
राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता भलनाथ खनालसँग भेटवार्ता गरेकी छन् ।
शनिबार दिउँसो डल्लुस्थित खनालको निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल गरेको वरिष्ठ नेता खनालले बताए ।
खासगरी राष्ट्रपति भण्डारी खनालको छिमेकमा रहेका इतिहास संशोधन मण्डलका अध्यता एवं प्रवर्तकहरु दिनेश पन्त र महेश पन्तको घरमा पुगेको र सोही क्रममा आफ्नो घरमासमेत भेट्न आएको उनले बताए ।
भेटमा राष्ट्रपति भण्डारीले पार्टीमा देखिएको विवाद समाधान भएर जाओस् भन्ने चाहना रहेको बताएको पूर्वप्रधानमन्त्री खनालले जानकारी दिए । ‘हामीले एकछिन भलाकुसारी गर्यौं । विगतका कुराहरु पनि हामीले गर्यौं । अहिलेको वर्तमान स्थितिको बारेमा पनि अलिकति कुराकानी गर्यौं, खनालले भने, ‘उहाँले पार्टी आन्दोलन एकताबद्ध भएर जाओस्, लोकतन्त्र राम्रो भएर जाओस्, सुदृढ भएर जाओस्, मेरो राष्ट्रपतिको हैसियतले यही चाहना छ भन्ने कुरा व्यक्त गर्नुभयो ।’
भेटमा आफ्नो स्वस्थ्यप्रति पनि राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गरेको उनले बताए ।
प्रतिक्रिया 4