+
+

लफडाबाजीको क्लाइमेक्समा सिनेमा जगत, निसाफको खोजी

शिव मुखिया शिव मुखिया
२०७७ असार २६ गते ८:३५

कोरोनाबाट थलिएको नेपाली सिनेमा क्षेत्र अब कसरी गतिशील होला ? मानवीय संकट र मानसिक विचलनको यो घडीमा कस्तो सिनेमा खोजिएला ? छायाङ्कनको बन्दोबस्ती, प्राविधिक जनशक्ति पुनःस्थापन, बजेट व्यवस्थापन, हल सञ्चालन कसरी होला ?

एकातिर धीमा आवाजमा यिनै विषयमाथि विमर्श भइरहेको थियो । तर अर्कोतिर उठेको कर्कस ध्वनिले एकाएक नेपाली सिनेमामा कोलाहल पैदा गरिदियो । यसको उद्घाटन ‘नपोटिज्म’बाट भयो ।

भारतीय अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यालाई लिएर बलिउडमा ‘नेपोटिज्म’को आँधी उठ्यो र त्यसको बाछिटा नेपाली सिनेमासम्म आइपुग्यो । यससँगै ‘अंकल समानका अभिनेताबाट आफूमाथि दुर्व्यवहार भएको’ भनी पछिल्लो छिमलकी एक अभिनेत्रीले दिएको आक्रामक अभिव्यक्तिसँगै अर्को तमासाको पर्दा उघ्रियो । यता ‘महानायक’को टर्रो बहस सतहमा आयो । यसको पराकम्प मत्थर हुन पाएकै थिएन, कलाकारको ‘सामान्य ज्ञान’बारे प्रश्नोत्तरले फेरि जग हँसाइदियो ।

नेपाली सिनेमामा ‘नेपोटिज्म’ वा ‘ग्रुपिज्म’ छ/छैन ? यो वृत्तमा कास्टिङ काउचको खेल हुन्छ कि हुँदैन ? अभिनेत्रीले लगाउने यौन दुर्व्यवहारको आरोपलाई कसरी लेखाजोखा गर्ने ? कलाकारलाई देश–कालबारे कति ज्ञान हुनुपर्छ ? महानायक कसलाई भन्ने ? सदाबहार र सार्थक बहसका विषय हुन् यी । तर अहिले यसबारे जसरी गन्थन-मन्थन भइरहेका छन्, त्यसले एक–अर्कामा वैरभाव र विखण्डन ल्याउनेभन्दा अरू कुनै निचोड दिनेवाला छैन । कुण्ठा, द्वेष, ईर्ष्या, आरोप-प्रत्यारोपको अस्त्रले यो महाभारतलाई अरू ध्वंसात्मक बनाउनेछ, कुनै निष्कर्षमा पुर्‍याउने छैन ।

कलाकारको सामान्य–ज्ञान

एक टेलिभिजन कार्यक्रममा अभिनेत्री पूजा शर्मालाई सोधिन्छ ।

–‘हाम्रो अर्थमन्त्रीको नाम के हो ?’

जवाफ आउँछः खोइ !

–‘नेपालमा कतिवटा जिल्ला छ ?’

जवाफः १४ वटा

–‘सञ्चारमन्त्रीको नाम के हो ?’

जवाफः निकिता पौडेल होला ।

सेलिब्रेटीसँगको अन्तर्वार्तामा लोकसेवा आयोगको परीक्षा लिए जसरी यस्ता प्रश्नहरू किन सोधिए, यो मूल प्रश्न होइन । प्रश्न त के भने, मिडिया/च्यानल, कार्यक्रमको प्रकृति वा प्रारूप के हो ? त्यहाँ गम्भीर विमर्श एवं विवेचना हुन्छ वा हल्का रमाइलो ?

