
दलको ‘वैधानिकता’ माथि नै प्रश्न उठ्ने अवस्था आएपछि देशको दोस्रो ठूलो अनि वर्तमान सत्ता गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले पार्टीको १४आंै महाधिवेशनको मिति तय गरेको छ । अहिले पार्टीको तहगत अधिवेशनहरू जारी राखेको छ । यो पङ्क्ति तयार पार्दैगर्दा नेपाली कांग्रेसको देशव्यापी जिल्ला अधिवेशनहरू चलिरहेका छन् । एकाधबाहेक अधिकांश जिल्लामा वडा तथा स्थानीय तह अधिवेशन सम्पन्न भइसकेका छन् । वडा हुँदै, स्थानीय तह तथा निर्वाचन क्षेत्रस्तरीय अधिवेशनहरू सम्पन्न भएका छन् ।
कांग्रेसले आगामी कात्तिक १०-१२ मा प्रदेश अधिवेशन तथा मंसीर ९-१३ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । पार्टी महाधिवेशनको चटारोले गत निर्वाचनयता मूर्झाएको कांग्रेस तात्न थालेको छ । तर, अधिवेशनकै कारण आन्तरिक पार्टी जीवनमा देखापरेको सीमित क्रियाशीलताले विगतको निर्वाचनमा गुमेको राजनीतिक विरासत फिर्ता होला ? यो भने भविष्यकै गर्तमा छ ।
इतिहासको ब्याज
नेपाली कांग्रेसको विगत, वर्तमान र भविष्य के हो ? सम्भवतः सबैले स्वीकार गर्ने तथ्य भन्छ- ‘नेपाली कांग्रेस इतिहासको ब्याजले धानिएको पार्टी हो ।’ २०७४ को निर्वाचनबाट खुम्चिएको कांग्रेसले दुई वर्षअघि गाउँ-शहरमा आफ्नो विरासत फर्काउने र तत्कालीन नेकपाको दुईतिहाइ बहुमतवाला सरकारलाई चक्मा खुवाइदिने भन्दै एकमहीने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्यो ।
हिमाल, पहाड, तराई, मधेशमा संगठन क्रियाशील बनाउने उद्देश्य राखिएको उक्त जागरण अभियानले सुषुप्त अवस्थामा रहेको कांग्रेस त जाग्यो, तर त्यो जागरणले भने भुईं तहसम्म केन्द्रीय विवाद र असन्तुष्टिको बीजारोपण गरिदियो ।
गएको तीन वर्ष कांग्रेस न त सदनमा देखियो, न त सडकमै, न त कांग्रेस जनताको घरघरमा पुग्यो । बस, कांग्रेस आफ्नै छायाँले छेलियो । आफ्नै किचलो र कलहमा अल्मलियो । घरझगडामै अल्झियो । अहिले सरकारको नेतृत्व गरिरहँदा समेत नेपाली कांग्रेस जनताले देखिने गरी गाउँघरमा पुग्न सकेको छैन । जसरी दुई वर्षअघिको जागरण अभियानमा केन्द्रीय नेताहरू आ-आफ्ना स्वार्थ समूह, गुट उपगुटलाई बलियो बनाउँदै कार्यकर्तामाझ व्यक्तिगत आक्षेपको हदसम्म उत्रिएका थिए, भर्खरै सम्पन्न कांग्रेसको स्थानीय पार्टी गतिविधिमा पनि त्यही चरित्र देखा पर्यो ।
सडकमा शून्य उपस्थिति भएको नेपाली कांग्रेस सदनमा केवल औपचारिक प्रतिपक्षीको बेञ्चमै सीमित थियो । अहिले सरकारमा हुँदा समेत कहींकतै दृष्टिगोचर भएको छैन । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको दैनिकी बालुवाटार-सिंहदरबारको फेरो लगाउनमै सीमित छ । यसो आक्कलझुक्कल सानेपा अनि शीतलनिवास पुगे पनि उनको एकलव्य दृष्टि भने पार्टीको महाधिवेशनबाट कसरी नेतृत्व हत्याउने ? भन्नेमै छ ।
कांग्रेसले प्रतिपक्षमा रहँदा केवल सरकारमा नहुनुको कुण्ठा मात्रै अभिव्यक्त गर्दथ्यो भने सरकारमा हुँदा चैं कानमा तेल हालेर बसेको अनुभूति हुँदैछ । केही तन्नेरी कांग्रेसजनलाई छाड्ने हो भने समग्र पार्टीमा नयाँ सोच, विचार, दृष्टिकोण र केही गर्ने हुटहुटी सकिएको छ । त्यसैले कांग्रेस औपचारिक रूपमा पुरानो ब्राण्डमा खुम्चिंदैछ ।
