
२० साउन, काठमाडौं । कुनै बेलाका ८६ विकास बैंक अहिले २० वटामा सीमित भएका छन् । यो संख्या पनि अझै घट्ने क्रममा छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया शुरु भएयता १८७ वटा बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १४२ वटाको इजाजत खारेज भएका छन् र ४५ संस्था कायम छन् । गाभिनेमा विकास बैंक बढी छन् ।
राष्ट्र बैंकले ४ वर्ष पहिले पुँजी वृद्धिको योजना ल्याएसँगै शुरु भएको गाभ्ने/गाभिने क्रम अहिलेसम्म रोकिएको छैन । राष्ट्र बैंकले ४ गुणासम्म पुँजी वृद्धि गर्न निर्देशन दिएपछि कमजोर विकास बैंकहरु अर्को बैंकमा गाभिन पुगे । यसरी अहिलेसम्म ६४ वटा विकास बैंकको अस्तित्व मेटिइसकेको छ ।
बैंकिङ क्षेत्रका जानकारहरु विकास बैंकहरुको संख्या अझै घट्ने बताउँछन् । केन्द्रीय बैंक वाणिज्य बैंक संख्या घटाउने नीतिमा लागेको असर विकास बैंकमा पनि पर्ने विज्ञहरु बताउँछन् । प्रतिस्पर्धा गर्नसक्ने विकास बैंकहरु पनि वाणिज्य बैंकमा विलय भएका छन् । यसको पछिल्लो उदाहरण गण्डकी विकास बैंक हो । पोखरा केन्द्रीय कार्यालय रहेको यो बैंक बलियोमा गनिन्थ्यो ।
लकडाउन पूर्ण रुपमा नखुल्दै गण्डकी विकास बैंक ‘क’ वर्गको मेगा बैंकमा गाभियो । यसअघि पोखरा नै केन्द्रीय कार्यालय रहेको ओम डेभलपमेन्ट बैंक पनि एनएमबी बैंकमा गाभिएको थियो ।
त्यसैगरी काठमाडौंको कैलाश विकास बैंक पनि प्राइम कमर्सियल बैंकमा गाभिएको छ ।
एक जिल्ले बैंक पनि अस्तित्वमा
अहिले सांग्रिला, गरिमा, मुक्तिनाथ, ज्योति, लुम्बिनीलगायतका विकास बैंक बलिया मानिन्छन् । यसबाहेक धेरै साना विकास बैंक पनि छन् ।
दुईवटा विकास बैंक (सर्लाहीको सहारा र खोटाङको साल्पा) त एक जिल्लामै सीमित छन् । त्यस्तै ७ जिल्ला कार्यक्षेत्र भएका विकास बैंकको संख्या १० वटा छ । बाँकी ८ वटा राष्ट्रिय स्तरका विकास बैंक हुन् ।
कर्णाली विकास बैंक, कर्पोरेट विकास बैंक र नारायणी विकास बैंक ३ जिल्लामा कार्यरत छन् । कर्णाली बाँके, बर्दिया र दाङमा छ भने कर्पोरेट पर्सा, मकवानपुर र काभ्रेमा क्रियाशील छ । त्यस्तै, नारायणीको कार्यक्षेत्र नवलपरासी, चितवन र मकवानपुर हो ।
झापाको बिर्तामोड केन्द्रीय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंक, सुनसरीको धरान केन्द्रीय कार्याल्य रहेको मितेरी डेभलपमेन्ट बैंक, कञ्चनपुरको महेन्द्रनगर केन्द्रीय कार्यालय रहेको कञ्चन डेभलपमेन्ट बैंक, सिन्धुपाल्चोक केन्द्रीय कार्यालय रहेको सिन्धु विकास बैंक र पोखरा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक ५ जिल्लामा फैलिएका बैंकहरु हुन् ।
त्यस्तै, मोरङको टंककी सिनवारी केन्द्रीय कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक र बुटवल केन्द्रीय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंक सात जिल्लामा फैलिएका बैंक हुन् ।
१५ वटामा झर्छन् : डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष
विकास बैंकका सीईओहरुको छाता संगठन डेलपमेन्ट बैंकर्स संघका अध्यक्ष गोविन्द ढकाल विकास बैंकहरुको संख्या १५ वटामा सीमित हुने बताउँछन् ।
तर उनी विकास बैंकहरु कमजोर भएर वाणिज्य बैंकमा मर्ज नभएको दावी गर्छन् । बरु बलिया भएका कारण वाणिज्य बैंकहरुको नजरमा परेको उनको तर्क छ ।
ढकाल गरिमा विकास बैंकका सीईओ हुन् । आफ्नो बैंक भने अर्को बैंकमा विलय नहुने उनले बताए ।
३ जिल्ले विकास बैंकको रुपमा स्याङ्जाबाट सुरु भएको गरिमा बिकास बैंक अहिले १० जिल्लामा फैलिएको छ । यसले आफ्नो केन्द्रीय कार्यालय पनि पोखराबाट काठमाडौं सारेको छ । प्रदेश १ मा समेत यसले ११ वटा शाखा खोलेको छ ।
अब विकास बैंकहरु अरुमा विलय हुने क्रम रोकिने ढकालको दावी छ । उनी भन्छन्, ‘किनभने, कतिपय विकास बैंक वाणिज्य बैंक भन्दा कम छैनन् ।’
अब विकास बैंकमा आँखा लगाउँदैनन् ?
केन्द्रीय बैंकले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिमा मर्जर प्राथमिकतामा छ । नीति कार्यान्वयनका लागि आएको निर्देशनमा त फोर्स मर्जरमा लैजान सक्ने संकेत समेत छ ।
विगतमा जस्तो ख र ग वर्गका बैंकको मर्जरलाई भने केन्द्रीय बैंकले वास्ता गरेको छैन । अहिले वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरका लागि दबाब छ । यसले विकास बैंकहरु वाणिज्य बैंकमा मर्ज हुने सम्भावना अलिक कम देखाउँछ ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख देवकुमार ढकाल नै अब वाणिज्य बैंकहरुले विकास बैंकलाई पहिलेको जस्तो नगाभ्ने बताउँछन् । मौद्रिक नीतिले वाणिज्य बैंकहरु नै आपसमा गाभिनु पर्ने भनेकाले विकास बैंकमा त्यति आँखा नलाग्ने उनको तर्क छ ।
आफैं मर्जरमा जाने विकास बैंकहरुलाई भने अवरोध नहुने उनले बताए ।
प्रतिक्रिया 4