
१७ जेठ, काठमाडौं । सुत्केरी व्यथा लागेपछि ललितपुर, सुनाकोठीकी २३ वर्षीया महिला ११ जेठमा इमाडोलस्थित किस्ट अस्पतालमा भर्ना भइन् । उनको नर्मल डेलिभरी नहुने भयो, सिजरिङ गर्नुपर्ने चिकित्सकहरुले बताए ।
अस्पतालले ओटी गर्ने हरेक बिरामीको पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने गरेको छ । त्यसअनुसार उनको पनि थ्रोट स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठायो । रिपोर्ट आउन ढिला भयो ।
अस्पतालमा भर्ना भएकी महिलालाई कुनै लक्षण थिएन । रिपोर्ट आउन पनि अझै समय लाग्ने भएपछि अस्पतालले १२ गते सिजिरिङ डेलिभरी गरायो ।
बच्चालाई निओन्याटल आईसीयूमा राखियो । बच्चा र आमा दुवैको स्वास्थ्यमा सुधार आइरहेको थियो । तर १४ गते त्यही उपचाररत ५७ वर्षीय पुरुषको कोरोना संक्रमण कारण मृत्यु भएपछि अस्पतालले सुत्केरी महिलालाई डिस्चार्ज गर्ने निर्णय गर्यो । उनी १५ गते घर गइन् ।
शनिबार आएको रिपोर्टमा सुत्केरी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै अस्पतालका चिकित्सकसहित ४५ जनालाई क्वारेन्टाइनमा राख्नु पर्ने भएको छ । ‘पहिलो केसका कारण हाम्रा स्टाफहरुको एउटा टिम क्वारेन्टाइनमा छ’ किस्ट अस्पतालका चिफ अपरेसन अफिसर अमिस पाठकले अनलाइनखबरसँग भने, ‘अब फेरि प्राइमरी कन्ट्याकमा रहेका ४५ जनालाई क्वारेन्टिनमा राख्नु पर्ने भएको छ ।’
उनअनुसार आपरेसनका क्रममा चिकित्सकसहित सबैले लेभल थ्रीको पीपीई र एन९५ मास्क लगाएका थिए । तर संक्रमितको कन्ट्याकमा उनीहरु पनि पर्ने भएकाले चिकित्सकसहित सबैलाई क्वारेन्टाइन गर्नुपर्ने भएको छ ।
पाठक भन्छन्, ४/५ घण्टामा आउने रिपोर्टलाई ६/७ दिन लगाइदिँदा धेरै नै समस्या भएको छ । यसले अस्पतालको ओटी नै प्रभावित हुन्छ ।’
प्रतिक्रिया 4