
५ माघ, काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को बजेटमा भनिएको थियो, त्रिभुवन विमानस्थललाई बुटिक एयरपोर्टका रुपमा परिणत गरिनेछ ।’ त्यसको कार्यान्वयन ६ महिनाभित्रै सक्ने लक्ष्य राखेर २०७५ पुसबाटै काम थालिएको थियो । लक्ष्यअनुसार काम भएको भए सोही आर्थिक वर्षभित्र त्रिभुवन विमानस्थल ‘बुटिक विमानस्थल’का रुपमा परिणत भइसक्थ्यो ।
बुटिक विमानस्थलका रुपमा के-के गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छाअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कामहरु तोकिएका थिए । योजना अनुसार त्रिभुवन विमानस्थललाई ‘बुटिक एयरपोर्ट’ बनाउने काम अझै सकिएको छैन ।
तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा मृत्युपछि २०७५ फागुनदेखि २०७६ साउनसम्म ६ महिना पर्यटन मन्त्रालयको जिम्मेवारी स्वयम् प्रधानमन्त्री ओली समक्ष रहेको थियो । त्यसबेला प्रधानमन्त्रीले निकै प्राथमिकता दिएको ‘बुटिक एयरपोर्ट’ अवधारणा अहिले भने केवल औपचारिकतामा मात्र सीमित छ ।
बुटिक एयरपोर्ट के हो, यो कस्तो हुन्छ ? यसबारे पर्यटन मन्त्रालयले नेपाल नागरिक नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनलाई ७ वटा जिम्मेवारी दिइएको थियो । बगैँचा निर्माण, अन्तराष्ट्रिय टर्मिनल भवनको बाहिरपट्टी सिलिकन पेन्टिङ गर्ने र अन्तर्राष्ट्रिय टर्मीनल तर्फको ‘ब्यागेज क्लेम एरिया’मा कलात्मक मूर्ति राख्ने उल्लेख थियो ।
अन्तर्राष्ट्रिय आगमनतर्फ एप्रोन नजिकै बुद्धको धातुको ठूलो मूर्ति राख्ने समेत यसै कार्यक्रमको एक पक्ष थियो । आन्तरिक टर्मिनल भवन अन्तर्राष्ट्रिय टर्मिनल भवनको बाहिर पट्टीको भागमा जीर्णोद्धार र मर्मत गर्ने योजना पनि थियो ।
अन्तर्राष्ट्रिय टर्मिनल भवनको बाहिर ‘क्यानोपी’ निर्माण गरी आकर्षक संरचना बनाउने गरी जिम्मेवारी तोकिएको थियो । प्राधिकरणका अनुसार तोकिएका काममध्ये बगैँचा निर्माण, मूर्ति राख्ने र सिलिकन पेन्टिङको काम पुरा भएको छ ।
यसले विगतभन्दा विमानस्थलको स्वरुप केही फरक देखाएको छ । तर यो परिकल्पनाअनुसार भौतिक संरचनामा गर्नुपर्ने सुधारका काम भने अझै पनि जारी रहेको प्राधिकरणका उपमहाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
‘हामीले तोकिएअनुसार काम गरिरहेका छौं,’ उनले भने, ‘ठ्याक्कै यही संरचना बन्दा बुटिक एयरपोर्ट बन्छ भन्ने होइन, मौलिकता झल्काउने गरी अनेकन काम भएको छ ।’
२९ करोड बजेट, २० करोडभन्दा बढी खर्च
सरकारले बुटिक एयरर्पोटका लागि २९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये करिब २० करोड रुपैयाँ खर्च भइसकेको प्राधिकरणको भनाइ छ । अहिले जारी रहेका काम पुरा हुँदा लागत समेत पुरा हुने लक्ष्य राखिएको छ ।
प्राधिकरणको चालु आर्थिक वर्षको चौमासिक प्रगति विवरणअनुसार बुटिक एयरपोर्ट भनी सरकारले दिएका जिम्मेवारीमध्ये अब आन्तरिक टर्मिनलको जीर्णोद्धारको काम १५ प्रतिशत बाँकी छ ।
अन्तर्राष्ट्रिय टर्मिनल बाहिरका संरचनामा ४८ प्रतिशत मात्र काम पुरा भएको छ । अझै ५२ प्रतिशत काम गर्नुपर्नेछ । अन्तराष्ट्रिय टर्मिनल भवन बाहिर बनाउने क्यानोपीको निर्माण काम भने मात्र २३ प्रतिशत पुरा भएको छ ।
बीचमा कोरोना भाइरसको महामारीले काममा अवरोध हुँदा भौतिक प्रगतिमा ढिलाई भएको प्राधिकरणको भनाइ छ । प्राधिकरणको चालु आर्थिक वर्षको वाषिर्क नीति तथा कार्यक्रम अनुसार त्रिभुवन विमानस्थलमा बुटिक एयरपोर्टको अवधारणा अनुसार अगाडी बढेका काम चालु आर्थिक वर्षभित्रै सकिने छ ।
प्रतिक्रिया 4