+
+

‘अबको पाँच वर्ष नेपालका लागि राम्रो समय हो’

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २७ गते २०:२५

२७ चैत, काठमाडौं । सन् १९८० मा २४ वर्षीय रमेशकुमार गुप्ता न्यूरोडमा हार्डवेयर पसल चलाउँथे । त्यसपछि उत्पादन र आयात–निर्यात व्यापारमा हात हालेका उनले ३८ वर्षमा उद्योग–व्यापारमा आफ्नै साम्राज्य खडा गरे । यसभित्र सिमेन्ट, तार तथा केबल, मोबाइल, जलविद्युत, बैंकिङ, ई–कमर्श र इन्स्योरेन्सदेखि खेलकुद र सूचनाप्रविधिसम्मका १४ वटा उद्योग–व्यापार छन् ।

नेपालमा सबभन्दा पहिले पब्लिक सेयर जारी गर्ने सिमेन्ट उद्योग शिवम्, ठूलो वैदेशिक लगानी भित्र्याउने सिमेन्ट उद्योग होङ्शी शिवम् स्थापनामा गुप्ताको योगदान र लगानी छ ।

व्यावसायिक शिखर चढ्दै गर्दा उनलाई क्यान्सर रोग देखियो । रोगसँग संघर्ष गर्दागर्दै तीन वर्षअघि उनको निधन भयो । वार्षिक ४ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको कारोबार हाँकिरहेका उनको निधनपछि गुप्ता परिवारमा नेतृत्वको संकट देखा पर्‍यो ।

‘अचानक पिताजीको स्वर्गवाससँगै हामीले इमान्दार व्यावसायिक मान्यताका मानक गुमायौं र केही समय शून्यतामा गयौं’ छोरा रोहित गुप्ता भन्छन्, ‘बुबाले छोडेको व्यावसायिक धरोहर उठाउनुको विकल्प पनि हामीसँग थिएन ।’

हुन पनि, स्वर्गीय रमेशकुमार गुप्ताले खडा गरेको व्यावसायिक साम्राज्य धान्न वास्तवमै चुनौतीपूर्ण थियो । देशका अन्य ठूला उद्यमीसँगको साझेदारीमा समेत बाबुले अघि बढाएको लक्की ग्रुपमा रोहित नडगमगाई उभिन आए । तीन वर्षयता बुबाको विरासत धान्न सफल हुँदै गएको उनी बताउँछन् ।

बेलायतमा फाइनान्सियल म्यानेजमेन्टमा स्नातकोत्तर गरेका उनी अहिले ३५ वर्षका भए । पिताले हुर्काएको व्यवसायलाई एउटै छातामा समेट्न, नयाँ व्यावसायिक सोच कार्यान्वयन गर्र्न, कर्मचारी र ग्राहकलाई कम्पनी आफ्नै हो भन्ने बनाउन उनले बुबाको नाममा ‘रमेश कर्पोरेसन’ खडा गरेका छन् ।

व्यावसायिक साझेदारहरुसँग अलग भएर ५ चैतमा घोषणा भएको रमेश कर्पले बिजुली, पानी, सिमेन्टलगायत नेपाली उत्पादन विश्व बजारमा पुर्‍याउने, स्वदेशमा थप रोजगागारी सृजना गर्ने लक्ष्य लिएको छ । रमेश कर्प ‘नयाँ सोच कार्यान्वयनको पहिलो कदम भएको रोहित बताउँछन् ।

कर्पका उपाध्यक्ष रोहित गुप्तासँग अनलाइनखबरकर्मी नवीन ढुंगानाले गरेको कर्पोरेट कुराकानीको सम्पादित अंश :

रमेश कर्पले के–कस्ता व्यावसायिक संस्थाहरुको प्रतिनिधित्व गर्छ ?

दिवंगत पिता रमेश गुप्ताको नाममा खोलिएको हाम्रो समग्र बिजनेसको स्वामित्व बोक्ने छाता संस्था रमेश कर्प हो । यसमा पिताले झण्डै चार दशक लगाएर सृजना गर्नुभएको १४ वटा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको नेतृत्व यस कर्पोरेसनले गर्छ । पिताको सृजनालाई उहाँकै नाममा थप व्यवस्थित र परिष्कृत गरेर अघि बढाउन चाहेका हौं ।

नेपालकै ठूलो होङ्शी शिवम् सिमेन्ट, एनआईसी एशिया बैंक, शिवम् सिमेन्ट, पूर्वाधार विकास बैंक, महालक्ष्मी विकास बैंक, इ–कमर्शमा सस्तो डिल, लुम्बिनी विद्युत उद्योग, दुइटा जलविद्युत परियोजनासहित १४ औद्योगिक–व्यावसायिक संस्थाको प्रतिनिधित्व कर्पले गर्छ । हामी क्लाउड कम्प्युटिङ, खानी, रियल स्टेट, मोबाइल डिस्ट्रिब्युसनलगायत क्षेत्रमा पनि काम गर्दैछौं ।

