
पछिल्लो निषेधाज्ञाको पहिलो दिन । समय : उही दिउँसोको ४:१५ बजे । टिभीमा डा. जागेश्वर गौतम स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा झुल्किए । उनी नेपालमा कोरोना प्रभावको दैनिक अपडेट लिएर आएका थिए । ब्रिफिङ्गमा मृत्यु भएकाको संख्या, संक्रमित भएका र निको भई डिस्चार्ज भएका, आइसोलेसनमा बसिरहेका, क्वारेन्टिनमा रहेकाको बारे जानकारी दिइसकेपछि गौतम अनुरोधपूर्वक भाषामा धम्की दिँदै थिए ‘रोग दैलोमा आइसको, अझै बढी सचेत हुनुस्। नत्र स्थिति नियन्त्रण बाहिर जानेछ, हाम्ले केही गर्न नसक्ने अवस्था छिट्टै आउँदैछ ।’
आजको जानकारी
नयाँ संक्रमित : ७०७
डिस्चार्ज : २६४
उपत्यकामा नयाँ संक्रमित : २००
मृत्यु संख्या : ६
कूल संक्रमित संख्या देशभर : २९६४५
त्यही राति गौतम फेरि रवि लामिछानेको लाइभ कार्यक्रम ‘सीधा कुरा जनतासँग’ जोडिए । उनले भन्दै गए ‘संसारको सबैभन्दा ठूलो साम्राज्य अमेरिका देशको ठूलो शहर न्युयोर्क हामीभन्दा साधन श्रोतमा कमजोर थियो ? के भेन्टिलेटर कम थियो ? उनीहरुसँग म्यानपावर थिएन ? किन त्यहाँ धेरै जना हाताहती भए ?’
प्रश्नहरु छोड्दै उनी फेरि बोले, ‘हाम्रो देशभरी दुई हजार जति पनि भेन्टिलेटर छैन । र, रोग कोरोना मात्र हैन अरु बिरामीले पनि बेड ओगटेका छन, यो समयमा हामी सचेत हुनैपर्छ । त्यसको विकल्पै नै छैन ।’
उनको बोल्ती बन्द भएन, ‘काठमाडौका एलिटलाई लाग्यो यो रोग भारत बोर्डर नजिकका गरीब वस्तीमा मात्र लाग्छ। र, लाग्ने रोग हो । उदयपुर , बिराटनगर, वीरगन्ज, राजबिराज, धनगढी र नेपालगन्जमा कोरोना फैलदा काठमाडौँका लाई कसैसँग र केही कुरासँग पिन डर भएन । हिजो रोग वरिपरि थियो, सचेत हुन सकेनौं । आज दैलोमा आइसकेको छ अझै सचेत नभए हामी निकै ठूलो समस्यामा पर्न सक्छौं ।’
****
‘मन्त्रालयका प्रवक्ता गौतम र कमान्डर स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई केही सुझाव सहितको खुला चिट्ठी लेख्न मन लाग्यो यार ।’
मैले यो प्रस्ताव टुइटरको एउटा प्राइभेट ग्रुप च्याटमा हालेँ ।
ग्रुपमा हामी तीनजना दाजुभाइ छौं । दाजुभाइ किनकी एक जना दाजु हुन् एक जना उमेरले साथीभाइ छन् ।
‘के भन्न मन छ मन्त्री र प्रवक्तालाई ?’ साथीले सोधे ।
‘केही गर्नुभएन, गर्न सक्ने धेरै कुरा थियो र अझै पनि छन्, केही भएन भनेर लेख्न मन छ, न्युनतम कुरा नि भएन, ध्वस्त भो भन्न मन छ ।’ मैले जवाफ दिएँ
‘अनि तपाईंले चाहिँ केके गर्नुभयो नि ?’ उसले जवाफ फर्कायो ।
मैले बुझिन ।
भन्नाले ?