पार्टी इतिहासको ब्याजले धानिएको छ भने बीपीको ‘निर्वाहमुखी’ समाजवादको मानक नै विचारको प्राण धान्ने त्यान्द्रो बनेको छ । कांग्रेसजनमा यदि आँट, साहस, हिम्मत अनि दूरदर्शिता हुँदो हो त, आजको दिनमा पनि कांग्रेसी समाजवाद, त्यही ‘एक हल गोरु, एकमेलो जमीन, एउटा दुहुनो गाई अनि करेसाबारी’कै मानकमा खुम्चिने थिएन ।
कांग्रेसले समग्रमा इतिहासको ब्याज खाने बाहेक कुनै पनि हिसाबले विकल्प प्रस्तुत गरेन, गर्न सकेन । झन् नेतृत्वको रुग्णता बढ्दो छ । बूढो रुख मक्किए झैं कांग्रेसको संगठनात्मक अवस्था पनि मक्किंदै गएको छ । कांग्रेस आफैं गतिशील हुन नसक्दा समस्यामा परेको छ । यद्यपि हिजोको बलशाली इतिहास र एउटा पुस्ताले आस्थाकै आधारमा ‘कांग्रेस’ को झण्डा समातेकाले जनमत भने पाइनैरहेको छ ।
नेतृत्वको ‘दोषी चश्मा’
पार्टी संगठनलाई क्रियाशील बनाउने विचारले हो । समाजको अन्तरविरोध के हो ? विश्वको अर्थ-राजनीतिमा आएको कम्पनले समाजलाई कस्तो प्रभाव पार्छ ? हाम्रा आजका आवश्यकता र चुनौती के हुन् ? ती चुनौती सामना गर्दै अपेक्षित दिशातर्फको परिवर्तन कसरी हुन्छ ? आगामी १० या २० वर्षमा मुलुकलाई कहाँ पुर्याउने ? हाम्रो हैसियत कस्तो बनाउने ? अवस्था कसरी फेर्ने ?
यी र यस्तै कल्पनाशील तर अनिवार्य सवालहरूमा नेपाली कांग्रेसको नेतृत्व अनभिज्ञ मात्र हैन, निकै अल्छी छ । त्यसैले आजको समाजको वस्तुनिष्ठ व्याख्या र आगामी मार्ग पहिचानको सवालमा कांग्रेसी नेतृत्वको ‘दोषी चश्मा’ ले केही ठम्याउन सकेको देखिंदैन ।
कांग्रेसमा विगत थियो, त्यो विगतले वर्तमान धानिएको छ तर, नयाँ पुस्तासहित सचेतन युवाहरूका लागि भने ‘भविष्य’ देखा पर्दैन । दललाई क्रियाशील बनाउने उसको विचार, नीति र कार्यक्रमले नै हो । तर, नेपाली कांग्रेसले वैचारिक रूपमा आफूलाई नवीकरण गर्न सकेको छैन ।
केही सीमित नेताहरूको प्रयत्नलाई छाड्ने हो भने नेपाली कांग्रेसको नेतृत्वले युगसुहाउँदो राजनीतिक विचार प्रतिपादन गर्नै सकेन । त्यसैले नेतृत्वमा देखिएको वैचारिक संकट नै कांग्रेसको मुख्य समस्या भयो । नत्र लोकतन्त्र प्राप्तिको आन्दोलनमा ऐतिहासिक भूमिका निर्वाह गरेको सबैभन्दा पुरानो र स्थापित पार्टीले सिर्जना गर्ने राजनीतिक माहोल यति निम्छरो अनि व्यक्ति र गुटकेन्दि्रत हुने थिएन ।
विचारको खडेरी
नेपाली कांग्रेसको वैचारिक पक्ष बुझ्न पछिल्लो महासमिति बैठकको दस्तावेज नियाले काफी हुन्छ । २००७ साल यताको राजनीतिक पाठ्यक्रम जस्तो लाग्ने दस्तावेजले कुनै आकर्षण त पैदा गर्दैन नै, यसले भोलिको राजनीतिक भविष्य र परिवर्तित गन्तव्यको बारेमा पनि कुनै दिशाबोध गर्न सकेको छैन । खासमा इतिहासको व्याख्यामै रुमल्लिएको छ, कांग्रेसको दस्तावेज ।
