
३१ असार, रौतहट । परोहा नगरपालिका–७ का भिखासँग फुसको टहरो बनाउन बनाएको बाहेक जमिन छैन । उमेरले ६० कटे पनि ज्याला मजदुरी गरेर परिवार पाल्नुपरेको छ ।
परिवारको आर्थिक अवस्था कमजोर भएकाले जेठा छोरा रोजगारीका लागि भारतको बैंग्लोर गए । ब्याग कारखानामा काम गर्ने उनले काइँला भाइलाई पनि आफूसँगै लगेर काममा लगाए ।
जब कोरोना भाइरस (कोभिड–१९) को कहर सुरु भयो, दुई भाइमाथि विपद् आइलाग्यो ।
भारतमा लामो समयसम्म लकडाउन हुँदा रोजिरोटी बन्द भयो । त्यहीबेला काइँला बिरामी भए । ज्वरो आयो । ज्वरो बिग्रिएर टाइफाइड भएपछि अस्पताल पुगे । तर, उपचार सम्भव भएन । रोजगारीका लागि बैंग्लोर पुगेका उनले उतै प्राण त्यागे ।
एकातिर भाइ गुमाएको पीडा, अर्कोतिर रोजीरोटीको संकट । भिखाका ३६ वर्षीय जेठा छोराले घर आउने निर्णय गरे । तर, घरको आँगन टेक्न पाएनन् । कोरोना संक्रमणबाट उनको मृत्यु भयो ।
उनी असार २४ गते नेपाल आइपुगेका थिए । दाजुभाइ एकैसाथ मजदुरी गर्न भारतको बैंग्लोर गएका भए पनि दाजु एक्लै घर फर्किएका थिए ।
यही साता नेपाल फर्केका उनलाई सीमाबाटै वडा नम्बर ३ स्थित तेजापाकट आधारभूत विद्यालयको क्वारेन्टिनमा लगियो ।
परोहा नगरपालिकाका स्वास्थ्य संयोजक जलन्धर यादवले परिवारको भनाइ उदृत गर्दै अनलाइनखबरलाई भने, ‘असार २८ गतेदेखि उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परिवारसँग सम्पर्क गरेर यथार्थ बुझ्ने काम गर्यौं । परिवारले दिएको जानकारी अनुसार भाइको मृत्यु कोरोनाकै कारण भएको देखिन्छ । तर, रिपोर्ट आइसकेको रहेनछ ।’
असार २८ गते उनीसहित सो क्वारेन्टिनमा बसेका ४५ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि हेटौंडा पठाइएको थियो । त्यही दिनदेखि उनलाई ज्वरो आउने, खोकी लाग्ने हुनुका साथै स्वासप्रश्वासमा समस्या देखियो ।
उनलाई २९ गते वीरगञ्जस्थित गण्डक कोभिड अस्पताल पठाइयो । अस्पतालमा ल्याउँदा सामान्य ज्वरो र खोकी देखिएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंह बताउँछन् । डा. सिंहले अनलाइनखबरसँग भने, ‘आज बिहान ६ बजेतिर अचानक उनमा स्वासप्रश्वासमा समस्या देखियो । भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै दिउँसो साढे २ बजेतिर निधन भयो ।’
कमाएर ल्याउने दुई छोरा बितेपछि भिखाको परिवार ठूलो संकटमा फसेको छ ।
गण्डक कोभिड अस्पतालमा बुधबार बिहान मृत्यु भएका युवक आफ्ना बाबुसँग छुट्टिएर अलग्गै बस्दै आएका थिए । उनको परिवारमा श्रीमती, एक छोरा र चार छोरी छन् । दुई वर्षका छोरा अपाङ्ग छन् । एककोठे घरबाहेक केही छैन ।
बैंग्लोरमा मृत्यु भएका काँइलाले बिहे गरेका थिएनन् । भिखाका पाँच भाइ छोरामध्ये माइलो अपाङ्ग छन् भने काइँलाले गाउँघरमै तरकारी बेच्ने काम गर्छन् ।
कमाएर ल्याउने दुई छोराको मृत्युपछि भिखाको परिवार शोकमा डुबेको छिमेकी अजय पटेलले अनलाइनखबरलाई बताए ।
वडाध्यक्ष रघुनाथप्रसाद कलवारले पनि परिवारको आर्थिक अवस्था कमजोर रहेको र कमाउन गएका दुई छोराको मृत्यु भएकाले परिवारको बिचल्ली भएको बताए ।
प्रतिक्रिया 4