+
+

गैडहवामा पाँच करोड बढी लगानीका उद्योगलाई सबै कर छुट

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ९ गते १६:५९

९ असार,बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकाले कृषि, स्वास्थ्य र पर्यटनलाई मुख्य प्राथमिकतामा राखी नीति तथा कार्यक्रम ल्याएको छ । पर्यटनलगायतका उद्योगमा लगानी आकर्षित गर्न ५ करोड बढी लगानीका उद्योगलाई ५ वर्षसम्म सबै स्थानीय कर नलिने नीति बनाइएको छ ।

गाउँपालिकाको छैठौं गाउँसभामा नीति तथा कार्यक्रम पेस गर्दै गाउँपालिका प्रमुख बच्चुलाल केवटले बुद्धजन्मस्थल लुम्बिनीबाट १३ किलोमिटर दुरीमा रहेको गैडहवामा पर्यटन र कृषि लक्षित उद्योगहरुको सम्भावनालाई मध्यनजर गरी कर छुटको नीति लिइएको स्पष्ट पारे ।

‘गाउँपालिकाले ५ करोड बढी लगानीका उद्योगलाई ५ वर्षसम्म व्यवसाय कर,रजिस्ट्रेसन कर,सेवा शुल्क, रोयल्टी, पर्यावरण तथा पर्यटन शुल्क आदि सम्पूर्ण कर छुट दिनेछ,’ अध्यक्ष केवटले भने, ‘हाम्रो नीतिले लगानीमैत्री वातावरण सिर्जना गरी शहरकेन्दि्रत लगानीलाई गाउँमा भित्राउन प्रेरित गर्नेछ ।’

उत्कृष्ट कृषकलाई पुरस्कृत गरिने

कृषिमार्फत गाउँको समृद्धिका सम्भावनाहरु प्रर्याप्त भएको उल्लेख गर्दै अध्यक्ष केवटले ‘एक गाउँ,एक उत्पादन’ कार्यक्रमलाई कार्यान्वयन गर्दै जाने र कृषि स्मार्ट गाउँ कार्यक्रमलाई विस्तार गर्ने नीति गाउँपालिकाले लिएको छ ।

कृषिमा युवा विशेष कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउँदै लैजाने, उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गर्ने नीति छ ।

सिँचाइ पुगेका क्षेत्रहरुमा सघन बाली विकास कार्यक्रम संचालन गर्ने, कृषि बाली, पशुबस्तु तथा क्षेत्र विशेष मूल्य श्रृंखला विकास गर्दै कृषकलाई बजारको सुनिश्चिता गर्न बजार पूर्वाधार बिकास आयोजना संचालन,कृषि र पशुपालन क्षेत्रमा हुनसक्ने क्षतिको न्युनीकरण, उद्धार तथा राहतका कार्यक्रम संचालन, कृषि तथा पशुपन्छी विमामा कृषकको पहुँच बृद्धि गर्ने गाउँपालिकाको नीति छ ।

कृषि क्षेत्रमा दिंदै आएको विभिन्न अनुदानलाई निरन्तरता,चैते धान खेती गर्ने कृषकहरुलाई प्रोत्साहन,स्थानीय कृषकहरुसँग जोडिएका रैथाने विउविजन, ज्ञान,सिप र प्रविधिलाई संरक्षण गर्दै आधुनिक एवं व्यवसायीक कृषि र अर्गानीक खेतीलाई पनि प्राथमिकता दिने नीति छ ।

युवालाई पशुपालन तालिम

युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न युवा लक्षित गाई भैंसी पालन,भेडा-बाख्रा पालन, कुखुरापालन, मत्स्य पालन सम्बन्धी तालिम,अनुदान र जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने गाउँपालिकाले नीति लिएको छ । फिस सुपर जोन कार्यक्रमलाई विस्तार,कृत्रिम गर्भाधान, वर्णशंकर पशु उत्पादनमा जोड दिइने तथा पशु शिविरहरु संचालन गर्ने नीति छ ।

लुम्बिनी आउने पर्यटकलाई होम स्टेमा राखिने

संघीय तथा प्रदेश सरकारको समन्वयमा गैडहवा तालको संरक्षण,सम्बर्द्धन,सौन्दर्यीकरण गरी राष्ट्रियस्तरको पर्यटकीय स्थलको रुपमा विकसित गर्ने, गाउँपालिकाभित्र रहेका तुल्सीहवा ताल, शहिद पार्क, रामजानकी मन्दिर, यशोधरा मन्दिर,बाल उद्यानलगायतलाई पनि पर्यटकीय क्षेत्रको रुपमा विकास गरी लुम्बिनी आउने पर्यटकलाई गैडहवासम्म ल्याई होमस्टेमा बास बसाल्ने गाउपालिकाको नीति छ ।

