
२३ भदौ, काठमाडौं । नेकपा एमाले विभाजनपछि बनेको दल नेकपा (एकीकृत समाजवादी) ले आफ्ना १४ सांसद उपस्थित भए संसद चल्न नदिने एमाले अध्यक्ष ओलीको अभिव्यक्तिको आलोचना गरेको छ ।
बुधवार बसेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठकले ओलीको अभिव्यक्तिलाई सत्ता गुमाएपछिको छटपटीको संज्ञा दिएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद विरोध खतिवडाले ओलीले अर्को दलको सांसदको उपस्थितिको विषयमा प्रश्न गर्न नमिल्ने बताए ।
‘आज संसदमा हामी १४ जना उपस्थित भए संसद चल्न नदिने भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्नुभएको रहेछ, यस्तो भन्ने उनी को हुन् ? एउटा दलको नेतालाई उपस्थित भए संसद चल्न नदिने भन्ने उनी को हुन् ?’ सांसद खतिवडाले प्रश्न गरे ।
सांसद खतिवडाले संविधानको धारा १०५ र संसद नियमावलीको नियम २१ ले अदालतमा विचाराधीन मुद्दामा संसदमा बहस गर्न नपाइने व्यवस्था गरेको स्मरण गराए । ‘उनीहरु नै मुद्दामा गएका हुन्, केपी ओलीलाई कानून, नियम, संविधान, विधि, पद्धति, लोकतान्त्रिक सरोकार योसँग कुनै सम्बन्ध छैन’ उनले भने ।
सांसद खतिवडाले एमालेका नेताहरुले उठाएका कुराको प्रतिवाद गर्ने बताए । ‘सत्तापक्षको हैसियतले उनीहरुले उठाएका कुराको प्रतिवाद गर्छौं । सभामुखसँग आज्ञा लिएर, यो संसद चल्न नदिने कुरा मिडियाबाजी, खपतका लागि हो, टाँई टाँई फिस हुने कुरा हो, तैपनि संसदमा हामी उत्ताउलो हुँदैनौँ, संयमता पूर्वक प्रतिवाद गर्दछौँ’ उनले भने ।
यसघि प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले कारबाही गरेका १४ जना उपस्थित हुँदासम्म संसद चल्न नदिने बताएका थिए ।
प्रतिक्रिया 4