
१४ असार, काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण प्रभावित बनेको स्वास्थ्यलगायतका क्षेत्रको सुधारको लागि ११ खर्ब भारतीय रुपैयाँको सहुलियत ऋणको योजना ल्याएको छ । भारतीय अर्थमन्त्री निर्मला सीथारमणले सोमबार उक्त घोषणा गरेकी हुन् ।
अर्थमन्त्री सीथारमणले मुलुकको आर्थिक क्षेत्रमा सुधारको लागि अन्य केही महत्वपूर्ण घोषणा पनि गरेकी छिन् । उनले महामारीको कारण समस्यामा रहेका मझौला उद्योगको सुधारको लागि इमर्जेन्सी क्रेडिट लाइन ग्यारेन्टी स्किम (ईसीएलजीएस) अन्तर्गत दिइने रकम पनि ५० प्रतिशत बढाउँदै ४५ खर्ब भारु पुर्याउने घोषणा गरेकी छिन् ।
यो आर्थिक प्याकेजको विषयमा विस्तृत रुपमा जानकारी दिँदै सीथारमणले आर्थिक राहत पुर्याउनका लागि आठ किसिमका योजना ल्याएको बताएकी छिन् । उनका अनुसार तीमध्ये चारओटा नयाँ छन् र एउटा योजना स्वास्थ्य पूर्वाधारमा केन्द्रित छ ।
सन् २०२० को मे महिनामा केन्द्र सरकारले २०० खर्ब भारुको आत्मनिर्भर भारत योजनाको घोषणा गरेको थियो । उक्त योजनामा ईसीएलजीएस कार्यक्रमको लागि ३० खर्ब भारु छुट्याइएको थियो ।
गत महिना सरकारले यो कार्यक्रमबाट अस्पतालहरुलाई सहुलियत कर्जाको सुविधा बढाउने निर्णय गरेको थियो । यो सुविधा अस्पतालमा अक्सिजन प्लान्ट बनाउनका लागि दिइएको थियो ।
त्यस्तै अर्थमन्त्री सीथारमणले भारत भ्रमणमा आउन चाहने पाँच लाख मानिसलाई निःशुल्क भिसा उपलब्ध गराउने बताएकी छिन् । साथै पर्यटनको क्षेत्रमा काम गर्ने दर्ता भएका ११ हजारलाई वित्तीय सहयोग उपलब्ध गराउने उनको भनाइ छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4