
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर हुँदै गएको सबैले स्वीकार्छन् । यसलाई सुधार्न विभिन्न प्रकारका तालिम, सभा, सम्मेलन, अन्तरक्रिया, छलफल, योजना निर्माण आदि आयोजना भइरहन्छन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने प्रयत्न गरिंदै आए पनि व्यवहारमा सार्थकता पाउन सकिरहेको छैन । शैक्षिक गुणस्तर उकास्न तथा शैक्षिक उपलब्धि वृद्धि गर्नका लागि गरिएका अनेकौं कार्यका लागि करोडौं रकम खर्चेर पनि प्रतिफल निराशाजनक छ ।
सरकारी तथ्यांकमै सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ स्तर कमजोर रहेको तथ्य सार्वजनिक हुँदै आएको छ । अर्कातर्फ निजी स्रोतको लगानीमा पनि शिक्षालयहरू सञ्चालित छन् । त्यहाँ योग्य तथा तालिमप्राप्त विषयगत शिक्षकको त्यति राम्रो व्यवस्था हुँदैन । सरकारी अनुगमन पनि हुँदैन तर पनि शैक्षिक गुणस्तर सामुदायिक भन्दामाथि रहेको विभिन्न तथ्यले देखाइरहेका छन् ।
शिक्षा देशको भविष्य निर्माणको मेरुदण्ड हो । समाज र राष्ट्रलाई गतिशील बनाई विकास र समृद्धिको लयमा डोर्याउने मार्गदर्शक हो । हरेक देश कस्तो हुने र कस्तो बनाउने भन्ने विषय त्यहाँको शिक्षा प्रणालीले निर्धारण गर्छ । मानव समुदायलाई आधुनिकता सँगसँगै मानवीय उन्नति र प्रगतितर्फ बढ्न शिक्षाले उत्प्रेरणा दिन्छ ।
विश्व शिक्षा आधुनिकता सँगसँगै चन्द्रमामा नयाँ बस्ती विकासको योजना बुनिरहेको छ । सम्भावनाका ढोकाहरू पहिल्याउँदैछ । तर हाम्रो शिक्षा प्रणाली त्योभन्दा धेरै टाढा छ । सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि दिनदिनै कमजोर हुँदै गैरहेको छ । सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने योजना बुनिरहँदा त्यहाँ ध्यान जान सकेको छैन जहाँ शैक्षिक सत्र भरी पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेको हुँदैन । जहाँ विषयगत, तहगत, विज्ञ शिक्षकको अभाव छ ।
किन कमजोर भैरहेको छ सामुदायिक विद्यालयको शिक्षा ?
- हुम्ला, जुम्ला, डोल्पा लगायतका विकट ग्रामीण भेगमा समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुग्नु
- पाठ्यपुस्तक पुगे पनि विषयगत तथा तहगत शिक्षकको अभाव हुनु
- पर्याप्त मात्रामा शिक्षण सिकाइ क्रियाकलापका लागि आवश्यक पर्ने शैक्षिक सामग्रीको व्यवस्था नहुनु
- शैक्षिक क्षेत्रमा राजनीति हावी हुनु
- समुदाय, व्यवस्थापन समिति र शिक्षकमा जिम्मेवारीबोध तथा अपनत्वको भावनामा कमी आउनु
- पाठ्यक्रमबाट निर्दिष्ट उद्देश्य प्राप्तिका लागि सो अनुरूपको शिक्षण सिकाइ नहुनु
- शिक्षकहरूले पूर्णरूपमा आफ्नो जिम्मेवारी पूरा नगर्नु
- फितलो व्यवस्थापन
- कमजोर सरकारी संयन्त्र
सामुदायिक विद्यालय सुधार गर्न हरेक वर्ष बहस हुन्छ । तर विद्यार्थीको सिकाइ सुधार हुनसकेको छैन । शिक्षकलाई जवाफदेही, जिम्मेवारी र कर्तव्यबोध गराउन सकिएको छैन । त्यसकारण पनि प्रभावकारी शिक्षण सिकाइ हुनसकिरहेको छैन ।
कक्षाकोठा व्यवस्थापन गर्नसकेको छैन । कक्षामा के पढाउने ? भन्ने योजना विनै शिक्षक कक्षा प्रवेश गर्छन् । यस्ता क्रियाकलापले सामुदायिक विद्यालयको गुणस्तरमा कमी ल्याएको छ । शिक्षकले पढाउने भन्दा पनि राजनीति गर्न व्यस्त हुने गलत परिपाटीले झनै सामुदायिक विद्यालयको शिक्षालाई पछाडि धकेल्न टेवा पुर्याएको छ ।
शैक्षिक गुणस्तर कायम गर्न के गर्ने ?
- समयमै पाठ्यपुस्तकको उपलब्धता गराउने
- विषयगत, तहगत एवम् तालिम प्राप्त शिक्षकको व्यवस्था गर्ने
- शैक्षिक सामग्रीको व्यवस्था गर्ने
- शैक्षिक गुणस्तर सुधार गर्ने शिक्षक, कर्मचारीलाई पुरस्कार र कमजोर हुनेलाई तालिम दिएर सुधारको अवसर दिने
- शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र स्थानीय तहप्रति उत्तरदायी भए शैक्षिक गुणस्तर कायम गर्न सकिन्छ ।
राज्यको शिक्षा देश निर्माणको जग भएको हुनाले सामुदायिक शिक्षा प्रणालीमै आमूल परिवर्तनको जरुरी छ । अब पुरानै ढाँचामा होइन समयसापेक्ष परिवर्तन गरी कमी–कमजोरी हटाएर राज्यको आवश्यकता र समयको माग अनुरूपको जनशक्ति उत्पादन गर्ने शिक्षा लागू गर्नुको विकल्प छैन ।
सामुदायिक विद्यालयको अवस्था खस्किनुमा एकले अर्कोलाई दोष लगाएर आफू राम्रो देखिने प्रवृत्ति गलत छ । अभिभावकहरू शिक्षकले पढाएनन् भन्ने । शिक्षक विद्यार्थीले पढेनन् भन्ने । विद्यालयबाट भाग्यो, गृहकार्य गर्दैन जस्ता कुरा गर्ने ।
विद्यालय व्यवस्थापन समितिले अभिभावक, शिक्षक तथा विद्यार्थीलाई तालमेल गराउन नसक्ने । विद्यालयको शैक्षिक सुधारभन्दा भौतिक पूर्वाधारको योजनातिर बढी चासो दिने गरेको वर्तमान परिपाटी छ । यस्ता विषयमा सबैको तालमेल र सहकार्य भएमा अवश्य पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम हुन्छ भन्ने विषयमा दुईमत छैन ।
(खड्का कक्षा १२ मा अध्ययनरत छन् ।)
प्रतिक्रिया 4