‘कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्नुको कारण सरकारको अकर्मण्यता मात्रै हुन सक्दैन । नेपालीहरु कोरोना अनि सरकार दुवैसँग डराएनन्, डराउँदैनन् । भनेको मानेनन्, मान्दैनन् । यता कोरोना घट्दै छ, त्यसको कारण यहाँका मान्छेले राज्यको कुरा सुन्छन् । यहाँका मान्छे बुद्धु, बहादुर छैनन् भनेको कुरा टेर्छन् ।’
ऊ अस्ट्रेलियाको कुरा गर्दै थियो ।
म उसलाई अझ भन्दै थिएँ, ‘मलाई प्रश्न गर्न मन छ, सरकारले डेलिभर गर्न अनि कार्ययोजना अनुरुप काम गर्न नसकेको पनि त हो।’
‘कसले हैन भन्यो ? सरकार कोरोना नियन्त्रणमा अनि जनता कन्भिन्स गर्न पनि चुक्दै होला र चुकिरहेको छ। तर, के नागरिकको नाताले हामी कोरोना समुदायमा सर्न नदिन वा आउन सक्ने गम्भिर दुर्घटनाबारे इमान्दार भयौं त, छौं त ? प्रश्न सोध्न इमान्दारिता चाहिन्छ । हामी इमान्दार छैनौं ।’
‘तपाईंले अहिलेको सरकारलाई भोट हाल्नुभो, तपाईं उसलाई कसैले प्रश्न नतेर्साउन् भन्ने चाहानुहुन्छ। ‘ मैले सोधिहालेँ ।
‘तपाईंलाई के लाग्छ ? कोरोना भाइरसले सूर्य र रुख चिन्छ ? कुन पार्टी, कुन नेता भन्छ ? कम्युनिस्ट र प्रजातान्त्रिक भन्छ ? शरीरमा कोरोना प्रवेशपूर्व के तिमीले अघिल्लो चुनावमा कसलाई भोट हाल्यौ भनेर सोध्छ र ? तिमी सरकारी, म प्रतिपक्षी, ऊ स्वतन्त्र भन्छ र भाइरसले ?’
म नाजवाफ भएँ ।
म असन्तुष्ट थिएँ, किनकी म तर्कशील बन्न सकिरहेको थिइन, मेरा तर्क बलशाली वा तथ्यांकपरक वा अध्ययनपरक थिएनन् । हाम्रो देशमा मन्त्री अनि शासन गरिरहेको पार्टीलाई गाली गरेर सरकारको विरोध गरे खतरा हो । समर्थन गरे त हनुमान । यो हामी नेपालीको आम बुझाइ हो।
केही समयको मौनता पछि ग्रुपमा अर्का दाइ बोले ।
‘हाइवे’
‘सोच त तिम्लाई कोरोना भैहाले तिम्ले आज कसलाई भेटेउ, कन्ट्याक ट्रेसिङ्ग सम्भव छ ? आज दिनभरी तिम्ले कसलाई कहाँ कता कता भेट्यौ, सम्झिन सक्छौ ?’
एकछिन समय लिएँ ।
दैनिकी दोहोराएँ, एक- एक गरेर ।
म छिट्टै बिहान अफिस निस्किएँ । जडिबुटी नरेफाँटबाट कोटेश्वरसम्म हिंडे । कोटेश्वरमा सार्वजनिक गाडी चढे र अफिस एअरपोर्टमा ओर्लिएँ । के म हिँडेर जान सक्तिनथे ?
मैले चढेको गाडी कति नम्बरको थियो, कुन यातायातको थियो के मलाई थाहा छ ? तीनकुनेमा ओर्लिएकी महिला अनि सिनामंगल चोकमा त्यही गाडी चढेका पुरुषको नाम के थियो ? को हुन् तिनीहरु ? कहाँ गएर आएका थिए ? सिट छेउमा बसेका, अनि म सँगै एयरपोर्ट ओर्लिएका वृद्धा को थिए, के नाम, अनि कहाँका थिए ? थाहा छैन । चोककै एउटा होटलमा लन्च टाइममा खाना खाँदा अर्को टेबलमा को थियो, कस्ता थिए, कहाँका थिए ? के मलाई बाहिर खाना खानै पर्ने अवस्था थियो ?
साँझ आफ्नो ‘फेब्रेट’ चिया पसलमा नि त्यस्तै भीड थियो । चिया पसल नछिरी घर पुग्नै नसक्ने बानी छ । कस्तो बानी हो यो मेरो ? चिया पसलमा आउने र जानेको रेकर्ड कोसँग छ ? बाटोमा, बजारमा काम गर्ने ठाउँमै पनि को कति सुरक्षित छन् ? मैले कसलाई भेटेँ, मलाई भेट्नेले कसलाई भेटेर आएको छ कसलाई भेट्न जान्छ ? त्यसको अपडेट र रेकर्ड कोसँग छ ?
