२० असोज, काभ्रे । काभ्रेको पनौतीमा बाढी र पहिरो प्रभावित बासिन्दालाई ड्रोनको सहायताले राहत दिइएको छ ।
पनौती नगरपालिका-१२ को कलाती भुमिडाँडाको मगर गाउँमा ड्रोन प्रयोग गरेर राहत पठाइएको वितरणमा संयोजन गरेका युवा परीक्षण हुमागाईंले जानकारी दिए ।
भौगोलिक विकटताका कारण खाद्यान्न लगायतको सामग्री लैजान नसक्ने र प्रभावित क्षेत्रका बासिन्दा राहत लिन आउन नसक्ने भएपछि ड्रोनको सहायता लिइएको हो ।
हामी नेपाल नामक संस्था र एयरलिफ्ट टेक्नोजोलीको सहकार्यमा गाउँका ८५ घरधुरीका लागि चामल, सोलार बत्ती, नुन, तेल, मसला, सेनेटरी प्याड, बालबालिकाका लागि ल्याक्टोजिनलगायतको राहत सामग्री पठाइएको छ ।
हिँडेर राहत लिएर जाने अवस्था नदेखेपछि ड्रोनको माध्यमबाट राहत पठाइएको हामी नेपाली संस्थाका प्रतिनिधि सुदन गुरुङले बताए ।
ड्रोनले एक पटकमा ६५ किलोग्राम राहत सामग्री ढुवानी गर्न सक्ने भए पनि हावाको बहावका कारण एक पटकमा २० किलोग्रामको दरले पठाइएको उनले बताए ।
भूमिडाँडा काभ्रेमा असोज १२ गते आएको बाढी र पहिरोका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र हो ।
प्रतिक्रिया 4