+
+
नागरिकता कानुनको नयाँ प्रावधान :

‘बुहारी’ले नेपालको पीआर पाउँछिन्, पासपोर्टका लागि दूतावास जानुपर्छ !

लालबाबु पण्डितले घुसाए पीआर खारेजीको प्रावधान

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ८ गते २१:५७

८ असार, काठमाडौं । प्रस्तावित नागरिकता विधेयकमाथि लामो माथापच्ची गरिरहेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गत मंगलबार विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेको ७ वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता लिन सक्ने प्रावधान प्रस्ताव गर्‍यो ।

आइतबार यो प्रस्ताव समितिबाट पारित नै भइसकेको छ । सात वर्षसम्म वैवाहिक अंगीकृत नागरिकता नपाउने महिलाहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्ने गरी स्थायी आवासीय (पीआर) परिचयपत्र दिने निर्णय समितिले गरेको छ ।

समितिबाट यस्तो प्रतिवेदन पारित हुनुअघि शनिबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पनि सात वर्षसम्म वैवाहिक अंगीकृत नागरिकता नदिने तर पीआर परिचयपत्र दिने निर्णय गर्‍यो।

आखिर नेपालीसँग बिहे गर्ने विदेशी महिलालाई दिइने भनिएको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारभित्र के-के पर्छन् ? यसको सूची न त राज्य व्यवस्थाले बनाएको थियो, न नेकपाको सचिवालयले नै ।

परिचयपत्र दिने प्रस्ताव अमूर्त एवं उधारो प्रकारको थियो ।

यहीबेला विपक्षी नेपाली कांग्रेस र मधेश केन्द्रित दलहरूले ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने प्रस्तावको विरोध गरिरहेका थिए । मधेशी समुदायमा त यसले एक प्रकारको तरंग नै पैदा गरेको थियो । जसले गर्दा नेकपा सरकार र संसदीय समिति दुवै मनोवैज्ञानिक दबाबमा परे ।

बिहे गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने निर्णय गर्दा मधेशमा आन्दोलन नै पो हुन्छ कि भन्ने डर नेकपा नेताहरूलाई थियो । त्यसैले हतार-हतार स्थायी आवासीय (पीआर) परिचय पत्र पाउने विदेशी महिलाले के-के अधिकार उपभोग गर्न पाउँछन् भन्ने सूची बनाउने निर्णय नेकपा नेताहरूले गरे ।

‘हामीले त पछि नियमावली बनाएर यसलाई टुङ्ग्याउने सोचेका थियौं’ समिति स्रोतले अनलाइनखबरसँग भन्यो, ‘तर पाएको अधिकार पनि खोस्न खोजियो भन्ने ढंगले प्रचार गर्न खोजिएपछि हामीले हतार-हतार यसलाई नागरिकतासम्बन्धी ऐनमा नै समेट्ने गृहकार्य गरेका हौं ।’

स्रोतका अनुसार आइतबार बिहानै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, दीनमणि पोखरेल र रमेश बडाललाई राज्य व्यवस्था समितिको सचिवालयमा बोलाइयो । सभापति शशि श्रेष्ठलगायतका नेकपा सांसदहरूले वकिलहरूसँग छलफल गरे ।

त्यसपछि हतार-हतार पीआर परिचयपत्रवाहकले पाउने अधिकारहरूको सूची तयार पारी त्यसलाई समितिको प्रतिवेदनमा समेटियो । अन्ततः नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलाले ७ वर्षसम्म वैवाहिक अंगीकृत नागरिकता नपाए पनि देहायका अधिकारहरू पाउने प्रावधान नागरिकतासम्बन्धी विधेयकमा समेट्ने गरी प्रतिवेदन तयार भएको छ-

  • चल-अचलसम्पत्ति आर्जन गर्न, भोगचलन गर्न, बेचबिखन गर्न, व्यावसायिक लाभ प्राप्त गर्न र सम्पत्तिको अन्य कारोबार गर्न
  • पेसा र व्यवसाय सञ्चालन गर्न
  • उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्न
  • जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद, बसाइँसराइजस्ता व्यक्तिगत घटना दर्ता गर्न
  • सेवाग्राहीको हैसियतले कानुनबमोजिमका निकायबाट प्राप्त गर्ने सुविधा, छुटजस्ता सेवा उपभोग गर्न
  • कुनै पनि शैक्षिक संस्थामा अध्ययन गर्न, प्रमाणपत्र प्राप्त गर्न र अन्य आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्न
  • राष्ट्रिय परिचय पत्र प्राप्त गर्न
  • पासपोर्टका लागि दूतावास जानुपर्ने

राज्य व्यवस्था समिति र सत्तारुढ नेकपा सचिवालय दुवैले भनेका थिए, नेपालीसँग बिहे गर्ने विदेशी महिलालाई राजनीतिकबाहेकका सबै अधिकार दिने । राजनीतिक अधिकार भन्नाले चुन्ने र चुनिने अधिकार पर्छन् । तर पीआर परिचयपत्रवाहकले राजनीतिकबाहेक अरू पनि थप केही अधिकारहरू नपाउने बन्देजसहितको प्रतिवेदन कानुनविद‍्हरूको परामर्शमा राज्यव्यवस्था समितिले तयार पारेको छ ।

