
११ जेठ, वीरगञ्ज । वीरगञ्जको नारायणी वयोधा अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट छातीको सफल शल्यक्रिया गरिएको छ । भारतको आसाम निवासी ३० वर्षीय पप्पु बोहराको दूरबिन प्रविधिबाट छातीको शल्यक्रिया गरी फोक्सोमा फसेको फलामको टुक्रा निकालिएको छ ।
वीरगञ्जकै एउटा कारखानामा कार्यरत बोहरा काम गर्ने क्रममा दुर्घटनामा परेका थिए । दुर्घटनामा फलामको एउटा टुक्रा बेगले उछिट्टिएर उनको दाहिने छाती छेडेर भित्र पसेको थियो । वीरगञ्जकै अर्को निजी अस्पतालमा पुगेका उनलाई वीरगञ्जमा यसको उपचार सम्भव नभएको भन्दै काठमाडौं जान सुझाव दिइएको थियो ।
त्यसपछि वयोधा अस्पताल आएका उनको छातीको सीटी स्क्यान गरेर हेर्दा दाहिने फोक्सोभित्र फलामको टुक्रा देखियो । डा. सौरभ शर्माको टोलीले दूरबिन प्रविधिबाट छातीको अपरेसन गरी फलामको टुक्रा निकालेको अस्पतालले जनाएको छ ।
भिडियो सहयोगी थोरास्कोपिक शल्यक्रिया भ्याटस् कम आक्रामक शल्यक्रियाको विधि हो । छातीमा समस्याहरूको निदान गर्न र उपचार गर्न यो विधिको प्रयोग गरिने चिकित्सिकहरु बताउँछन् । उनीहरुका अनुसार छातीको भित्तामा एक वा बढी स–साना प्वालहरु पारेर सानो क्यामेरा (थोरास्कोप) र शल्य चिकित्सा उपकरणहरू पठाइन्छ । थोरास्कोपले छातीको भित्ताका तस्वीरहरू भिडियो मोनिटरमा प्रसारित गर्दछ । जसले सर्जनलाई शरीरभित्र काम गर्ने प्रक्रियामा सघाउँछ ।
दूरबिन विधिबाट शल्यक्रिया गर्दा धेरै चिर्नु नपर्ने चिकित्सकहरुले बताए । सानो प्वाल पारेर शल्यक्रिया गरिने भएकाले बिरामीलाई धेरै दुखाइ नहुने र धेरैदिन अस्पताल बस्नु पनि नपर्ने अस्पतालका प्रमुख डा. रजनीश भारतीले जानकारी दिए ।
‘पुरानै विधिबाट अपरेसन गराएको भए छातीमा ठूलो घाउ बनाउनु पथ्र्यो, घाउ ठूलो हुने हुँदा दुखाइ र जोखिम दुवै बढी हुन्थ्यो, शल्यक्रियापछि धेरै दिन बिरामीलाई अस्पतालमै बस्नु पर्ने हुन सक्थ्यो,’ उनले भने, ‘तर दूरबिन प्रविधिबाट शल्यक्रिया गर्दा यी सबै कुरामा सहज हुन्छ ।’
प्रतिक्रिया 4