यी प्रश्नहरू विभिन्न आशयले सोधिएका हुन सक्छन् । तर उत्तरदाताले कुनै विद्यालयका आज्ञाकारी विद्यार्थीले जस्तै सबै प्रश्नको हुबहु एवं दुरुस्त जवाफ दिनुपर्छ भन्ने छैन । कतिपय प्रश्नलाई गम्भीरतापूर्वक जवाफ फर्काउनुपर्ने हुन्छ, कतिलाई कूटनीतिक जवाफ दिएर टार्नुपर्ने हुन्छ, कतिलाई ठट्यौली पाराले उडाइदिनुपर्ने हुन्छ, कतिलाई प्रतिप्रश्न गरेर अड्को लगाउनुपर्ने हुन्छ ।

कुनै पनि व्यक्ति सबै कुरामा परिपूर्ण र पोख्त हुँदैनन् । आफूले काम गरिरहेको वा आफ्नै क्षेत्रमा समेत कतिपय अनभिज्ञ हुन्छन् । निश्चय पनि एक नेतालाई सोही कुर्सीमा राखेर ‘फलानोले अभिनय गरेको चलचित्र कुन हो ?’ ‘फलानो मितिमा सुपरहिट भएको चलचित्र कसले निर्देशन गरेका हुन् ?’ भनेर सोधिने हो भने फटाफट जवाफ पक्कै आउने छैन ।

तर यसो भन्दैमा कुनै पनि कलाकार देश-काल-परिस्थितिबाट पूर्णविच्छेद वा बेखबर हुनु स्वाभाविक मान्न सकिँदैन । आफ्नो भूगोल, इतिहास, कलाबारे उत्सुक नहुँदा, समाजको प्रवृत्ति र मनोविज्ञान बुझ्न तत्पर नहुँदा, रीतिथिति, संस्कार, संस्कृतिप्रति गहन चाख नहुँदा एउटा कलाकार फुस्रो र फिका बन्ने जोखिम रहन्छ । उसले आफ्नै कलाको आयामलाई समेत बुझ्ने सामर्थ्य राख्दैन । यो अज्ञानता र अरूचिले ती कलाकारलाई माथि उठ्ने र फैलने ठाउँ दिँदैन ।

परिवारवाद र गुटबन्दी

‘नेपोटिज्म’को बहस उत्कर्षमा पुग्दै गर्दा अभिनेता/निर्माता दीपकराज गिरीले रक्षात्मक जवाफ फर्काए, ‘हामीकहाँ नेपोटिज्म होइन, नेप्टोजम र चेप्टोजमको समस्या छ ।’ प्रतिभा र प्रवृत्तिका हिसाबले अधकल्चो र अप्ठ्यारो व्यक्तिमाथि उनको कटाक्ष केन्द्रित छ ।

आफ्नै अक्षमताले मान्छेलाई अगाडि बढ्न दिँदैन । उसैगरी विसंगत परिपाटीले पनि मान्छेलाई पछाडि धकेल्छ । ‘नेपोटिज्म’को बहसमा उत्रिएका कलाकर्मीहरू वास्तवमै परिवारवाद र गुटबन्दीको शिकार भएका हुन् वा आफ्नै कमजोरीले अगाडि बढ्न नसकेका ? गुणवत्ताको तराजुमा जोख्नुपर्ने हुन्छ । या त निर्देशक दीपेन्द्र लामाले भनेजस्तै ‘नेपोटिज्म’को बहस गर्नेगरी नेपाली सिनेमाले यश–ऐश्वर्य आर्जन गरेकै छैनन् ?