जस्तो, उनीहरूले नेपाल सरकारको कर्मचारी हुन लोकसेवा आयोगको परीक्षामा सहभागी हुन पाउने छैनन् । अनि विदेश जान चाहिने पासपोर्ट पनि बनाउन पाउने छैनन् । अर्थात् उनीहरूले नेपालको अंगीकृत नागरिकता नलिएसम्म जुन देशका हुन्, त्यही देशको पासपोर्ट बनाएर मात्रै विदेश जानुपर्ने हुन्छ । श्रीमान‍्ले पाएको पासपोर्ट बोक्दा श्रीमतीले विदेशकै पासपोर्ट बोक्नुपर्नेछ।

स्रोतका अनुसार स्थायी आवासीय परिचयपत्र (पीआर) को अधिकार सूची तय गर्नेबेलामा पासपोर्टको विषयमा पनि छलफल भएको थियो । समिति स्रोतले अनलाइनखबरसँग भन्यो, ‘हामीले यो पनि हेरेका थियौं । तर यसका लागि एउटा त अलग्गै व्यवस्था गर्नुपर्ने रहेछ । अर्को विभिन्न देशको अभ्यास हेर्दा पनि पीआर दिए पनि पासपोर्ट तत्काल नदिइने रहेछ ।’

‘हाम्रै देशका थुप्रै युवा विदेश गएका छन् । उनीहरूले सम्बन्धित देशको पीआर लिएका छन्, तर पासपोर्ट नेपालकै बोकेर हिँडेका छन्, समितिका एक सदस्यले भने, ‘त्यसैले पासपोर्ट मुख्य समस्या होइन भन्ने भएपछि यसलाई अधिकारमा राखिएन ।’

उनले अगाडि भने ‘भोलिका दिनमा नेपाली पुरुषसँग विवाह गर्ने महिलाले पनि सात वर्ष नेपालमा स्थायी बसोबास गरेर अंगीकृत नागरिकता नलिँदासम्म पीआर पाउँछन् । विदेश जानुपर्ने भयो भने आफ्नै देशको दूताबासमार्फत पासपोर्ट बनाउँछन् ।’

सरकारी कर्मचारीको हकमा भोलिका दिनमा उनीहरू मुख्यसचिव पनि हुन सक्ने सम्भावना भएकाले पीआर पाए पनि लोकसेवा लड्न पाउने व्यवस्था नराखिएको स्रोतको दाबी छ ।

सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिनुपर्छ भनेर लबिङ गर्दै आएका नेकपाका एक सांसद भन्छन्, ‘सकेसम्म कसैको पनि अधिकार कुण्ठित नगरौं भनेर प्रयास गरेका छौं । यदि यसमा केही थपघट गर्नुपर्ने भएछ भने केही नेपाल ऐन संशोधन गरेर सम्बोधन गर्ने बाटो छँदैछ । त्यसैले कार्यान्वयन गरेर हेरौं ।’

तर प्रदेश २ सरकारका मुख्यन्यायाधिवक्ता समेत रहेका एव‌ं नागरिकताका विषयमा कलम चलाउँदै आएका दीपेन्द्र झा पीआरसम्बन्धी व्यवस्थालाई नागरिकता ऐनमा घुसाउन नहुने बताउँछन् । ‘स्थायी आवासीय अनुमति पत्र नै दिने हो भने यसका लागि परिचयपत्रसम्बन्धी छुट्टै कानुन ल्याउनुपर्छ’ उनले भने, ‘नागरिकता ऐनमा घुसाएर भुलभुलैयामा पार्न खोजिएको त होइन ?’

ऐन नै आएको अवस्थामा पनि स्थायी आवासीय परिचय पत्रवाहकलाई दिइएको अधिकारले व्यावहारिक समस्याहरू सम्बोधन गर्न नसक्ने झाको तर्क छ । उनले अनलाइनखबरसँग भने, भोलि बिहे गरेर विदेश जान खोज्यो भने के गर्ने ? अनि लोकसेवाको परीक्षामा सहभागी हुन पाउने कि नपाउने ? यस्तै धेरै समस्या आउँछन् ।’

लालबाबु पण्डितले घुसाए पीआर खारेजीको प्रावधान

यसैबीच प्रस्तावित नागरिकता विधेयकमा नेपालीसँग बिहे गर्ने विदेशी महिलाले पाउने पीआर परिचय पत्र सरकारले खारेज गरिदिने सक्ने प्रावधान पनि राखिएको छ ।

नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलाले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितविरुद्धमा अभिव्यक्ति दिएमा निजको पीआर परिचयपत्र सरकारले जुनसुकै बेला खारेज गर्नसक्ने प्रावधान समितिको प्रतिवेदनमा समेटिएको छ। यो प्रावधान मूल ऐनको दफा १४ को नागरिकता खारेजीसम्बन्धी व्यवस्थामा समेटिएको छ ।

स्रोतले अनलाइनखबरसँग भन्यो, ‘समितिको सचिवालयमा वकिलहरूसँग छलफल हुँदै गर्दा यो विषय उठेको थिएन तर सांसद लालबाबु पण्डितले बीचमा यो प्रावधान घुसाउन लगाउनुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?