रमेश कर्पको ट्यागलाइनमा हामीले ‘फरवार्ड टुगेदर’ भनेका छौं । यो भनेको हाम्रा उपभोक्ता, स्टेक होल्डर, शुभचिन्तक, कर्मचारी, सहयोगी, हामी लगानीकर्ताको सामूहिक विकास हो । वैधानिक, नैतिक ढंगबाट गरिने हाम्रा कामहरुले हामी सबैको विकास गर्ने हो ।

रमेश कर्प लक्की समूहभन्दा कसरी फरक छ ?

हाम्रा बुबा र अग्रज उद्यमी सतिश मोरले लक्की ग्रुप स्थापना गर्नुभएको थियो । उहाँहरुले लक्कीलाई तीन दशकसम्म संयुक्त नेतृत्व दिनुभयो । उहाँहरुको भिजनले लक्कीलाई उँचाइ दियो ।

हरेक बिजनेसमा पुस्तान्तरण पनि हुन्छ । एक पुस्ताले एक समयमा एउटा ठाउँसम्म डोर्‍याएपछि त्यसलाई अर्को पुस्ताले अघि बढाउनुपर्छ । ३० वर्षसम्म लक्की जसरी अगाडि बढ्यो, त्यसलाई पनि अनुसरण गर्दै नयाँ भिजनका साथ अबको ३० वर्षको परिकल्पना हामीले अघि सारेका छौं ।

लक्की समूह र रमेस कर्पको भिजन–मिसन अलग भएको हो ?

म यसलाई व्यवसायमा पुस्तान्तरण भन्न चाहन्छु । म र मेरो भाइ मिलेर रमेश कर्पलाई नयाँ भिजन, मिसनका साथ अगाडि बढाउन चाहिरहेका छौं । लक्की ग्रुपलाई पनि सतिश मोर र उहाँको परिवारले नयाँ भिजन–मिसनका साथ अगाडि बढाइरहनुभएको छ ।

नयाँ भिजन–मिसनमा तपाईंहरु कत्तिको परिपक्व हुनुहुन्छ ? यो कति सहज वा असहज जिम्मेवारी हो ?

यो काम आफैंमा चाखलाग्दो र चुनौतीपूर्ण छ । म पढाइ सकेर बेलायतबाट फर्किंदा नयाँ र अपरिचित जस्तै थिएँ । बुबाले मलाई हरेक बिजनेस मिटिङमा साथ राख्न थाल्नुभयो । बुबाहरुको लेभलमा बिजनेस डिल हुँदा हामी छोराहरुको तहमा भेटघाट, चिनजान बढ्यो ।

बुबाहरु हामीलाई अगाडि बढाउन चाहनुहुन्थ्यो । हामी नयाँ पुस्ताले पनि चाखपूर्वक सिक्दै गयौं । यसले हामीलाई अहिले सहज भएको छ । अर्को कुरा, मैले बुबाकै चाहनामा १३ वर्ष मोबाइलको बिजनेस गरें । त्यस अवधिमा कैयौं सफलता र असफलताहरु मिल्यो । त्यसले परिपक्व हुन सिकायो । अर्थात्, अब हामी बिजनेसमा पाको भएका छौं ।

स्टेक होल्डर, उपभोक्ता र शुभचिन्तकहरुले कसरी बुझ्ने रमेश कर्पलाई ?

रमेश कर्पको ट्यागलाइनमा हामीले ‘फरवार्ड टुगेदर’ भनेका छौं । यो भनेको हाम्रा उपभोक्ता, स्टेक होल्डर, शुभचिन्तक, कर्मचारी, सहयोगी, हामी लगानीकर्ताको सामूहिक विकास हो । वैधानिक, नैतिक ढंगबाट गरिने हाम्रा कामहरुले हामी सबैको विकास गर्ने हो ।

हामीसँग जोडिने जोकसैले ‘रमेश कर्पको प्रगति मेरो विकास हो’ भन्ने महसुस गर्नेछन् । अबको केही वर्षमा हामी त्यो वातावरण बनाउँछौं । तीनदेखि पाँच हजारसम्म रोजगारी सृजना गर्छौं । नसुनेका उपभोक्ता र ग्राहकका लागि रमेश कर्प एउटा नयाँ नाम हो, तर चिन्ने–बुझ्नेका लागि यो एउटा इमान्दार प्रयास र गुणस्तरीय छवि हो ।

रमेश कर्प नामसँगै बिजनेस प्रडक्टहरु पनि लन्च हुन्छ ?