नेपाली सिनेमामा अहिले बेग्ला–बेग्लै समूहको झुण्ड चलायमान छन् । जस्तो, दीपाश्री–दीपकराजको समूह, हरिवंश–मदनकृष्णको समूह, प्रदीप भट्टराई–रविन्द्र सिंह बानियाको समूह, रामबाबु गुरुङ–दयाहाङ राईको समूह । निश्चल बस्नेत, भुवन केसीहरू पनि यसरी नै आ–आफ्नो समूह बनाएर काम गरिरहेका छन् ।

अर्कोतिर झरना थापा, अशोक शर्मा, करिष्मा मानन्धर, शिव श्रेष्ठहरू आफ्ना छोरा–छोरीलाई ‘स्टार’ बनाउने दौडधुपमा छन् । यो पृष्ठभूमिमा अभिनेत्री नम्रता सापकोटाको गुनासो कति यथार्थ नजिक छ ? उनी लेख्छिन्, ‘कला र कलाकारितालाई भन्दा पनि आफ्नोलाई सपोर्ट हुन्छ यहाँ ।’

अभिनेता नाजिर हुसेन सारमा यस्तो लेख्छन्, ‘परिवारवाद र गुटबन्दीकै कारण प्रतिभाशाली कलाकार लाखापाखा लागेका छन् । कलाकार, ब्यानर, युट्युबर्स, न्युज च्यानलको आ-आफ्नै गुटबन्दी छ । त्यो गुटभन्दा बाहिरका संघर्षशील कलाकारको कामको सम्मान गरिएको छैन ।’

अभिनेत्री वर्षा सिवाकोटीले आफ्नो जीवन-भोगाइ जोड्दै नेपोटिज्मको बहसमा आफूलाई मिसाएकी छन् । उनको निचोड सान्दर्भिक छ, ‘कामप्रतिको लगाव, मेहनत र समर्पण भएमा जस्तोसुकै वादले पनि रोक्न वा छेक्न सक्दैन ।’

राजेश हमाल शैली हाबी भइरहँदा नै हो, घरेलु दर्शकले नेपाली चलचित्र भन्नासाथ नाक खुम्च्याउन थालेका

राजेश हमाल महानायक हुन् ?

‘महानायक’ को साझा मापदण्ड के हुन् ? यसलाई नाप्ने सर्वस्वीकार्य इकाई के हुन् ? राजेश हमालको अघिल्तिर ‘महानायक’ को फुर्को किन झुन्ड्याइयो ? के वास्तवमै उनी ‘महानायक’ हुन् ?

यी प्रश्नले हामीलाई दुई कित्तामा विभाजित गर्छ । एकथरी नतमस्तक भएर ठोकुरा गर्छन्, ‘राजेश हमाल महानायक नै हुन् ।’ अर्कोथरी नाक खुम्च्याउँछन्, ‘महानायक भन्नलायक के छ उनमा ?’

जस्तो एक अन्तर्वार्तामा दीपाश्री निरौला प्रश्न गर्छिन्, ‘उहाँ महानायक हुनुहुन्छ र ?’

दीपाश्रीको बुझाइ के छ भने, आफ्नो जमानामा राजेश हमालको टाउको बिक्थ्यो । पोस्टरमा उनको अनुहार देखेर दर्शकहरू हलसम्म तानिए । यस हिसाबले राजेश हमालको क्रेज जरुर थियो । तर त्यो स्टारडमबाट उनीमात्र लाभान्वित भए, समग्र चलचित्रको उत्थान हुन सकेन ।

आज संकटको घडीमा उनी न केही बोलिरहेका छन्, न कुनै सहयोगको लागि हार्दिकता पोखिरहेका छन् । दीपाश्री संशय गर्छिन्, ‘उहाँ पहिले हुनुहन्थ्यो, अहिले कहाँ हुनुहुन्छ ?’

पचासको दशकमा जसरी राजेश हमालको क्रेज उकासियो, त्यो एउटा नियमित आकस्मिकता थियो । त्यसअघि कसैले नपाएको ‘स्टारडम’ उनैले पाए । उनको टाउको बिक्यो । रसरङ्गको दुनियाँबाट टाढा रहेका नेता मोहनविक्रम सिंहलाई एकपटक हामीले सोधेका थियौं, ‘नेपालका कुनै हिरो चिन्नुहुन्छ ?’