नेताहरूको अभिव्यक्ति सुन्दा, विचार पढ्दा अनि कथनहरू नियाल्दा, लाग्छ कांग्रेसलाई विचार निर्माण गर्नु नै छैन । बस, आफूलाई दूबोकै स्वरूप ठान्ने कांग्रेसले यो बुझ्नुपर्छ कि- दूबोले फल र शीतलता केही पनि दिंदैन । जब पार्टीको वैचारिक पक्ष रुमल्लिन्छ भने त्यसले सही र सान्दर्भिक नीति कार्यक्रम निर्माण गर्ने प्रश्नै आउँदैन । शायद कांग्रेस अकर्मण्यताको कारण पनि यही हो ।
नेपाली कांग्रेसको महासमिति बैठकले पारित गरेको दस्तावेजमा उल्लेख छ -‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद र नेपाली कांग्रेसकै नेतृत्वमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व, मिश्रति निर्वाचन प्रणाली, धर्मनिरपेक्षता जस्ता राजनीतिक उपलब्धिहरूलाई संस्थागत र सुदृढीकरण गर्नु नेपाली कांग्रेसको आजको मूल जिम्मेवारी हो ।’
यो पछिल्लो राजनीतिक परिवर्तनको सार हो । यसको सैद्धान्तिक पक्षलाई कसैले नकार्न सक्दैन । तर, मुख्य कुरा यसको व्यावहारिक पक्ष र आम नागरिकले यी राजनीतिक उपलब्धिलाई व्यवहारमा कसरी अनुभूति गर्ने भन्ने नै हो । अब खाँचो यिनै उपलब्धिको कार्यक्रमिक रूपान्तरण हो । एकातिर कांग्रेस वैचारिक अलमलमै रुमल्लियो भने अर्कोतिर नेताहरू संगठन निर्माणमा भन्दा समूह, गुट र उपगुटको व्यवस्थापनमै अल्मल्लिए । पछिल्ला स्थानीय अधिवेशनहरूमा पनि त्यसैको झल्को देखिन्छ ।
अलमलमा नयाँ पुस्ता
नेपाली कांग्रेसको जारी स्थानीय अधिवेशनहरूको नतिजा हेर्दा १७ वर्षीय युवादेखि ८४ वर्षीय वृद्धसम्मले पार्टीको आन्तरिक चुनाव जितेका छन् । स्थानीय तहहरूमा सम्पन्न पार्टी प्रतिनिधि निर्वाचनमा युवा पुस्ताको पनि उल्लेख्य सहभागिता देखियो, जुन निकै सकारात्मक छ । तर, नेपाली कांग्रेसको विरासत अनि पार्टी राजनीतिको फम्र्याटले नयाँ पुस्तालाई अगाडि बढ्न उतिसारो प्रेरित गरेको देखिंदैन । विचारको शून्यता र नेतृत्वको अकर्मण्यताबीच नयाँ पुस्तालाई समाज बदल्ने अभिभारा बोकेर कांग्रेसमा राजनीति गर्न सहज पक्कै पनि हुनेछैन ।
भर्खरै मात्र स्थानीय प्रतिनिधि निर्वाचित एक कांग्रेसी युवाले आफ्नो अनुभव सुनाउँदै थिए- ‘यो विरासतको राजनीतिले कहीं पनि पुर्याउँदैन । कांग्रेसमा नयाँ पुस्तालाई आकर्षित गर्ने विचार र दृष्टिकोण छैन । पुरानो पुस्ताले राजनीतिलाई बैंकमा राखेको मुद्दती निक्षेप जस्तो बनाइदिए ।’
त्यसो त नेपाली कांग्रेसको राजनीतिक गतिविधि केवल चुनाव केन्द्रित मात्रै हुने गरेका छन् । जब चुनावको घोषणा हुन्छ, चुनावी दुई महीना कांग्रेस तात्छ । अनि चुनावी परिणाम आएपछि तातेको कांग्रेस सेलाउँछ र चार वर्ष हराउँछ । नागरिकको कथन छ- ‘कांग्रेस देख्न चुनाव आउनुपर्छ ।’
चुनावी परिणामबाट थला परेको कांग्रेसले यसपटक त सशक्त प्रतिपक्षी भूमिका पनि निर्वाह गर्न सकेन । इतिहासमा प्रमुख प्रतिपक्षी दलबाट सबैभन्दा बढी सुविधा पाउने सरकारमा केपी शर्मा ओली नेतृत्वको सरकार नै बन्न पुग्यो ।
प्रतिपक्षमा बस्दा त आफैं सुतेको कांग्रेसले सरकारमा गएपछि झन् केही लछारपाटो लगाउने छाँट देखिएको छैन । युवा पुस्तालाई राजनीति सिकाउने कांग्रेसको आंगिक एवम् भ्रातृ संगठनहरूको अवस्था पनि दुरह नै छ । नेविसंघ विघटनको अवस्थामा छ ।
