+
+

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान : कागजमा ५ सय, अस्पतालमा साढे ३ सय शैय्या

१ अर्बका पूर्वाधार, ७०० शैय्या बनाउने योजना

अमृत सुवेदी अमृत सुवेदी
२०७७ चैत २ गते ७:४१

१ चैत, पोखरा ।  २०६९ सालमा नेपाल सरकारले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई ५०० शैय्यामा स्तरोन्नति गर्‍यो । त्यतिबेलासम्म अस्पताल ३०० शैय्याको थियो । २०७२ सालमा स्वास्थ्य विज्ञानको अध्ययन, अनुसन्धान र विशिष्ट उपचार गर्ने थलो बनाउन सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनायो ।

स्तरोन्नति भएको अस्पतालमा ८ वर्षपछि पनि शैय्या भने जहाँको त्यही नै छ । कागजमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको अस्पताल ५०० शैय्याको छ । तर, फिल्डमा भने स्तरोन्नति गरिएयता ७० शैय्यामात्र थपिएको छ ।

अस्पताल स्तरोन्नति त भयो तर किन शैय्या जहाँको तहीँ छ त ? प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले भने, ‘अस्पताल स्तरोन्नति त भयो तर शैय्या पुर्‍याउने भौतिक पूर्वाधार र संरचना थिएन । अहिले बल्ल ३ सय ७० शैय्याको अस्पताल सञ्चालनमा छ ।’

५ सय शैय्या सञ्चालन गर्न नसकिरहेको प्रतिष्ठानले अस्पताल ७ सय शैय्याको पुर्‍याउने योजना बनाएको छ । प्रतिष्ठानको ऐनअनुसार सिनेट बैठकले निर्णय गरेर अस्पातालको शैय्या थप्न सक्ने अधिकार रहेको निर्देशक आचार्य बताउँछन् । साढे २ वर्षभित्रै अस्पतालमा ७ सय शैय्या पुर्‍याउने योजना प्रतिष्ठानको छ ।

८ वर्षमा जम्मा ७० शैय्या थपिएको छ भने साढे २ वर्षमा ७ सय शैय्या पुग्ने आधार के छ त ? निर्देशक आचार्यले भने, ‘यो आर्थिक वर्षभित्रै अस्पतालमा ५ सय शैय्या पुग्छ । साढे २ वर्षभित्र ७ सय शैय्या पुर्‍याउने पूर्वाधार निर्माण भइरहेका छन् ।’

करिब ३२ करोड रुपैयाँको लागतमा प्रसुति तथा बाल उपचार गर्ने भवन यो आर्थिक वर्षभित्रै सञ्चालनमा आउन लागेको छ । नयाँ भवनमा सेवा विस्तार हुनेबित्तिकै पनि झण्डै ५ सय शैय्या पुग्न सक्ने निर्देशक आचार्यको भनाइ छ ।

सहरी विकास मन्त्रालयले अस्पतालमा नयाँ भवन थप्न र रेक्ट्रोफिटिङ गर्न ७२ करोड रुपैयाँ विनियोजन गरेको छ । सोही बजेटबाट ४ वटा नयाँ भवन र अस्पतालको रेक्ट्रो फिटिङ गर्न ५४ करोड रुपैयाँमा गत असार २८ गते नै निर्मार्ण सम्झौता भएको छ ।

क्यान्टिन, अस्पताल भान्छा घर, लैंगिक हिंसाका बिरामीहरुको जाँच तथा उपचार गर्ने, अस्पातालका उपकारण तथा सामाग्रीहरुको निर्मलीकरण गर्ने ४ वटा भवन अहिले निर्माण भइरहेका छन् । भवनको अहिलेसम्म २५ प्रतिशत काम सकिएको छ भने २८ प्रतिशत बजेट खर्च भएको छ । संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीअन्तर्गत निर्माण कार्य भइरहेको छ ।

‘२ वर्षभित्र ४ वटा भवन निर्माण हुने छन् भने अस्पतालका १० वटा पुराना भवनको रेक्ट्रोफिटिङ हुँदैछ,’ संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख झपटबहादुर थापाले भने, ‘स्वास्थ्य सम्बन्धि सुधार गर्ने, भेन्टिलेसनको सुधार, नमिलेका भवन मिलाउने, कक्सिजन प्लान्ट, ल्याब ब्लकको छाना फेर्ने लगायतको काम हुने छ ।’

केही समयभित्रै उपचार प्रभावित नहुने गरी रेक्ट्रो फिटिङको काम सुरु गर्ने थापाले जानकारी दिए । अस्पतालमा निर्माण भइरहेको पूर्वाधार निर्माणको आइतबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले निरीक्षण गरेका छन् ।

निरीक्षण गर्दै रान्यमन्त्री मानन्धरले स्वास्थ्य संवेदशीलतालाई ख्याल गर्दै तोकिएको समयमै निर्माण सक्ने गरी विशेष निगरानी गर्न इकाइलाई निर्देशन दिए । ‘विभिन्न बाहाना बनाएर निर्माणमा ढिलाई गर्ने काम हुन सक्छ,’ मानन्धरले भने, ‘राज्यको ठूलो लगानीलाई दुरुपयोग हुन नदिन र समयमै सक्न विशेष ध्यान दिनुहोला ।’

रेक्ट्रोफिटिङको काम यसअघि नै सुरु गर्नुपर्ने भए पनि कोभिड-१९ का कारण ढिला भएको इकाइ प्रमुख झपटबहादुरले जानकारी गराए । प्रतिष्ठानका निर्देशक आचार्यले नेपाल स्वास्थ्य सेवा सहयोग कार्यक्रममार्फत निर्माणाधीन ४ भवन र रेक्ट्रोफिटिङ सकिएसँगै अस्पतालका धेरै सुविधा बिस्तार हुने बताए । ०७९ साल असार २८ गतेभित्र नयाँ भवन र रेक्ट्रोफिटिङको काम सकिने विश्वास लिइएको छ ।

योसँगै प्रतिष्ठानमा भूकम्प प्राधिकरणमार्फत अर्को मेडिकल भवन निर्माण भइरहेको छ । करिब ११ करोड रुपैयाँ लगानीमा मेडिकल भवन बनेसँगै अस्पताल ७ सय शैय्यामा बिस्तार हुने आचार्यले बताए । प्रतिष्ठानमा अहिले झण्डै १ अर्ब रुपैयाँका पूर्वाधार निर्माण भइरहेका छन् । यसको निर्माण सकिएसँगै अस्पताल धेरै सुविधाजनक हुने निर्देशक आचार्यले दाबी गरे ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?