
१७ चैत, काठमाडौं । ताञ्जानियाका राष्ट्रपति जोन मागुफुलीको श्रद्धाञ्जली सभामा भागदौड मच्चिँदा ४५ जनाको मृत्यु भएको छ ।
मार्च २१ मा राजधानी सहर दार एससलामस्थित उहुरु रंगशालामा मागुफुलीको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । राष्ट्रपतिप्रति श्रद्धाञ्जली व्यक्त गर्न आएका हजारौं मानिस ठेलमठेल गर्दै रंगशालाभित्र प्रवेश गरेका थिए । यसै क्रममा भागदौड मच्चिएको तान्जानियाको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा पाँचजना एउटै परिवारका छन् । यद्यपि यो घटनामा मृत्यु हुनेको वास्तविक तथ्यांक सार्वजनिक भएको छैन । दार एस सलामका क्षेत्रीय प्रहरी कमाण्डर लाजारो माम्बोसासाका अनुसार उक्त घटनामा परी १० जना घाइते भएका छन् । उनीहरु सामान्य उपचारपछि घर फर्किसकेका छन् ।
मागुफुलीलाई अन्तिम श्रद्धाञ्जली दिन करिब १० हजार मानिस भेला भएका थिए । राष्ट्रपति मागुफुलीको निधनको घोषणा मार्च १७ मा भएको थियो । मागुफुलीको निधनपछि उनकै सहायक सामिया सुलुहु हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति बनेकी छिन् ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4