कांग्रेसको ऊर्जाशील संगठनको रूपमा चिनिएको तरुण दल केही व्यक्तिको कम्पनी बनेको छ । त्यस्तै अन्य भ्रातृ संगठनमा पनि अधिवेशन नभएको वर्षौंदेखि भएको छ । त्यसैले नेतृत्व तहमा पुगेका पाँच दशक आसपासका युवाहरू पनि अलमल र दिशाविहीन अवस्थामै देखिन्छन् ।
पार्टी महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका प्रवक्ता विश्वप्रकाश शर्माले गत असोज पहिलो साता एक दैनिकमा अन्तर्वार्ता दिंदै भनेका थिए- ‘सुन्दरीजलको जेलमा बीपीलाई राखिएको माटो ढोगेर बीपीले रोपेको कपुरको रूखमा पानी हालें । त्यसपछि रुद्राक्षको बिरुवा रोपें र पूजा गरेर उम्मेदवारी घोषणा गरें ।’
ठीकै छ, भावनात्मक रूपमा त उनको भनाइ सही नै होला तर, समाजको विद्यमान अन्तरविरोध र त्यसको समाधानलाई उकेरा लाउनुपर्ने सम्भावित नेतृत्वको यो शास्त्रीय सोच र शैलीले भने सम्भावनाको उजागर गर्दैन । तथापि उनले आफूले ‘राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुईपटक तथा मन्त्री तीन पटकभन्दा बढी बन्न नपाइने विषयलाई प्राथमिकता दिएको’ बताएका छन् । यी र यस्तै व्यवहारबाट पुष्टि हुन्छ कि सम्भावना बोकेका भनिएका कांग्रेसी युवाहरू विचार, एजेन्डा र समाजको समस्या पहिचान गर्ने सवालमा अलमलमै छन् ।
पार्टी अधिवेशनको सन्देश
वैचारिक अस्पष्टता, नेतृत्वको अलोकतान्त्रिक व्यवहार, असहिष्णु आचरण, कार्यक्रमिक विरोधाभास र विगतमा लोकतान्त्रिक संस्थाहरूलाई सबल बनाउन नसक्नुको प्रतिफलका कारण कांग्रेस थप कमजोर हुँदै गएको छ । कांग्रेसको पार्टी जीवनबाट ‘इतिहास’ हटाइदिने हो भने आज कांग्रेसले आफ्नो विशिष्ट पहिचान नै स्थापित गर्न सक्दैन । यही आन्तरिक कमजोरीलाई सच्याउँदै पार्टीको लोकतन्त्रीकरण अनि वैधानिकीकरणका लागि नेपाली कांग्रेस महाधिवेशनमा होमिएको छ ।
देशभरका स्थानीय तहहरूमा जारी कांग्रेसको पार्टी अधिवेशनको स्पष्ट सन्देश छ- ‘पार्टीको धरातल बलियै छ, बस् त्यो धरातलमा नयाँ विचार, दृष्टिकोण, कार्यक्रम र समाज बदल्ने नयाँ मार्गचित्रको बीजारोपण हुनुपर्छ । नेतृत्व तहमा देखिएको गुटगत मानसिकता र विचारविहीनताको अन्त्य हुनुपर्छ । नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ । नयाँ पुस्ता सिर्जनशील भएर सक्रिय राजनीतिमा अग्रसर हुनुपर्छ ।’
तर, यी अधिवेशनले दिएको सन्देशलाई आत्मसात् गर्दै नेपाली कांग्रेसले नयाँ युगको नयाँ लोकतन्त्रको मार्गप्रशस्त गर्ला र आजको २१औं शताब्दीको ज्ञान, विज्ञान र चेतनाको युगमा समावेशी, समानुपातिक र प्रत्यक्ष लोकतन्त्रको वकालत गर्दै आफ्ना पुराना र असान्दर्भिक मान्यताहरूलाई परिवर्तन गर्नेमा भने उतिसारो आशा गर्ने ठाउँ छैन । कांग्रेसलाई यदि कसैले रोक्छ भने त्यो उसको आफ्नै विरासत हो । नेतृत्वमा कहिल्यै नफेरिने काँचुली हो ।
प्रजातन्त्र, लोकतन्त्र प्राप्तिको आन्दोलनमा इतिहास रचेको मौजुदा अवस्थाको देशकै पुरानो पार्टी विचार, नेतृत्व र कार्यक्रमका हिसाबले रुग्ण बन्दै गएको छ । महाधिवेशनमा होमिएको पार्टीले त्यो विचार, सिद्धान्त अनि नेतृत्वमा देखापरेको रुग्णतालाई चिर्दै काँचुली फेर्न सक्ला ?
प्रतिक्रिया 4