+
+

तिलोत्तमामा बाँझो रहने खेतमा धमाधम रोपाइँ

टोपराज शर्मा टोपराज शर्मा
२०७७ असार ९ गते १०:५५

९ असार, बुटवल । रुपन्देहीको तिलोत्तमा–८ का निर्मल अर्यालले घडेरी बनाई बिक्री गर्ने प्रयोजनले वडा नं. १७ गंगोलियामा किनेको एक बिघा भन्दा बढी खेत केही वर्षयता बाँझो थियो । असारको शुरुवातमै उनको खेतमा यसपालि अरु कसैले धान रोपे । आफ्नो खेतमा आफूलाई जानकारी नै नदिई अरुले नै धान रोपेको थाहा पाएपछि उनी हतारहतार आफ्नो खेतमा पुगे । त्यहाँ पुगेपछि मात्रै उनलाई थाहा भयो–कसैले आफ्नो जग्गा हडपेर/कब्जा गरेर धान रोपेको नभई नगरपालिकाको निर्णयका आधारमा गरिएको रहेछ ।

निर्मलले भने, ‘नगरपालिकाले गरेको निर्णय राम्रो लाग्यो, अब जग्गा बिक्री नहुँदासम्म धान रोप्नेलाई नै खेती गर्न दिन्छु ।’

तिलोत्तमा नगरपालिकाले कोरोना महामारीले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावसँग जुध्न खेतीयोग्य जमिन बाँझो नराख्ने निर्णय गरेको छ । सोही निर्णयअनुसार तिलोत्तमा नगरपालिकामा कैयौं वर्षदेखि बाँझो रहेका जमिनमा यस वर्ष धमाधम धान रोपाइँ भइरहेको छ । तिलोत्तमा नगरपालिकाले खेतीयोग्य जमिन बाँझो राख्ने जग्गाधनी आफैंले खेती नगरे संधियार वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेपछि बाँझो रहंदै आएका खेतमा यसपटक धमाधम रोपाइँ भएको हो ।

‘दश–पन्ध्र धुरसम्मका साना घडेरीबाहेक एक कठ्ठादेखि धेरै क्षेत्रफलका अधिकांश बाँझो जग्गामा तरकारी खेती र धान खेती शुरु भएको छ, पहिलो वर्षमै खेतीयोग्य जमिन बाँझो नराख्ने नीतिको सकारात्मक प्रभाव परेको छ,’ नगर प्रमुख बासुदेव घिमिरेले भने, ‘कोरोना महामारीले उत्पन्न गरेको परिस्थितिका कारण निकट भविष्यमा हुन सक्ने खाद्य संकटसँग जुध्न मात्र नभई दीर्घकालीनरुपमा राम्रो गर्नेछ ।’

तीव्र शहरीकरण भैरहेको तिलोत्तमामा घडेरीको रुपमा विकास भएका जग्गा बाँझो छाडिएका छन् । यस्तै जग्गालाई लक्षित गरी नगरपालिकाले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले बताए ।

यो निर्णयसँगै आफ्नो घर वरिपरि भएका खाली जग्गामा मौसमी खेती गर्न तिलोत्तमाबासीलाई बाटो खुलेको छ । यो वर्ष धान, तरकारीलगायत कृषि उत्पादन बढ्ने नगरपालिकाको विश्वास छ । कुल खेतीयोग्य जमिन ८ हजार ४ सय ४९ हेक्टरमध्ये ८ सय ४५ हेक्टर जग्गा बाँझो रहने गरेकोमा अहिले त्यसको झण्डै ६० प्रतिशतमा धान रोपाइँ र केही जग्गामा तरकारी खेती भएको छ । यस वर्ष जेठ दोस्रो साताबाटै तिलोत्तमामा रोपाइँ शुरु भएकोमा असार पहिलो सातासम्म आधाभन्दा बढी खेतमा रोपाइँ सकिएको छ ।

लकडाउनको कारण नगरबासीहरु फुर्सदिला रहँदा धान रोपाइँ विगतका वर्षमा भन्दा यो वर्ष छिटो सकिने कृषि शाखा प्रमुख दोमलाल भुसालले बताए ।
खासगरी घडेरी÷खेत किनेर छाड्नेहरुको कारण तिलोत्तमाको जग्गा बाँझो रहेकोमा नगरपालिकाको निर्णयले बाँझो जग्गा क्रमशः कम हुँदै जाने देखिन्छ । नगरपालिकाले गत वैशाखमा सूचना जारी गरी बाँझो जग्गामा जग्गाधनीले १५ दिनभित्र बाली लगाउन आवश्यक व्यवस्था नगरे सम्बन्धित टोल विकास संस्था र वडा कार्यालयमा जानकारी गराएर व्यक्ति, कृषि फार्म, सहकारी, कृषक समूह वा सञ्जालले खेती गर्न सक्ने छन् । तर यसरी खेती गर्दा जग्गाको साँध, सीमाना, बनावट बिगार्न नहुने नगरपालिकाले स्पष्ट पारेको छ ।

यसरी गरिने खेतीमा जग्गा धनीको कुनै हक नलाग्ने र जग्गाधनी आफैंले जग्गा उपयोग गर्न चाहेमा ४५ दिनअघि नै खेती गर्नेलाई त्यसको जानकारी दिनुपर्ने नगरपालिकाको नियम छ । यो निर्णयले वर्षौंसम्म जग्गा बाँझो रहने तर संधियार वा छिमेकीले त्यो जग्गामा खेती गर्न नपाउने अवस्थाको अन्त्य गरेको छ ।

यसरी खेती गरिने जग्गाको नियमानुसार लाग्ने कर जग्गाधनीले तिर्नुपर्ने र जग्गाधनीको अवरोधको कारणले भूमि बाँझो रहेमा जरिवाना गर्ने नगरपालिकाको नियम छ ।

१२६ वर्ग किलोमिटर रहेको तिलोत्तमामा वार्षिक धान २२ हजार ४६० मेट्रिक टन, गहुँ ८ हजार एक सय मेट्रिक टन, तरकारी ४१ हजार ४५० मेट्रिक टन, मकै २ हजार ४५० मेट्रिक टन उत्पादन हुने गरेको कृषि शाखाले जनाएको छ । कृषिको उत्पादकत्व बढाउन विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेको तिलोत्तमाले यसअघि नैं भारतीय तरकारी र फूलको प्रयोगमा रोक लगाएको छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?