दिउँसो नै स्कुटर किन्ने भनेर उता जमलको शोरूम पनि गएको थिएँ। साँझ घर फर्किदा जडिबुटी चोकमा म:म प्याक गर्न लाथेँ। नजिकैको जोशी चोकबाटै दूध र दही किन्न पसेथेँ आदि इत्यादि । म दिनभर कति जनासँग प्रत्यक्ष सम्पर्कमा आए ? के म ती सबैलाइ चिन्छु ? के ती सबैले मलाई चिन्छन् ? म आफैँ अवाक भएँ ।
मनमा प्रश्न धेरै थिए । बा ५५ उमेरको भैसक्नुभयो अनि त्यसमाथि चिनीरोगी हुनुहुन्छ । कोठा भाडामा बस्छौं । सँगै छेउ अनि तल र माथि तलामा बुढापाका, केटाकेटी पनि त बस्छन् । कतै म नै कोरोनाको भाइरसको पोको बोकेर घर लगिरहेको त छैन ? मास्क लगाउने अनि ब्यागमा स्यानिटाइजर बोक्नुबाहेक पुराना व्यवहारमा म आफैं कति बदलिएको छु ? शहर ,सडक बजार र अफिसमा कति मान्छे दिनहुँ घर छोडेर निस्किएका छन् ? के त्यो ठूलो जनसंख्या कोरोना ओसारपसारमा त छैनन् ? के भोलि आउन सक्ने वा मेरै कारण निम्तिन सक्ने गम्भीर दुर्घटनाको जिम्मेवारी म लिन सक्छु ?
म झन् नि:शब्द भएँ र पुन च्याट ग्रुपमा फर्किएँ ।
म केही समय घोत्लिसकेको थिए । सरकार खतरै गज्जब काम गर्दैछ, भनेको हैन र भन्न सकिन्न पनि । कोरोना नियन्त्रणमा यो सरकारको गतिविधि एकदमै सह्रानीय छ भन्न सक्ने अवस्था त बिल्कुलै पनि छैन ।
क्वारेन्टिन व्यवस्थापन, विदेशमा रहेका नेपालीको उद्दार , स्वास्थ्य सामाग्री खरिदमा दिनहुँ आएका भ्रस्टाचारवाला समाचार, प्रधानमन्त्रीको बेसार-पानी अनि रोगसँग लड्ने क्षमता नेपालीमा बढी छ वाला रटान अनि स्वास्थ्यमन्त्रीले आलोचना गर्नेको मति फर्किओस्, मोतियाबिन्दु र गीतहरु भनेको ताजै छन् । के जिम्मेवार व्यक्ति त्यसरी बोल्छन् ? त्यसैले सरकारको कोरोना नियन्त्रण र भूमिकामाथि मेरा पनि हजार प्रश्नसँगै बिमती पनि छन्। सरकार अभिभावक हो तर अभिभावक सँगै सन्तानको पनि दायित्व र कर्तव्य पक्कै हुन्छन् नै । हैन ?
दक्षिण एसियाकै छिमेकी देश पाकिस्तान अनि जनसंख्या व्यापक भएको भारत मुम्बइको धाराबी क्षेत्रमा कोरोना नियन्त्रणउन्मुख छ । धाराबीबारे आइरहेका समाचारलाई आधार मान्ने हो भने त्यस क्षेत्रमा कन्ट्याक ट्रेसिङलाई अति महत्त्वपूर्ण रुपमा लिइएको छ । धाराबीबाट भारतभित्रै कतै अन्य ठाउँमा जानुपर्नेले पनि कसरी जाने, केबाट जाने जानकारी खुलाउनुपर्छ, को, कहाँ र कसरी आएको हो, बसेको छ स्पस्ट रुपले खुलाउनुपर्ने हुन्छ । सहज रुपमा भन्ने हो भने त्यहाँको तथ्यांक व्यवस्थापन चुस्त छ । उनीहरु ‘भाइरस र बिरामी पछ्याउने’ कार्यक्रम सफलतापूर्वक संचालन गरिरहेका छन् ।
अब हाम्रो कुरा गरौं ; हाम्रो कुरा भने फरक छ ।
