
३ असार, काठमाडौं । दुई दिनदेखि काठमाडौंबाट फोहोर बोकेर औखरपौवा (सिसडोल) पुगेका गाडीले फोहोर फाल्ने ठाउँमा जान पाएका छैनन् । काठमाडौं उपत्यकाभित्रको फोहोर बिर्सजन गर्न गएका गाडीलाई फोहोर बिसर्जन गर्ने ठाउँको अभाव भएको छ भने साइटसम्म पुग्न सडकको अवस्था पनि बिग्रिएको छ ।
सडक पनि बिग्रिएको र फोहोर फाल्ने ठाउँ पनि भरिएको कारण फोहोर बिसर्जन प्रभावित भएको काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठ बताउँछन् ।
वर्षैसाल वर्षायाममा यस्तो समस्या पर्दै आएको छ । विगतमा पुरेर बाँकी रहेका केही खोल्साखाल्सीमा डोजर चलाएर थोरै-थोरै ठाउँ निकाएको थियो । त्यसमै व्यवस्थापन गरिरहेको महानगरलाई वर्षायाम लागेपछि भने सँधै यस्तै सकस पर्ने गरेको छ ।
‘दिउँसोबाट फोहोर पठाउने तयारीमा छौं, भरिएको भागमै यताउति मिलाएर फोहोर फाल्ने ठाउँ निकाल्छौं,’ श्रेष्ठले भने । अब सिसडोलको ल्यान्डफिल साइटमा नयाँ ठाउँ निकाल्न मुस्किल पर्न थालिसकेको छ ।
विगतमा अधिग्रहण भएका बचेखुचेका कुनाकानी पनि भरिसकेको छ । सिसडोलको चरम उपयोग भइसकेको भन्दै श्रेष्ठले बञ्चरेडाँडाको विकल्प छिटो तयार गर्नुपर्ने बताए ।
यो वर्षको वर्षायाममा लकडाउनका कारण होटल तथा रेस्टुरेन्टबाट निस्कने फोहोर लगभग बन्द छ । धेरै श्रमिकले काठमाडौं छाडेकाले घर तथा कोठाहरुबाट पनि फोहोर पनि घटेको छ ।
यस्तो अवस्थामा पनि फोहोर फाल्न सास्ती भएपछि महानगरपालिकाले संघ सरकारलाई छिटो बञ्चरेडाँडा उपयोगको लागि वातावरण बनाउन माग गरेको छ ।
‘संघ सरकारले बञ्चरेडाँडाको सइँट दिएको भएर सहज हुन्थ्यो,’ श्रेष्ठ भन्छन् ।
सिसडोलमा १३ वर्षदेखि जबरजस्ती बिर्सजन
सिसडोलमा ल्यान्डफिल साइटको क्षमताले नभ्याएर फोहोर पुरेको ढिस्को भासिने जोखिम आइसकेको महानगरका अधिकारीहरु बताउँछन् । साइटको क्षमता सकिएर पटक-पटक बढाइएको छ । अब क्षमता बढाउन पनि नसकिने भन्दै महानगरका अधिकारीले पटक-पटक सरकारलाई जानकारी गराएका छन् ।
सिसडोलको विकल्प नखोजिए काठमाडौंमा फोहोर नउठेर फोहोरकै प्रकोप सिर्जना हुने जोखिम रहेको महानगरका अधिकारीको आँकलन छ । ल्यान्डफिल साइट प्राविधिक रुपमा निकै कमजोर अवस्थामा सञ्चालन भइरहेकोले विकल्पका लागि भइरहेको काम तीव्र बनाउन महानगरको माग छ ।
२०६२ साल जेठ २२ गतेबाट काठमाडौं उपत्यकामा उत्पादन भएको घरेलु फोहोर संकलन तथा ढुवानी गरेर नुवाकोट जिल्लाको तत्कालीन ककनी गाविस (अहिले ककनी गाउँपालिका) को ओखरपौवा क्षेत्रमा व्यवस्थापन गर्न थालिएको थियो । सो क्षेत्रमा फोहोर व्यवस्थापन गर्न थाल्दा साइटले ३ वर्ष धान्ने अनुमान थियो ।
ओखरपौवाको क्षमता सकिएपछि आलेटारमा फोहोर व्यवस्थापन गरियो । आलेटारको पनि क्षमता सकिएपछि सिसडोल ल्यान्डफिल साइटकै क्षमता बढाएर फोहोर व्यवस्थापन गरिँदै आएको छ ।
त्यस समयमा काठमाडौं महानगर र तत्कालीन ललितपुर उपमहानगर (अहिले महानगर) बाट दैनिक ३७५ मेट्रिक टनसम्म फोहोर पुग्ने गरेको थियो । यो परिणामलाई आँकलन गरेर ३ वर्षको क्षमता भनिएको थियो, तर क्रमश फोहोरको मात्रा बढ्दै गएको छ ।
तीन वर्षको अवधिमा दीर्घकालिन ल्यान्डफिल साइट बञ्चरेडाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर व्यवस्थापन सुरुवात गर्ने लक्ष्य थियो । तर, लक्षित समयको १३ वर्षपछि अर्थात् अहिले २०७८ सालसम्म पनि बञ्चरेडाँडाको पूर्वाधार बनेको छैन ।
स्थानीय र सरोकारवालावीच समन्वय नमिल्दा तथा असमझदारी बढ्दा १३ वर्षका बीचमा कयौंपटक फोहोर बोकेर गएको गाडीलाई अवरोध भएको छ । कुनै समयमा लगातार ४ महिनासम्म फोहोर फाल्न अवरोध भएको थियो ।