प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरी सुविधासम्पन्न यशेधरा पार्क निर्माण गरी राष्ट्रियस्तरको पर्यटकीय स्थलहरुको रुपमा विकसित गर्ने,गैडहवालाई भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रवेशद्वारका रुपमा विकास गरी आन्तरिक तथा वाह्य पर्यटकलाई आकषिर्त गर्ने नीति लिइएको प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी घिमिरेले बताए ।

२० वर्षे बालिका बिमा

लैङ्गकि समानता तथा सामाजिक समावेशीकरणका लागि छोरी बचाउ, छोरी पढाउ अभियान अन्तर्गत गर्भर्मा छोरी पहिचान गरी गर्भ पतन गराउने परिपाटीको अन्त्य गर्ने र बालबिवाहालाई निरुत्साहित गर्दै छोरीप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्न जन्मेका बालिकाको २० वर्षे बालीका बिमाको व्यवस्थालाई निरन्तरता दिइएको छ ।

३० प्रतिशत राजस्व वडामै

गाउपालिका भित्र रहेका ९ वटै वडाको समानुपातिक विकासका लागि वडाबाट उठ्ने राजस्वको ३० प्रतिशत रकम सोही वडामै राखेर वडाको विकास गर्ने नीति छ । .

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन गराउने नीति लिइएको छ ।

माध्यमिक विद्यालयहरुमा प्राविधिक धारको कक्षा संचालन,शिक्षामा सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहन, विद्यालयमा विद्युतीय हाजिरी, इमेल इन्रटनेट र विद्युतीय पुस्तकालयको विकास गर्ने नीति छ ।

सबै विद्यालयमा साबुन पानी र सेनेटाइजर

कोरोना जस्ता उच्च महामारीको जोखिमबाट बचाउन प्रत्येक बिद्यालयहरुमा साबुन पानी र सेनेटाइजरको ब्यवस्था, प्रत्येक बिद्यालयहरुमा स्वास्थ्य शिक्षा तालिम संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

विपन्नलाई उपचार गर्न आर्थिक सहायता कोष स्थापना

स्वास्थ्य उपचार गर्न नसक्ने अति विपन्न नागरिक, हिंसा पीडित महिला, कुपोषित बालबालिका लगायत नागरिकलाई राहत स्वरुप प्रदान गर्न आर्थिक सहायता कोष स्थापना, आयुर्वेद उपचारलाई व्यवस्थापन गर्न विशेष कार्यक्रम,सबै स्वास्थ्य संस्थाहरुलाई अपाङ्ग, किशोर,किशोरीमैत्री बनाइने, गरिव तथा विपन्नको लागि एम्वुलेन्स खर्च निःशुल्क गर्ने

र गाउंपालिकाको कुनै एक वडालाई घरमा सुत्केरी हुने दरलाई शुन्यमा झारिने नीति छ ।

रोग बल्झिएका क्षयरोगका विरामीलाई पोषण भत्ताको व्यवस्था,पन्” शैयासम्मको अस्पताल निर्माण,स्वास्थ्य सूचना प्रणालीको चुस्तताको लागि डीएचआईएस प्रणालीलाई प्रभावकारी बनाइने,जेष्ठ नागरिकलाई निःशुल्क रुपमा आयुर्वेद उपचार र सुत्केरी आमाहरुलाई दुग्धवर्धक आयुर्वेद औषधि वितरण,लोन्डिहवा तथा अहिरन्डिहमा आयुर्वेद क्लिनिकलाई निरन्तरता, सिकलसेल एनिमिया तथा थालासेमिया रोग सम्बन्धी उपचार तथा सामाजिक व्यवस्थापकीय कार्यक्रम चलाइने नीति छ ।

कोभिड-१९ रोगको व्यवस्थापनका लागि विशेष कार्यक्रम बनाउने र ८० वर्ष उमेर पुगेका वृद्धहरुको लागि घरदैलोमा स्वास्थ्य उपचार सेवा संचालन गर्ने गाउंपालिकाको नीति छ ।

राष्ट्रिय खेलकुदमा भाग लिनेलाई आर्थिक सहायता

खेलकुदको विकासका लागि गाउँपालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगितामा संचालन,अर्धवाषिर्क रुपमा विद्यालय स्तरीय खेलकुद प्रतियोगिता संचालन र राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने टिमलाई आर्थिक सहायता प्रदान गर्ने गाउपालिकाको नीति छ ।

फुसको छानो रहित बनाइने

गैडहवा गाउँपालिकालाई क्रमशः फुस (खर) को छानो रहित बनाउन गाउँपालिका वस्ती सुधार कार्यक्रम संचालन गर्ने नीति छ । फुसको छानो भएका अति विपन्न परिवारको लागि आवश्यक बजेट विनियोजन गरी फुसको छानो हटाई टिनको छानो लगाउने कार्यलाई निरन्तरता दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?