
‘हामी आफू रोएर पनि दर्शक हँसाउने कलाकार । १८ दिन लामो अस्पताल बसाइपछि आज दर्शकमाझ प्रस्तुति दिन नपाउँदा धेरै दुःख लागेको छ । तर, मैले हार मानेको छैन ।’
कुनै बेला अमेरिकामा आफ्ना शुभचिन्तकमाझ घेरिएका साम्दे शेर्पाले मञ्चमा उभिएर यसै भनेका थिए । दर्शकको अपेक्षा थियो, अब साम्देले पेट बटारिने गरी हँसाउनेछन् । तर, उनी अत्यन्तै मलिन र भावुक रूपमा पेश भए ।
यद्यपि त्यो दिन कहिल्यै आएन ।
अमेरिकाबाट दिल्ली हुँदै नेपाल फर्किने क्रममा उनी एकाएक बेपत्ता भए । कहाँ गए साम्दे शेर्पा ? सर्वत्र चासो र खोजी भयो । परिवारले उनलाई खोज्न सबैलाई गुहारे । अन्ततः दिल्लीमा चिनियाँ नागरिकको जस्तो लास भेटिएको खबर आएपछि उनी नै साम्दे हुन् भन्ने अड्कलबाजी गरियो ।
नेपाली हास्यव्यङ्ग्य प्रस्तुतिलाई बलियो बनाउनेमध्येका एक कलाकार थिए, साम्दे शेर्पा । नेपाली हास्यव्यंग्य प्रस्तुतिमा ‘स्ट्यान्ड अप कमेडी’ शैली भित्र्याउने उनै थिए ।
२०२१ सालमा दोलखामा जन्मिएका साम्दे शेर्पा शुरूमा गायनमा थिए । हास्यव्यङ्ग्य क्षेत्रमा आएपछि उनले छिट्टै, छुट्टै पहिचान बनाएको निर्देशक दिनेश डीसी बताउँछन् ।
नारायण त्रिपाठी ‘प्रेम चरो’
कुनै बखत त्यस्ता चलचित्र नै खल्लो लाग्थ्यो, जसमा नारायण त्रिपाठी छैनन् । उनको हाउभाउ, बोलीमा बेग्लै मिठास हुन्थ्यो । त्यही पृथक् आफ्नोपनले नारायण त्रिपाठीलाई दर्शकले रुचाइरहे ।
उनले नाता, मिस्टर रामकृष्णे, गुरुचेला, दैवसंजोग, सिन्दुर–पोते, सगुन, चोर, साथी, एक नम्बरको पाखे, गोर्खाली, आफन्त, तिमी नै बस्यौं मेरो मनमा, यो मायाको सागर, कस्तो साइनो, मनमा माया लगायत दर्जनौं चलचित्रमा हास्य कला देखाए ।
हास्य कलाकारलाई नायकको छेउमा उभिने र केही चुट्किला बोलेर दर्शक हँसाउने पात्रको रूपमा मात्र उभ्याइने त्यो समयमा नारायण त्रिपाठीले आफ्नो छुट्टै महत्व बनाए । राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ जस्ता नायकको छेउमा ‘प्रेम चरो’ अर्थात् नारायण त्रिपाठी नदेखिए दर्शकले मज्जा नमान्ने अवस्था बन्यो । दर्जनौं चलचित्र र सिरियलमा काम गरेका त्रिपाठी नेपाली हास्य क्षेत्रमा पकड जमाइरहेको समयमा अमेरिका पसेर फर्किएनन् ।
गोपाल नेपाल ‘फिस्टे’
होचो कदका प्रतिभावान कलाकार गोपाल नेपाल, जो दर्शकमाझ ‘फिस्टे’ उपनामले सुपरिचित थिए । आफ्नै काका जितु नेपालको साथ पाएर गोपालले ‘ट्वाक्क टुक्क’ नामक हास्य सिरियलबाट अभिनय यात्रा शुरू गरे । कक्षा ४ पढ्दा पहिलो पटक बाल कलाकार बनेका उनी ट्वाक्क टुक्कबाट नयाँ अवतारमा लोकप्रिय बने ।