हाम्रोमा पिसिआरको लागि स्वाब दिँदा पनि हामी गलत ठेगाना र गलत फोन नम्बर दिइरहेका छौं। त्यसैले बिरामी पहिचानमा सरकारलाई कठिनाइ भएको छ । नाकामा ड्युटीका प्रहरीलाई छल्दै हिँड्दै हामी विनाजानकारी ठूलो जनघनत्व भएको राजधानीमा दिनहुँ प्रवेश गरिरह्यौं । पहुँच र गलत सूचना दिएर पनि पास निकाल्यौं र यताउता दौडिरह्यौं । दिनरात हाम्रैलागि खटिने डाक्टरलाई कोरोना भए स्टिकर लिएर यो त कोरोना संक्रमितको घर भन्दै टास्दै हिँड्यौं । आफ्नो टोलमा डाक्टर, नर्स बस्न आए झगडा गर्यौ।
‘अत्यावश्यक कामले मात्र बाहिर निस्किनुस्’ भन्ने राज्यको अनुरोधलाई पनि आफू अनूकूल व्याख्या गरिरह्यौं । जनप्रतिनिधिहरु खै कुन्नी किन आफ्नो चुनाव क्षेत्रमा विनासुरक्षा दौडिरहे, अर्को चुनावमा कमजोर भइन्छ भनेर हो कि ? लकडाउनकै समयमा पनि मान्छे ओसारपसार गर्न गाडीको व्यवस्था गर्न तछाड मछाड गर्यौं । न सुरक्षा, न त सावधानीको न्यूनतम उपाय। हामी सरकारी कोसिसलाई निरन्तर चुनौती दिइरहयौं । कोरोना टेस्ट र सरकारी कोसिस सुधार्न आन्दोलन गरेर नै जम्मा भैरह्यौं । कतै कुनै दिन त्यही कार्यक्रम ‘म्यासिभ आउटब्रेक’को कारण भैदिएका भए ? ट्याक्सीका आन्दोलन गर्यौं, भक्तपुरमा जात्रा गर्यौं अनि खोकना र साँखुमा ठूलो संख्यामा रोपाइँ गर्यौं ? दर खायौं, मन्दिर धायौं र भीड गरिरह्यौं।
कतै कोरोना नियन्त्रणको यो ठूलो लडाइँमा सरकार एकातिर हामी एकातिर भैरहेका त छैनौं ? के हामी अझै त्यो रिस्क लिन सक्छौं ? लकडाउनले सामाजिक आर्थिक क्रियाकलापमा ठूलो धक्का दिएको पक्कै हो तर आजको प्रमुख र एक मात्र लडाइँ आफू बाँच्नु र आफ्नालाई बचाउनु हैन र ? के हामी यति पनि बुझ्न सक्दैनौं र ?
यो महाविपत्तिको पूर्वसूचना न मलाई थियो, न त सरकारलाई नै । न त हामी दुवै तयार नै थियौं । अकस्मात आएको बिविपत्तिका लागि एकोहोरो सरकारविरुद्धका रटान तर्कसङ्गत देखिन्न ।
म आजदेखि सकारात्मक हुन्छु। घरमा थुनिदियो सरकारले भन्दिनँ । आफ्नो परिवारसँग सुरक्षित छु ठान्नेछु । घरमा भएका सामान सकिए के, कसो गर्ने भनेर आत्तिन्न । बरु सदुपयोग सही ढङ्गले गर्छु । सरकारको नियन्त्रण बाहिर छ कोरोना भनेर खिसिट्याउरी गर्नुभन्दा बरु आफ्नो परिवारको सुरक्षाको जिम्मा लिन्छु र निश्चित उपाय अपनाउँछु । सबै ठाउँ बन्द गर्यो सरकारले भन्दिनँ । बरु अत्यावश्यक सामाग्री त जुटिरहेकै छन् पाइरहेका छन्, सरकारले कोसिस गर्दैछ भन्छु ।
हिजोसम्म जे गरे त्यसप्रती आत्मालोचना गर्दै घर बस्ने, एकदमै अत्यावश्यकबाहेक बाहिर ननिस्किने र धेरै मान्छेको कन्ट्याकमा न आउने कुरा प्रण गर्दछु । सरकारका कमी कमजोरी र अकर्मण्यताबारे कोरोना सकिएपछि यो महामारीबीच बाँचिएछ भने हिसाब त माग्ने नै छु। तर, आजको दिनमा भने म अटेर नगरी, निस्फिक्री नडुली, सरकारको निर्देशन मानिदिएर घर बसेर सरकारलाई सहयोग गर्दछु।
प्रतिक्रिया 4