
२३ वैशाख, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले तीन दिनअघि सामाजिक सञ्जालबाट एक आह्वान गर्दै भने, ‘हिमाल चढ्न जानेले र ट्रेकिङ गर्नेले प्रयोग गरेका सिलिण्डर छन् भने आविष्कार केन्द्रलाई दिनुहोला ।’
पुनका अनुसार हिमाल चढ्दा प्रयोग गर्ने अक्सिजन सिलिण्डरमा चार केजी अक्सिजन अट्छ । यो अक्सिजनले ६ घण्टासम्म थेग्छ । पुनको यो आह्वानसँगै नेपाल पर्वतारोहण संघ यस्तो सिलिण्डरको खोजीमा लागिसकेको छ ।
अहिलेसम्म ६० वटा सिलिण्डर काठमाडौंमा फेला पारेको र यी सिलिण्डर राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गर्ने तयारी भएको संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए ।
‘आरोहणमा प्रयोग हुने सिलिण्डर मेडिकल प्रयोजनमा प्रयोग हुनसक्छ वा सक्दैन हामीलाई जानकारी थिएन,’ उनले भने, ‘जब महावीर पुनको आह्वान आयो, अहिले त्यस्तो सिलिण्डरलाई जम्मा पारेर उहाँलाई हस्तान्तरण गर्दैछौं ।’
कहाँबाट आउँछ आरोहीले बोक्ने सिलिण्डर ?
अहिले हिमाल आरोहणमा निकै हलुका र सहज खालको सिलिण्डर प्रयोग हुन्छ । हिमाल आरोहणका विज्ञ तथा संघका पूर्वअध्यक्ष जिम्माजाङ्बु शेर्पाका अनुसार हिमाल आरोहणमा लैजाँदा प्रयोग गर्ने सबैजसो सिलिण्डर रुस, कोरियालगायत मुलुकबाट अक्सिजनसहित आयात हुन्छ ।
प्रयोगका क्रममा कतिपय सिलिण्डर बिग्रन्छन् । कतिपय आरोहीले थाकेर बोल्न नसक्दा हिमालमै छाडेर फर्कन्छन् । जुन फोहोरमा परिणत हुन्छ । कसैकसैले भने फिर्ता ल्याउँछन् ।
संघका महासचिव गुरुङका अनुसार आरोहीले नेपालमा पुनः अक्सिजन भरेको सिलिण्डरलाई त्यति धेरै विश्वास गरिहाल्दैनन् । सोहीकारण केही महँगो भएपनि उनीहरुले सिलप्याक सिलिण्डर नै खोज्छन् । त्यसैले पनि आरोहण सिजनमा नयाँ अक्सिजन सिलिण्डर आयात गरिन्छ र पुरानो फाल्ने गरिन्छ ।
तर, योपटक भने आरोहण व्यवस्थापन गरिरहेका सबै कम्पनीहरूले आरोहणमा प्रयोग भएका सिलिण्डर सकेसम्म बचाएर फिर्ता ल्याउने गुरुङले जानकारी दिए । ‘अब सिलिण्डर पुनः प्रयोग गरी मेडिकल प्रयोगमा ल्याउन सकिन्छ भन्ने थाहा भयो, सकेसम्म फिर्ता ल्याउँछौं,’ उनले भने ।
आरोहीसँग छन् हजारौं सिलिण्डर
पर्यटन विभागको तथ्यांक अनुसार जारी हिमाल आरोहणका दौरान ४०८ जना आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका छन् । ८ हजार मिटरभन्दा अग्ला हिमालमा कुल ५८६ आरोहीले अनुमति लिएका छन् । ८ हजारभन्दा अग्ला हिमालमा अक्सिजनको बढी आवश्यकता पर्छ ।
सगरमाथाको हकमा ‘क्याम्प टु’ भन्दा माथि लागेपछि अक्सिजनको खपत शुरु हुन्छ । पूर्वअध्यक्ष शेर्पाको अनुभवमा आरोहण बढी व्यापारमा परिणत भएसँगै हिमालमा अक्सिजनको खपत पनि बढेको हो । पहिले आरोहीले अक्सिजन साथमा बोकेपनि मुस्किल नहुन्जेल प्रयोग गर्दैनथे ।
‘हिमाल त प्रकृतिसँग घुलमिल हुँदै चढ्ने हो नि,’ उनी भन्छन्, ‘अहिले वेसक्याम्पमै अक्सिजन दिनुपर्नेहरू पैसा तिरेको भरमा आरोही बनेका छन् ।’
महासचिव गुरुङका अनुसार अहिले सगरमाथासहित ८ हजार मिटरभन्दा अग्लो हिमाल चढ्ने आरोहीले कम्तीमा चारवटा सिलिण्डर खपत गर्छन् । उनीहरुको साथमा रहने शेर्पा सहयोगीले औसत दुईवटा सिलिण्डर खपत गर्छन् ।
यो आधारमा यो वर्ष ८ हजार मिटरभन्दा अग्ला हिमालमा औसत ३ हजार ५०० वटा अक्सिजन सिलिण्डर खपत हुनेछन् । यो एउटा आरोही बराबर एक शेर्पा सहयोगी हिसाब गरेर निकालिएको अनुमानित तथ्यांक हो ।
महासचिव गुरुङका अनुसार हिमालमा लगेका सबै सामान सकुशल ल्याउन सम्भव छैन । कतै हिउँमा पुरिने, कतै लडेर बिग्रने हुन्छ । तर, यो सिजन सकिएसँगै बढीभन्दा बढी सिलिण्डर फिर्ता ल्याउने प्रयास गरिने उनको भनाइ छ ।
महासचिव गुरुङका अनुसार एक/दुई दिनमै सगरमाथामा आरोहीहरु चुचुरोतर्फ जानेछन् । अहिले केही दिन मौसम सफा हुने देखिएको छ । सगरमाथाको आधार शिविरमा मेडिकल टिम खटिएको छ । सामान्य स्वास्थ्य समस्या देखिनासाथ तत्काल काठमाडौं फर्काउने गरिएको छ ।
रेगुलेटरसहित आएका सिलिण्डर काम लाग्छन् : पुन
आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनका अनुसार अहिले केही सिलिण्डर केन्द्रमा आइपुगेका छन् । तर, ती सिलिण्डरमा रेगुलेटर छैनन् । यसरी रेगुलेटरबिना आएका सिलिण्डरको प्रयोगमा भने समस्या हुन्छ । सोहीकारण उनले सकेसम्म प्रयोग गरिसकेपछि रेगुलेटर सुरक्षित राख्न आग्रह गरे ।
‘दुई/तीनवटा सिलिण्डरका लागि एउटा रेगुलेटर भए पनि हुन्छ, तर रेगुलेटर चाहियो,’ उनले अनलाइनखबरसँग भने, ‘हामीले बजारमा पनि रेगुलेटर खोजिरहेका छौं, त्यो पाइएमा अक्सिजन सिलिण्डर काम लाग्छ ।’ उनले हिमालबाट फर्कंदा सकेसम्म रेगुलेटर साथमै ल्याउनसमेत आग्रह गरे ।
प्रतिक्रिया 4