+
+

मन्त्रीसमक्ष स्काउट प्रमुखको गुनासो : आफ्नै सम्पत्ति पनि उपभोग गर्न पाइएन

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ८ गते १९:५२

८ माघ, काठमाडौं । नेपाल स्काउटका तदर्थ समिति संयोजक लोकबहादुर भण्डारीले आफ्नै सम्पत्ति समेत उपभोग गर्न नपाएको भन्दै युवा तथा खेलकुद मन्त्री दावा तामाङ समक्ष गुनासो गरेका छन् । प्रमुख स्काउटको सपथ लिन लैनचौर स्थित स्काउटको प्रधान कार्यालय पुगेका मन्त्री तामाङलाई भण्डारीले विवादका कारण आफ्नै सम्पत्तिमा बसेका व्यवसायीसँग समेत भाडा, बत्ती र पानीको समेत पैसा उठाउन नसकेको भन्दै गुनासो गरेका हुन् । उनले हालको विवाद समाधान गर्दै आफ्नो सम्पत्तिमाथिको स्वामित्व कायम गर्ने वातावरण सिर्जना गर्न पनि मन्त्रीसमक्ष आग्रह गरेका छन् ।

स्काउटको नेतृत्व तदर्थ समितिले चलाएको दुई वर्ष भइसकेको स्मरण गराउँदै भण्डारीले अझै पनि स्काउट सम्बन्धी ऐन संशोधन गराउन नसक्दा समस्या सिर्जना भएको बताएका छन् । उनले मन्त्री तामाङ समक्ष स्काउटलाई गतिशीलता दिन आग्रह गरेका छन् ।

नेपाल स्काउट ऐन २०५० ले स्काउटको संरक्षकमा प्रधानमन्त्री र प्रमुख स्काउटको रुपमा युवा तथा खेलकुदमन्त्री रहने व्यवस्था गरेको छ । जस अनुसार संसद विघटनपछि युवा तथा खेलकुदमन्त्री नियुक्त भएका तामाङले बिहीबार दीक्षान्त कार्यक्रममार्फत् प्रमुख स्काउटको सपथ लिएका हुन् ।

विवादका कारण २०६८ सालदेखि तदर्थ समितिको भरमा चलेको स्काउटले पूर्ण कार्यसमिति नबन्दा अपेक्षित रुपमा धेरै सक्रियता जनाउन नसकेको भन्दै यो अवस्थालाई तत्काल मुक्त गराउन आग्रह गरेका हुन् ।

जवाफमा मन्त्री तामाङले युवाहरूको सक्रियताको लागि स्काउटको अतुलनीय योगदान रहेको भन्दै आफ्नो कार्यकालमा स्काउटले भोगेका समस्या समाधान गर्दै यसलाई गतिशील बनाउन सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले नेपाल स्काउट ऐन संशोधनको विधेयक स्वीकृतिको लागि मन्त्रिपरिषद्मा पठाइएकोमा मन्त्रिपरिषद्को समितिमा नै रुमलिँदारुमलिँदैमा संसद विघटन भएपछि त्यो विधेयकको कार्यान्वयन फेरि शून्यावस्थामा पुगेको बताए । २०७५ साल साउन १३ गते केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकले स्काउटलाई प्रदेश एवं स्थानीय तहमा काम गर्दैगर्नको लागि कुनै अवरोध सिर्जना नगरेको भन्दै आफ्नो नियमावली आफैँ संशोधन गर्ने अधिकार स्काउटलाई नै दिइएकोले ऐन संशोधन भएन भनेर काम रोक्नु पर्ने आवश्यकता नरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?