
१४ पुस, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) पाकिस्तानमा पनि फेला परेको छ । पाकिस्तानको कराँचीमा कम्तीमा तीन जना मानिसमा कोरोनाको नयाँ भेरियन्ट पाइएको हो । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार बेलायतबाट आएका १२ जनाको नमुना संकलन गर्दा ६ जनामा संक्रमण पाइएको थियो । संक्रमितमध्ये तीन जनामा कोरोनाको नयाँ प्रकार देखिएको हो ।
पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको जिनोटाइपको अध्ययन गर्दा बेलायतमा भेटिएको भेरियन्टसँग ९५ प्रतिशतसम्म मिल्दोजुल्दो पाइएको थियो । यसअघि भारतले पनि बेलायतबाट आएका ६ जना मानिसमा कोरोनाको नयाँ प्रकार देखिएको बताएको थियो । विश्वभर फैलिरहेको कोरोनाको नयाँ प्रकारले अहिले विश्वभर चिन्ता बढाएको छ । यो भेरियन्ट ७० प्रतिशत बढी संक्रामक देखिएको छ । यो भेरियन्टको विषयमा थप अनुसन्धान हुन बाँकी रहेको विशेषज्ञहरुले बताएका छन् ।
प्रतिक्रिया 4