उनले अनकनाउँदै भासिएको स्वरमा भनेका थिए, ‘त्यो हमाल कि के भन्ने छ नि ?’

नेपाली सिनेमाभन्दा बाह्र हात पर रहेका अहिलेका किशोर पुस्तालाई सोध्ने हो भने उनीहरूले कनीकुथी लिने नाम हो, ‘राजेश हमाल ।’

अग्लो कद, कर्ली कपाल, वाकपटुतायुक्त ‘जेन्टलमेन’को आवरणमा राजेश हमाल जरुर एक मानक हुन्, नेपाली सिनेमाका । तर करियरको उत्कर्षमा राजेश हमालले खेलाँची गरे । उनको यन्त्रवत् उपस्थितिले दर्शकलाई ‘मुर्गा’ बनाइरह्यो । आस्था र श्रद्धाको त्यो अग्लाइमा उक्लिएर पनि उनले आवश्यक ठानेनन्, नेपाली सिनेमाको दिशा र गति बदल्नुपर्छ ।

न आफ्नो अभिनयमा विविधता खोजे, न चरित्र–निर्माणका लागि अतिरिक्त मिहेनत गरे । आफू जस्तो छु, त्यही रुपमा दर्शकले स्विकार्नुपर्छ भन्ने हठी मनोविज्ञानले ग्रस्त बनायो । एक निर्देशक सुनाउँथे, ‘राजेश दाइ सुटिङ स्पटमा आएर बल्ल आफ्नो डायलग के हो भनेर माग्थे ।’ आफ्नो करियरलाई उनले एक स्वचालित औजार ठाने, त्यसका लागि ‘तप र जप’ गर्नुपर्ने जरुरी देखेनन् ।

राजेश हमाल शैली हावी भइरहँदा नै हो, घरेलु दर्शकले नेपाली चलचित्र भन्नासाथ नाक खुम्च्याउन थालेका ।

एक अन्तर्वार्तामा राजेश हमाल भन्छन्, ‘जस्तोपायो त्यस्तो सिनेमा खेल्नु मेरो भुल थिएन । कुनै पनि निर्माता/निर्देशक ‘मेरो चलचित्र झुर छ, कमसल छ खेलिदिनुपर्‍यो’ भन्दै आएका थिएनन् । सबैले आफ्नो चलचित्र राम्रो छ, उत्कृष्ट छ भनेकाले मैले खेलिदिएँ ।’

सामान्य बजारको प्रवृत्ति हो, बोल्नेको पीठो पनि बिक्ने । अर्थात् थोक विक्रेतादेखि उद्यमीसम्मले आफ्नो ‘माल’ खराब छ भनेर उपभोक्तामाझ पेश गर्दैन । त्यसो भन्दैमा उपभोक्ताले सबै माल–सामान उठाइदिने ?

के आफैँभित्र निस्सासिएको पीडा र वेदनालाई लुकाएर आवरणमा चाहिँ ‘सबै ठीकठाक छ’ भने जसरी हाँस्नु सहज होला ? सिनेमाको सप्तरङ्गी दुनियाँमा कति अभिनेत्री/नवकलाकार अपमान, दुर्व्यवहार समेटेर बाँचिरहेका होलान्

राजेश हमाल जत्तिका बौद्धिक अभिनेताले स्क्रिप्ट, ब्यानर, निर्देशकको गुणवत्ता जाँच्न नसक्नु वा नचाहनु उदेकलाग्दो हो । यसले उनको करियरलाई त ध्वस्त बनायो नै, नेपाली सिनेमाले एउटा राम्रो अवसर पनि गुमाउनुपर्‍यो ।

भुवन केसी र लफडाबाजी

स्क्यान्डलको अर्को नाम भुवन केसी । गसिप बजारमा यस्तै चर्चा हुने गर्छ । नेपाली चलचित्रको इतिहासमै भुवन केसी यस्ता पात्र हुन्, जो विवादको चौघेराबाट कहिल्यै मुक्त भएनन् ।

