
२४ चैत, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से १५.७२ अंक अर्थातः शून्य दशमलव ५९ प्रतिशतले बढेको छ । यो साता निरन्तर बढिरहेको परिसूचकले हरेक दिन उच्च विन्दुको रेकर्ड समेत राखिरहेको छ । मंगलबार नेप्से १६७४.४७ विन्दुमा पुगेर रोकिएको छ । मंगलबार होटेल र पर्यटन, विकास बैंक, जलविद्युत्, निर्माण तथा उत्पादन, लघुवित्त, म्यूचअल फण्ड र लगानी समूहका लगानीकर्ताहरुले कमाएका छन् । मंगलबार बैंकिङ, व्यापार, वित्त, निर्जीवन बीमा, जीवन बीमा र अन्य समूहका लगानीकर्ताले भने गुमाएका छन् ।
तेस्रो दिन लगातार वृद्धि हुने क्रममा आज चार वटा कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । मंगलबार कारोबार रकम समेत सोमबारकै हाराहारीमा भएको छ । आइतबार ९ अर्ब भन्दा माथिको कारोबार भएकोमा सोमबार कारोबार ७ अर्ब २९ करोड ६७ लाख रुपैयाँको थियो । मंगलबार कोरोबार रकम समेत वृद्धि भई ७ अर्ब ४७ करोड ७७ लाख रुपैयाँ बराबरको भएको छ । मंगलबार कुल २१३ कम्पनीको कारोबार भएको छ । यस दिन ८१ हजार ७ सय ५३ कारोबार अंकबाट १ करोड ६१ लाख ८ हजार ४ सय ९९ कित्ता शेयर किनबेच भएको छ ।
आधा दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
मंगलबार चिलिमे हाइड्रोपावर, यूनिभर्सल पावर कम्पनी, यूनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावर र चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशतले वृद्धि भएको छ । ती कम्पनीबाहेक थप १० कम्पनीको मूल्य समेत सर्किट लेवलमा पुगेको छ । मंगलबार बीमा कम्पनीका लगानीकर्ताले भने धेरै गुमाएका छन् । साल्ट ट्रेडिङ, सानिमा जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, युनाइटेड फाइनान्स र जनरल इन्स्योरेन्स बढी गुमाउने कम्पनीमा परेका छन् ।
मंगलबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), चिलिमे हाइड्रोपावर, माथिल्लो तामाकोशी, हिमालयन डिष्ट्रिलर र हिमालयन जनरल इन्स्योरेन्सको सेयर बढी कारोबार भएको छ ।
प्रतिक्रिया 4