
२५ साउन, काठमाडौं । राम जन्मभूमि अयोध्या नेपालमै पर्छ भन्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार चितवनको माडी नगरपालिकाका जनप्रतिनिधिसँग दुई घण्टा लामो छलफल गरे ।
बैठकमा नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, नवगठित प्रस्तावित अयोध्यापुरीको व्यवस्थापन उपसमिति प्रमुख साध्यबहादुर भण्डारी, प्रचार–प्रसार तथा लेखन उपसमितिका डीआर पोखरेल र अनुसन्धान तथा अन्वेषण उपसमितिका प्रमुख लोकमणि पौडेललगायतको उपस्थिति थियो ।
कोरोनाको बढ्दो जोखिमकै वीचमा प्रधानमन्त्रीनिवासमा आयोजना गरिएको लामो छलफलमा प्रधानमन्त्री ओलीले माडीस्थित अयोध्यापुरीको खोजी र अनुसन्धान गर्नेतर्फ खासै जोड दिएनन् । धेरै हजार वर्ष पहिलेको राम जन्मभूमिको प्रमाण नभेटिने भन्दै बरु ‘शास्त्रीय उत्खनन्’लाई नै आधार मानेर अब मन्दिर निर्माणतर्फ ध्यान दिने मनसाय देखाए ।
‘तीन/चार हजार वर्षमा कत्राकत्रा भूकम्प गए । त्यतिबेलाको प्रमाण पाउन मुस्किल छ, बरु शास्त्रमा लेखिएका कुरालाई आधार मानेर गरिएको ‘शास्त्रीय उत्खनन’लाई आधार मानेर अघि बढ्दा सजिलो होला भन्नुभयो प्रधानमन्त्रीले’ छलफलमा सहभागी एक सदस्यले अनलाइनखबरसँग भने ।
प्रधानमन्त्रीले दिएको समयभन्दा आधा घण्टाअघि अपराह्न पुगेको टोलीसँग अपराह्न ४ः४० देखि साँझ सवा ७ बजेसम्म प्रधानमन्त्रीले छलफल गरेका थिए । बैठकमा ओलीले सुरुमा नै अयोध्यापुरीमा भव्य मन्दिर बनाउने विषयमा तयारी थाल्न सुझाव दिएका थिए ।
बैठकमा सहभागीबीच कुराको सुरुवात साबिकको अयोध्यापुरी गाविस अहिले एउटा वडामा सीमित भएको र नगरपालिकाको नामै अयोध्यापुरी नराखेर माडी राखिएको विषयबाट भयो । त्यसलाई कुनै संकोचविना नै प्रधानमन्त्रीले त्यसको नाम परिवर्तन गरिहालौं न भनेर प्रस्ताव गरे ।
सँगै रहेका नगरप्रमुख र उपप्रमुखले स्वीकृतिस्वरूप मुन्टो हल्लाए । लगत्तै प्रमुख ढकालले अयोध्यापुरीभन्दा अयोध्या राख्न प्रस्ताव गरे । पछि रामायणमा पनि धेरै ठाउँमा अयोध्यापुरी भन्ने नाम उल्लेख भएकोले अयोध्यापुरी नै राख्ने सहमति भयो ।
अब यथाशीघ्र नगरप्रमुखले बैठक बोलाएर माडी नगरपालिकाको नाम अयोध्यापुरी राख्नको लागि पहल सुरु गर्नेगरी यो विषयलाई टुंगो लगाइएको थियो ।
त्यसलगत्तै प्रधानमन्त्रीले नै मन्दिर बस्तो बनाउने भन्ने विषय उठान गरे । उनले अयोध्यापुरी नेपालमै भएको कुरामा कुनै शंका नगर्न आग्रह गर्दै अब मन्दिर कस्तो बनाउने भन्ने प्रश्न बैठकमा सहभागीसँग प्रधानमन्त्रीले राखेका थिए ।
त्यसमा थप अनुसन्धान के गर्ने भनेर नगरपालिकाका प्रतिनिधिले राखेको प्रश्नमा नै प्रधानमन्त्रीले प्रमाण संकलन गर्न कठिन हुने भन्दै त्यतातिर धेरै ध्यान नदिन आग्रह गरे ।
प्रधानमन्त्रीलाई उद्धृत गर्दै बैठकमा सहभागी ती सदस्यले भने ‘कुटीजस्तो सानोतिनो मन्दिर बनाउने हो भने त्यसमा मेरो सहमति छैन । भव्य मन्दिर बनाउने हो भने मैले सकेको सहयोग गर्छु, सरकारले सहयोग गर्छ ।’
प्रधानमन्त्रीले देवघाटसम्मलाई समेटेर विशाल धार्मिक महत्वको क्षेत्र बनाउने गरी योजना बनाउन स्थानीय प्रतिनिधिलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्री ओलीले मन्दिरमा राख्ने मूर्ति आफ्नो तर्फबाट निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । बैठकमा सहभागी ती सदस्यका अनुसार त्यसका लागि सात फिट अग्लो रामको मूर्ति बनाउन कालीगढलाई समेत बोलाएर भनिसकेको प्रधानमन्त्रीले सुनाए ।
बैठकमा नै प्रधानमन्त्रीले क–कसको मूर्ति कसरी राख्ने भनेरसमेत सुनाएका थिए । राम, लक्ष्मण र सीताको फोटोको ठीकअघि हनुमानको मूर्ति राख्ने योजनासमेत प्रधानमन्त्रीले सुनाएका थिए ।
त्यसपछि राम मन्दिर कहिलेबाट सुरु गर्ने र कहिलेसम्म सम्पन्न गर्ने भन्ने विषयमा छलफल भयो । प्रधानमन्त्रीले जग्गा पहिचान गर्न नगरपालिकाका प्रतिनिधिलाई जिम्मा दिए । तर, भव्य मन्दिर बनाउन पुग्नेगरी जग्गा ठूलो क्षेत्रमा फैलिएको हुनुपर्ने प्रधानमन्त्रीको शर्त थियो । अहिलेदेखि सबै प्रक्रिया सुरु गरेर आगामी राम नवमीको दिन भूमिपूजा गर्नसके अर्काे राम नवमीसम्म काम सम्पन्न हुनेमा प्रधानमन्त्रीले विश्वास व्यक्त गरे ।
बैठकको अन्तिम एजेण्डाको रूपमा अहिले भारत हुँदै जानुपर्ने वाल्मीकि आश्रम पुग्नको लागि नेपालकै बाटो तयार पार्न पनि प्रधानमन्त्रीले पहल गर्ने सहमति भएको छ ।
ओलीले कुन बाटो सहज हुन्छ अध्ययन गरेर सुझाव दिन जनप्रतिनिधिलाई आग्रह गरेका छन् । त्यसपछि निकुञ्जमा भन्नुपरेमा आफूले भन्ने आश्वासन पनि प्रधानमन्त्रीले दिएका छन् ।
प्रतिक्रिया 4