‘प्लेब्वाइ’को छवि बनाएका भुवन सुरा–सुन्दरीप्रेमी मानिन्छन् । एकताका अभिनेत्री सारंगा श्रेष्ठले भनेकी थिइन्, ‘चलचित्र उद्योगमा भुवन केसी नभइदिएको भए धेरै अभिनेत्री कुमारी नै रहन्थे ।’

अहिले नेपाली सिनेमामा भुवन पुत्र अनमोलको रजगज छ । नवजवान अनमोलले आफ्नो जवानी छताछुल्ल पारेका छैनन् । अर्थात् उनी संयमित छन् । अनमोलकै छिमलकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘अंकल समानका’ अभिनेता भुवन केसीमाथि औंला उठाउँदै भनेकी छिन्, ‘अनेक बहानामा उनले ममाथि दुर्व्यवहार गरे ।’ नेपोटिज्मकै भुमरी चलिरहँदा साम्राज्ञीलाई पनि पुराना दिन सम्झेर झोक चलेको हुनुपर्छ ।

सिनेमाको रङ्गीन चमकदमकभित्र एउटा अँध्यारो साम्राज्य छ, जहाँ अनेक-अनेक छक्कापञ्जा चल्छन् । त्यसैको एउटा तुरुप हो, भावनात्मक मोलमोलाई । नवआगन्तुक कलाकार खासगरी अभिनेत्री यसको शिकार बन्ने गर्छन् । संघर्ष गर्छु, करियर बनाउँछु, नेम र फेम कमाउँछु भनी उमंगसाथ सिनेमामा प्रवेश गरेका नवकलाकार एवं अभिनेत्रीहरूले कति ठेस सहनुपर्दो हो ? कति दुर्व्यवहार झेल्नुपर्दो हो ? कति अपमान सहनुपर्दो हो ?

के आफैँभित्र निस्सासिएको पीडा र वेदनालाई लुकाएर आवरणमा चाहिँ ‘सबै ठीकठाक छ’ भने जसरी हाँस्नु सहज होला ? सिनेमाको सप्तरङ्गी दुनियाँमा कति अभिनेत्री/नवकलाकार अपमान, दुर्व्यवहार समेटेर बाँचिरहेका होलान् ।

यसको अर्को पाटो पनि छ । कसैले कसैलाई कुनै पनि आरोप लगाउन यहाँ रोकतोक छैन । यस कोणबाट हेर्दा रिस साँध्न, बदला लिन, इमान–इज्जतमा दाग लगाइदिन, प्रतिष्ठामा आँच पुर्‍याउन वा फेरि आफ्नै चर्चा बटुल्न पनि ‘आरोप’ को झटारो हान्न सक्छन् ।

नेपालीमा एउटा उखान छ, ‘ताक परे तिवारी, नत्र गोतामे ।’ यो एक द्वैध प्रवृत्ति हो हाम्रो । जबसम्म आफूलाई अनुकूल हुन्छ, चुपचाप बस्ने । केही प्रतिकूल भएमा अन्धाधुन्ध जाइलाग्ने । कसैमाथि लाग्ने यस्ता आरोपहरू कति सत्य हुन् ?

हुन सक्छ, एउटी अभिनेत्रीले दुर्व्यवहार झेलिरहँदा उनले त्यसलाई पुष्टि गर्ने ठोस प्रमाण जुटाउन सम्भव हुँदैन । के पनि हुन सक्छ भने, कतिपय यी आरोप मिथ्या र कपोलकल्पित हुन् । राजहाँसले झैं ‘दूधको दूध, पानीको पानी’ छुट्याउने कस्तो तराजुले यसको सर्वस्वीकार्य निसाफ गर्न सकिएला ?

लेखकको बारेमा
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?