बञ्चरेडाँडामा ढिलाइ
सिसडोल भरिन लागेपछि धादिङ र नुवाकोटको सिमाना बञ्चरेडाँडामा नयाँ ल्यान्डफिल साइट निर्माण भइरहेको छ । सहरी विकास मन्त्रालय र काठमाडौं महानगरले निर्माण गरिरहेको ल्यान्डफिल साइटको निर्माणको गति सुस्त छ । लकडाउनमा निर्माण सामग्री उपलब्ध नभएको बहानामा काम रोकेर राखिएको छ ।
२०७७ साउनबाट बञ्चरे डाँडामा फोहोर व्यवस्थापन सुरु गर्ने भनिए पनि काम सकिएको छैन । ठेकदारले सम्झौताअनुसार काम नगर्दा समस्या भएको उनीहरुको तर्क छ । बञ्चरेडाँडामा फोहोर व्यवस्थापन थालेपछि मात्रै सिसडोल ल्यान्डफिल साइटको ‘पोष्ट क्लोजर’ गर्न सकिन्छ ।
फोहोर व्यवस्थापन गर्न बञ्चरे डाँडामा १ हजार ७९२ रोपनी जग्गा अधिग्रहण गरिएको छ ।
बञ्चरेडाँडामा स्यानिटरी ल्यान्डफिल साइट निर्माण गर्न ०७६ बैशाख २२ गते लुम्बिनी-कोशी एण्ड न्यौपाने जेभसँग ठेक्का सम्झौता गरिएको थियो । एक वर्षभित्र काम सम्पन्न गर्ने भनिएको थियो । भ्याटबाहेक ३४ करोड ६८ लाख ७४ हजार ८९५ रुपैयाँमा सम्झौता गरिएको हो ।
सम्झौता भएपछि कोशी एण्ड न्यौपानेको स्वामित्व परिवर्तन भयो । यही कारण क्लालिटी एस्युरेन्स प्लान (क्युएपी) र मोबिलाइजेसन बापत ठेकदारलाई दिएको पेश्की रकम ६ करोड ८० लाख रुपैयाँको विवरण कम्पनीले समयमै बुझाउन सकेन ।
२०७६ पुस २२ गते ठेकदारले परिवर्तित कार्यतालिका पेश गरेको थियो । तर, पेश गरेको तालिकाअनुसार काम हुन सकेन । निर्माण पक्षबाट समयमा काम नभएपछि ल्यान्डफिल साइट निर्माण कहिले सम्पन्न हुने भन्ने चिन्तामा महानगरका अधिकारीहरु छन् ।
शहरी विकास मन्त्रालय यस विषय गम्भीर नहुँदा समस्या महानगरले भोग्नुपरेको विभागीय प्रमुख श्रेष्ठ बताउँछन् ।
कति निस्किन्छ फोहोर ?
सामान्य अवस्थामा काठमाडौं उपत्यकाबाट दैनिक करिब १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ । काठमाडौं महानगरको वातावरण व्यवस्थापन विभागले ओखरपौवा स्यानिटरी ल्यान्डफिल्ड साइटमा पुर्याइएको फोहोरको परिणामका आधारमा निकालेको तथ्यांक हो । यसबाहेक संकलन हुन नसकेको फोहोर र श्रोतमा घटाएको थप फोहोर पनि छ । यसको तथ्यांक यकिन छैन । मेट्रिक
१ हजार ४५ मेट्रिक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिका क्षेत्रबाट दैनिक ५१६ मेट्रिक टन र त्यसपछि ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर संकलन गरेर ल्यान्डफिल्ड साइटमा पुर्याउने गरिएको छ । उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर सिसडोल ल्यान्डफिल साइटमा पुर्याइन्छ ।
उपत्यकाका गोकर्णेश्वर नगरबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । नागार्जुन, टोखा, तारकेश्वर र बुढानिलकण्ठ गरी ४ वटा नगर क्षेत्र हरेकबाट ३५/३५ मेटि्रक टन फोहोर उत्पादन हुने गरेको महानगरको तथ्यांकले देखाउँछ ।
चन्द्रागिरि, महालक्ष्मी र मध्यपुर थिमी नगर क्षेत्र हरेकबाट ३०/३० मेटि्रक टन फोहोर उत्पादन हुन्छ । गोदावरी रसूर्यविनायक नगर क्षेत्रबाट क्रमशः २५/२५ मेटि्रक टन, कागेश्वरी मनोहरा नगर क्षेत्रबाट २० मेटि्रक टन, दक्षिणकाली र चाँगुनारायण नगर क्षेत्रबाट १५/१५ मेट्रिक टन फोहोर संकलन हुने गरेको छ ।
शंखरापुर नगर क्षेत्रबाट ८ मेट्रिक टन र सबैभन्दा कम कीर्तिपुर नगरबाट दैनिक ६ मेट्रिक टन मात्र फोहोर उत्पादन हुने गरेको छ । महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख श्रेष्ठका अनुसार उपत्यकाका नगरबाहेक नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगर क्षेत्रको फोहोर पनि ल्यान्डफिल साइटमा आउने गरेको छ ।
प्रतिक्रिया 4