+
+
बिन्दुकुमार थापाको राजनीतिक उदय :

निष्ठाको राजनीतिमाथि हाबी भएका धनाढ्य मन्त्री

अमृत सुवेदी अमृत सुवेदी
२०७८ साउन ८ गते २०:०७

८ साउन, पोखरा । उद्योग वाणिज्य संघ, पोखराको अध्यक्षबाट २०७३ सालमा बिदा भएपछि व्यवसायी बिन्दुकुमार थापाले एउटा अनौपचारिक कार्यक्रममा भनेका थिए, ‘व्यापार भन्दै धेरै कुदियो । अब राजनीतितिर लाग्ने हो ।’

नेपाल राष्ट्र बैंकको जागिर छाडेर अटो क्षेत्र हुँदै रियल स्टेट व्यापारबाट धनाढ्यको परिचय बनाइसकेका थिए । २०७१ सालमा संघको अध्यक्ष हुनुअघि नै उनमा राजनीतिको भोग जागिसकेको थियो । अध्यक्षबाट हट्नासाथ नेपाली कांग्रेसमा उनले सक्रियता बढाए । २०७४ को स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा दाबी गरे । पूर्वमन्त्री महादेव गुरुङ, कृष्ण केसी, देवराज चालिसे, रामजी कुँवर लगायत करीब एकदर्जन जिल्ला नेता मेयरका आकांक्षी थिए ।

रामजी कुँवरले टिकट पाए । तर थापाले राजनीतिमा सक्रियता घटाएनन्, बरु बढाए । कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल मात्र होइन, केन्द्रबाट हरेक नेता आउँदा जोडदार खातिरदारी गरे । एक नेता भन्छन्, ‘मनग्गे पैसा भएकाले चाँडै नेताहरुसँग सम्बन्ध जोड्न सके ।’

२०७४ को आम निर्वाचनमा आजीवन कांग्रेसको राजनीति गरेका थुप्रै आकांक्षीलाई पछि पार्दै कास्की क्षेत्र नम्बर २ (ख) मा टिकट पाए । ‘पैसाले टिकट किनेको’ भन्दै उनी विरुद्ध नरेशशंकर पालिखेले बागी उम्मेदवारी नै दिए ।

तर, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन देशका धेरै क्षेत्रमा चुनाव जित्दा थापाले कास्कीमा कांग्रेसको बीउ जोगाए । बागीको चुनौतीबीच पनि उनी माओवादी केन्द्रका प्रभावशाली नेतामध्येमै पर्ने राजकाजी गुरुङ (करण)लाई करीब ८०० मतान्तरले पराजित गर्दै प्रदेशसभामा प्रवेश गरे ।

गण्डकी प्रदेशमा कांग्रेसले पाएको १५ सांसदमध्ये ६ जना मात्र प्रत्यक्ष निर्वाचित छन् । प्रत्यक्ष निर्वाचित सांसद भएकाले उनले संसदीय दलको नेता बन्न दौडधुप गरे, तर उनको जोर चलेन । कांग्रेसको राजनीतिमा जीवन गुजारेका कृष्णचन्द्र नेपाली पोखरेल दलको नेता बने । तर प्रदेशसभामा उनको सक्रियता कायमै रह्यो । शून्य र विशेष समयमा धेरै बोल्ने सांसदमध्ये पर्छन् उनी ।

पाँच वर्ष प्रतिपक्षमा बस्न पठाएको कांग्रेसलाई नेकपाको फुटसँगै सत्ताको अवसर जुर्‍यो । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतका दलले वैकल्पिक सरकार गठन गर्ने प्रयास थाले । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव लैजाने छलफलका लागि नेताहरुले थापाकै घर रोजे ।

झण्डै दुई महिनाको प्रयासपछि २९ जेठमा कांग्रेस संसदीय दलका नेता पोखरेल मुख्यमन्त्री बने । थापाले फेरि मन्त्रीका लागि दौडधुप शुरु गरे, जसमा उनी सफल भएका छन् । ‘कास्कीमा थापाको सम्भावना न्यून थियो । पार्टीमा लगानी, क्षेत्र र समूह मिलाउँदा उनी पर्थेनन्,’ कांग्रेसका एक सांसद भन्छन्, ‘तर शेरबहादुरदेखि शशांक कोइरालासम्म सेटिङ मिलाउन उनी सफल भए ।’

मुख्यमन्त्री पोखरेलले शुक्रबार दोस्रो पटक मन्त्रीमण्डल विस्तार गर्दा थापा कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री बने । त्यसका लागि चार दशकभन्दा लामो समय कांग्रेसको राजनीतिमा रहेका तनहुँका सांसद डोबाटे विकको नाम काटियो । ‘रामचन्द्र पौडेल समूहका विकको नाम टुंगो लागेर सपथका लागि खबर भइसकेको थियो, तर अचानक उनको नाम काटियो,’ एक सांसद भन्छन् ।

यसमा विकको प्रतिक्रिया छ, ‘४२ वर्षदेखि निष्ठाको राजनीति गरिरहेको छु । अहिले अपमान गरियो । योभन्दा अरु म के भन्न सक्छु र ?’ समूह मिलाउन र मन्त्रिमण्डल समावेशी बनाउन पनि विकलाई मन्त्री बनाउन खोजिएको कांग्रेसका एक सांसद बताउँछन् । भन्छन्, ‘पैसावाला बिन्दु थापालाई मन्त्री बनाउन सभापतिकै निर्देशनबाट चारदशक लामो निष्ठापूर्ण राजनीतिको हत्या गरियो ।’

कानून पढेका थापाले कानुन मन्त्रालय नै पाएका छन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?