प्रडक्टको योजना छ, तर तत्काल आउँदैन । किनभने अहिले हामी ‘रि–ब्राण्डिङ’ र ‘रि–वरियन्टेसन’मा छौं । त्यो अभियान सकिएपछि नयाँ प्रडक्ट आउँछ । हामी रमेश कर्पलाई विश्वव्यापी ब्राण्डिङ गर्न चाहन्छौं । यसका लागि क्रमागत योजनाहरु छन् । यसका लागि आगामी पाँच वर्ष काम गर्दैछौं ।

त्यसपछि आफ्नै उत्पादनलाई विश्वव्यापी रुपमा चिनाउने काम गर्छौं । नेपाल र नेपालीलाई माया गर्नेले नेपाली उत्पादनलाई माया गर्छन् भन्ने हाम्रो विश्वास छ । त्यसका लागि पानी, बिजुली, सिमेन्ट वा विद्युतीय सामग्रीहरुलाई प्राथमिकतामा राखेका छौं । मध्यपूर्वमा पानी बेच्न हामी सक्षम छौं  । यस्तै भारतमा बिजुली, सिमेन्ट र विद्युतीय सामग्रीहरु निर्यात गर्छौं । यो हाम्रो विश्वास र भविष्य हो ।

हामीसँग जोडिएका भारत र चीन छन् । चार–पाँच घण्टाको उडान दूरीमा मध्यपूर्व छ । यस्तो भौगोलिक अवस्थितिमा जोखिम नमोल्नु त कमजोरी हुनसक्छ ।

अहिले रमेश कर्पले कति रोजगारी सृजना गरेको छ ? पाँच हजार रोजगारी सृजना गर्ने आधारहरु के–के हुन् ?  

रमेश कर्पमा अहिले सात हजार कर्मचारी छन् । हामीले बनाएको व्यावसायिक योजनाअनुसार थप पाँच हजार रोजगारी सृजना गर्न कठिन देख्दिनँ । हामी व्यवसाय विस्तारमा छौं । यसले रोजगारी सृजनाको लक्ष्यमा खासै कठिनाइ छैन ।

अर्थतन्त्र कोभिड महामारीपछिको अप्ठ्यारो अवस्थामा छ । कोभिडको दोस्रो लहरको पनि चर्चा छ, यस्तो बेला रमेश कर्पको महत्वाकांक्षी लक्ष्य प्राप्ति गर्न कठिन होला नि ?

मैले आगामी पाँच वर्ष नेपालका लागि राम्रो समय मानेको छु । कोभिड अवश्य समस्या हो तर त्यो यूरोप र अमेरिकाको लागि हुनसक्छ । हाम्रो अर्थतन्त्रमा यसले असर पार्दैन हामी अगाडि बढ्न सक्छौं ।

फेरि, जहाँ जोखिम हुन्छ त्यहाँ प्रगति हुन्छ । जोखिम र पीडा खपेरै सफलता हात पार्ने हो । दक्षिण एशियामा बंगलादेश जोखिम र संकटको बेलामै अगाडि बढ्यो । अबको चार–पाँच वर्षमा नेपाल पनि उठ्ने सामर्थ्य राख्छ भनेरै हामीले जोखिम उठाएका हौं ।

हामीसँग जोडिएका भारत र चीन छन् । चार–पाँच घण्टाको उडान दूरीमा मध्यपूर्व छ । यस्तो भौगोलिक अवस्थितिमा जोखिम नमोल्नु त कमजोरी हुनसक्छ ।

रमेश कर्प सफल होला ?

सन् २००८ मा पढाइ सकेर फर्कंदा म २२ वर्षको थिएँ । त्यतिबेला शुरु गरेको स्पाइस फोन तीन वर्षमा नेपालको उत्कृष्ट तीन ब्राण्डमध्ये एक भयो । सीडीएमए जीएसएम डुअल सिम बिक्री गर्नेमा हामी पहिलो कम्पनी थियौं । तीन वर्षमा तीन जनाबाट १५० जना बन्यौं । त्यसपछि बजारमा एन्ड्रोइड फोनको लहर छायो ।

सामसङले बजार लिड गरिरहेको बेला हामीले कलर्स मोबाइललाई लञ्च गर्‍यौं । दुई वर्षमा हामीले सामसङलाई पनि जित्यौं । इन्ड्रोइडमार्फत हामीले नेपालीलाई स्मार्ट फोन चलाउन अभ्यस्त बनायौं । अहिले पनि कलर्स, नोकिया र साओमी मोबाइल बजारमा पठाइरहेका छौं । मोबाइल बजारमा ३० प्रतिशत हिस्सा हाम्रो छ । शून्यबाट शुरु गरेर त उत्कृष्ट हुन सक्यौं भने अहिले त साम्राज्यबाट शुरु गर्दैछौं ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?