News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले कम्युनिस्ट पार्टीहरूले युवाको भाषा बोल्न छाडेको र समृद्धिको सपनालाई राजनीतिक रूपमा बोक्न नसकेको स्वीकार गरेका छन्।
- पाण्डेले मार्क्सवादको वर्गीय विश्लेषण आज पनि सान्दर्भिक रहेको र शोषणको चरित्र समाप्त नभएको बताएका छन्।
- उनले पार्टी र जनता बीच दूरी बढ्नुको कारण पुरानै सङ्गठनात्मक संरचना र भाषा भएको र नयाँ राजनीतिक कल्पनाशीलता आवश्यक रहेको बताए।
२८ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले कम्युनिस्ट पार्टीहरूले आजका युवाको भाषा बोल्न छाडेको र उनीहरूको समृद्धिको सपनालाई राजनीतिक रूपमा बोक्न नसकेको स्वीकार गरेका छन् ।
सोमबार बिहान फेसबुकमार्फत वामपन्थी विश्लेषक झलक सुवेदीले अनलाइनखबरमा प्रकाशित वैचारिक लेखको जवाफ दिँदै नेता पाण्डेले मार्क्सवादको वर्गीय विश्लेषण आज पनि उत्तिकै सान्दर्भिक रहेको सैद्धान्तिक यथार्थलाई आफूले स्वीकार गर्ने बताएका छन् ।
कतारको मरुभूमिमा काम गर्ने श्रमिकदेखि काठमाडौँमा विदेशी कम्पनीका लागि कोड लेख्ने युवासम्मले आफ्नो श्रम बेचिरहेको र उनीहरूमाथि शोषण भइरहेको सत्यलाई उनले नकारेका छैनन् ।
तर, नेता पाण्डेले आफ्नो मुख्य प्रश्न सैद्धान्तिक नभई राजनीतिक र साङ्गठनिक भएको प्रस्ट पारेका छन् ।
लाखौँ असुरक्षित र निराश नेपालीहरू कम्युनिस्ट पार्टीको सामाजिक आधार भए पनि उनीहरू पार्टीसँग भावनात्मक रूपमा जोडिन नसक्नु र वैकल्पिक शक्तितर्फ आकर्षित हुनु आजको मुख्य समस्या भएको उनको ठम्याइ छ ।
‘यसको कारण विचारधारा गलत भएर होइन,’ पाण्डेले भनेका छन्, ‘समस्या यो हो कि हामीले उनीहरूको भाषामा बोल्न छोड्यौँ । उनीहरूको दैनिक अनुभव, असुरक्षा, आकाङ्क्षा र डिजिटल जीवनसँग पार्टीको संवाद टुट्यो ।’
युवाहरूलाई ‘तिमी शोषित हौ’ भनेर मात्रै राजनीतिक सङ्कट समाधान नहुने भन्दै उनले उनीहरूभित्र रहेको गरिबीबाट माथि उठेर सम्पन्न बन्ने तीव्र आकाङ्क्षालाई पार्टीले सम्बोधन गर्न नसकेको स्वीकार गरेका छन् ।
आफूले उठाएको मोबाइल डेमोक्रेसीको प्रसङ्ग मार्क्सवादलाई विस्थापित गर्न नभई आजको डिजिटल समाज कसरी सङ्गठित हुन्छ र राजनीति कसरी फैलिन्छ भन्ने नयाँ यथार्थ बुझ्नका लागि भएको उनले स्पष्ट पारेका छन् ।
पुरानै सङ्गठनात्मक संरचना, भाषा र राजनीतिक शैलीका कारण जनता र पार्टीबीच दूरी बढिरहेको भन्दै पाण्डेले सैद्धान्तिक स्पष्टताका साथै साङ्गठनिक तथा राजनीतिक कल्पनाशीलता आजको आवश्यकता भएको औँल्याएका छन् ।
यस्तो छ सुरेन्द्र पाण्डेको जवाफः
झलक सुवेदीजीको लेख ध्यानपूर्वक पढेँ । सैद्धान्तिक दृष्टिले उहाँको तर्क बलियो छ, र केही ठाउँमा म सहमत पनि छु ।
शोषणको चरित्र समाप्त भएको छैन- यो सत्य हो । कतारको मरुभूमिमा रात काट्ने श्रमिक होस् वा काठमाडौँमा ल्यापटप खोलेर विदेशी कम्पनीका लागि कोड लेख्ने युवा- दुवै आफ्नो श्रम बेचिरहेका छन् । मार्क्सवादको वर्ग विश्लेषण आज पनि यही यथार्थ बुझ्न सक्षम छ ।
तर मैले उठाएको प्रश्न मुख्यतः सैद्धान्तिक होइन, राजनीतिक र साङ्गठनिक हो ।
यदि ती लाखौँ असुरक्षित, निराश र भविष्यप्रति अन्योलमा रहेका नेपाली वास्तवमै हाम्रो सामाजिक आधार थिए भने, उनीहरू आज किन हामीसँग भावनात्मक रूपमा जोडिएका छैनन् ? किन उनीहरू वैकल्पिक शक्तितर्फ आकर्षित भइरहेका छन् ?
