
आइफोन निर्माता कम्पनी एप्पलले आफ्ना प्रयोगकर्ताका लागि एक चेतावनी जारी गरेको छ ।
एप्पलले उच्च क्षमतायुक्त तथा गतियुक्त मोटरसाइकलमा तीव्र गतिमा यात्रा गरिरहँदा आइफोन प्रयोग नगर्न सल्लाह दिएको छ ।यसो गर्नाले आइफोनको क्यामरामा असर पर्ने र क्यामरा बिग्रिन सक्ने एप्पलको भनाइ छ ।
आफ्नो सपोर्ट पेजमा एप्पलले उक्त जानकारी प्रकाशित गर्दै भनेको छ कि हाइ पावर इन्जिनयुक्त मोटरसाइकलबाट उठ्ने भाइब्रेसन अर्थात् कम्पन र तरंगहरुले आइफोनको क्यामरामा असर गर्न स्क्दछ ।
एप्पलले आफ्ना कतिपय आइफोनका मोडलहरुमा उच्च प्रविधियुक्त क्यामरा प्रणाली राखेको छ । जसको माध्यमबाट अप्टिकल इमेज स्टाबिलाइजेसन तथा क्लोड्ज लुप अटोफोकन प्रविधिबाट कठिनभन्दा कठिन परिस्थितिमा पनि उत्कृष्ट तस्वीर खिच्न सकिन्छ । उक्त प्रविधिले कुनै पनि हलचल, कम्पन तथा गुरुत्वाकर्षणको असरलाई निस्तेज पार्दछ र उत्कृष्ट तस्वीर खिच्नमा सहयोग गर्दछ ।
तर आम आइफोनका क्यामराहरु भने यस्तो खाले असरबाट प्रभावित हुने भएको हुँदा हाइ पावर इन्जिनको नजिक नराख्न एप्पलले सुझाव दिएको छ । तथापि कम क्षमतायुक्त इन्जिन भएको स्कुटर वा विद्युतीय बाइकमा भने आइफोनलाई जोडेर राख्न मिल्ने एप्पलको भनाइ छ ।
उच्च क्षमतायुक्त मोटरसाइकलको इन्जिनको कम्पनले आइफोनको ओआइएस तथा ए एफ सिस्टम खराब हुनसक्ने एप्पलले जनाएको छ । यदि कुनै स्मार्टफोनको क्यामरामा अप्टिकल इमेज स्टाबिलाइजेसन प्रविधि छ र त्यसलाई धेरै क्षमतायुक्त मोटरसाइकलमा प्रयोग गर्नुहुन्छ भने कम्पनले उक्त प्रविधिमा असर गर्न सक्दछ ।
एजेन्सी
प्रतिक्रिया 4