर्मचारी र लाखौं स्थानीय विपन्न ग्राहक वर्गको परिवार आश्रित भई बाँच्ने जीवन साहाराको रूपमा स्थापित र अर्बौ राजस्व सरकारमा जम्मा गरी योगदान गरेको यस क्षेत्रलाई यस परिस्थितिबाट निरन्तर र निर्वाध सेवाको लागि स्थानीय बुद्धिजीवी, तीनै तहका सरकार, पत्रकार र सबै सरोकारवालाले सहज समन्वयगरी व्यवस्थित रुपमा अगाडि बढाउन हातेमालो गर्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?