दर्शकले उनलाई ‘जिरे खुर्सानी र तितो सत्य’मा निकै रुचाए । ‘जिरे खुर्सानी’ सिरियलमा उनले ट्राफिक प्रहरी हवल्दार बनेर ‘नियम कडा छ’ भन्दै बोलेको संवादले दर्शकलाई खुबै हँसायो ।
यी दुवै सिरियल लोकप्रियताको चुचुरोमा पुगिरहेको समयमा टेलिभिजनभित्रको राजनीतिको शिकार बने गोपाल । विज्ञापन एजेन्सीसँगको विवादले दुवै सिरियल बन्द भएपछि उनी समस्यामा परे । सन् २०१२ बाट अमेरिका आउजाउ गरिरहेका उनी २०१६ मा अमेरिका गएपछि फर्किएनन् ।
अहिले सपरिवार अमेरिकामा रहेका गोपालले आफ्नै युट्युब च्यानलमा कमेडी भिडियोहरू अपलोड गरिरहेका छन् । अमेरिकामा रहेर पनि नेपाली दर्शकलाई सक्दो मनोरञ्जन दिइरहेका छन् ।
खेम शर्मा ‘चतुरे’
‘चतुरेको दाउपेच’ नामक सिरियलबाट दर्शकमाझ लोकप्रिय बनेका खेम शर्मा अमेरिकाको बाल्टिमोरवासी बनेको पाँच वर्ष हुनलाग्यो । उनले शिवहरि पौडेलसँग गाईजात्रामा प्रस्तुत गर्ने प्रहसन धेरै नेपाली दर्शकले बिर्सेका छैनन् ।
उनले ‘ट्वाक्क टुक्क’, ‘जिरे खुर्सानी’ लगायत सिरियल मार्फत पनि नेपाली दर्शकलाई खुब मनोरञ्जन गराए । खेम शर्मालाई पनि नेपालको हास्यव्यङ्ग्य क्षेत्रले नाम त दियो, तर आर्थिक भविष्य सुनिश्चित भएन । त्यसैले उनी पनि अमेरिका पलायन भए ।
मोहन मिश्र
नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य सिरियल ‘हत्तेरिका’ कुनै समय निकै चर्चित थियो । त्यसका परिकल्पनाकार, लेखक र कलाकार मोहन मिश्रलाई सन्तोष पन्तले ‘हिजो आजका कुरा’ मार्फत यो क्षेत्रमा ल्याएका थिए । त्यसपछि उनी आफैंले ‘हत्तेरिका’ सिरियल लेखन तथा अभिनय गर्न थाले ।
त्यो सिरियल हिट भएपछि भने मोहन मिश्र हराए । सन्तोष पन्तका अनुसार, सिरियल छाडेर घरजग्गा व्यवसायमा लागेका उनी डेढ वर्षयता सपरिवार अमेरिकामा छन् ।
जो गुमनाम छन्
टेलिसिरियल ‘जिरे खुर्सानी’ का कलाकार देवीराम पराजुलीलाई दर्शकले ‘भोक लाग्यो’ भनेर चिनेका थिए । उनलाई दर्शकले जहाँ भेट्दा पनि ‘भोक लाग्यो’ भनेर बोलाउँथे । तर, सिरियल नै बन्द भएपछि उनी पनि अमेरिका पलायन भए ।
‘जिरे खुर्सानी’बाटै चर्चित बनेका अर्का कलाकार हुन्, गोपाल अधिकारी । उनी ‘ट्वाकेन्द्र’ उपनामले लोकप्रिय बनेका थिए । गाईजात्रादेखि स्टेज कार्यक्रमसम्म उनी निकै व्यस्त बने । उनी पनि अहिले अमेरिकातिरै भविष्य खोजिरहेका छन् ।
यता नेपालको हास्यव्यङ्ग्य क्षेत्रमा नयाँ कलाकारको जन्म पनि स्वाभाविक रूपमा भइरहेकै छ । कमेडी सम्बन्धी रियालिटी शोहरू प्रतिभा चिनाउने नयाँ र राम्रो मञ्चका रूपमा थपिएका छन् । देशको राजनीतिक–आर्थिक परिदृश्यमा भने प्रतिभालाई पलायनबाट रोक्ने छाँटकाँट देखिनसकेको छैन । लाग्छ, पलायन नेपाली प्रतिभाको नियति नै हो ।
प्रतिक्रिया 4