यसको कारण विचारधारा गलत भएर होइन । समस्या यो हो कि हामीले उनीहरूको भाषामा बोल्न छोड्यौँ । उनीहरूको दैनिक अनुभव, असुरक्षा, आकाङ्क्षा र डिजिटल जीवनसँग पार्टीको संवाद टुट्यो । उनीहरू शोषित पक्कै छन्, तर उनीहरूमा गरिबीबाट माथि उठेर सम्पन्न बन्ने तीव्र आकाङ्क्षा पनि छ । हामीले उनीहरूलाई ‘तिमी शोषित हौ’ त भन्यौँ, तर उनीहरूको त्यो समृद्धिको सपनालाई राजनीतिक रूपमा बोक्न सकेनौँ ।
कतारमा राति फेसबुक स्क्रोल गर्दै नेपालको राजनीति हेर्ने युवा, काठमाडौँमा फुड डेलिभरी गर्दै हिँडिरहेको केटो, रिमोट जब गरेर संसारसँग जोडिएको मध्यमवर्गीय युवा- यी सबै आजको नेपाली समाजका वास्तविक पात्र हुन् । तर हाम्रो सङ्गठन, हाम्रो भाषा र हाम्रो राजनीतिक शैली अझै धेरै हदसम्म पुरानै संरचनामा अड्किएको छ ।
मैले मोबाइल डेमोक्रेसीको कुरा उठाउँदा मार्क्सवाद विस्थापित गर्न खोजेको होइन । बरु, आजको समाज कसरी सङ्गठित हुन्छ, चेतना कसरी बन्छ, र राजनीति कसरी फैलिन्छ भन्ने नयाँ यथार्थलाई बुझ्न खोजेको हो ।
यदि पुरानै तरिका पर्याप्त हुन्थ्यो भने, जनतामा यस्तो दूरी किन बढिरहेको छ ? केवल “मार्क्सवाद ठिक छ, पढ” भन्नु सैद्धान्तिक उत्तर हुन सक्छ, तर त्यो मात्रले राजनीतिक सङ्कट समाधान हुँदैन । हामीलाई अहिले दुईवटै कुरा चाहिएको छ— सैद्धान्तिक स्पष्टता, र मैले उठाउन खोजेको साङ्गठनिक तथा राजनीतिक कल्पनाशीलता । यी एकअर्काका विरोधी होइनन्; एकअर्काका पूरक हुन् । हामीले सिद्धान्तलाई वर्तमान जीवनसँग जोड्न सक्नुपर्छ ।
फेसबुकको छोटो स्ट्याटसमा सबै वैचारिक पाटो समेट्न सम्भव छैन, त्यसैले यो बहसलाई पार्टी र पब्लिक फोरममा अगाडि बढाउनेछु, तपाईंहरू पनि बढाउनुहोला । बहस जारी रहोस् ।
प्रतिक्रिया 4