+
+

गोवर्द्धन पूजाको इतिहास, किन दिइन्छ ५६ भोग ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १३:४६

गोवर्द्धन पूजाको शुरुवातका सम्बन्धमा विभिन्न ऐतिहासिक स्रोतहरुमा उल्लेख छ । विशेषगरी धार्मिक स्रोतमा उल्लेखित यो पर्व इन्द्र र कृष्ण एवं गोवर्द्धन पर्वतको कथासँग सम्बन्धित छ । दीपावलीको भोलिपल्ट अर्थात् कात्तिक शुक्ल प्रतिपदाको दिन हिन्दूहरूले गोवर्धन पूजा गर्ने गर्छन् । यसदिन भगवान श्रीकृष्णलाई गहुँ, चामल, चना, तरकारी लगायत अन्नको प्रसाद चढाइन्छ ।

यसको किंवदन्ती अनुसार प्राचीनकालमा भगवान कृष्णले आफ्नो कान्छी औंलामा गोवर्द्धन पर्वत उठाएर गोकुलवासीलाई सुरक्षा दिएको भन्ने धार्मिक कथाको आधारमा यो पर्व मनाउन थालिएको छ । त्यही दिनदेखि गाईको गोबरबाट गोवर्द्धन पर्वत बनाएर अन्नकूटमा ५६ वटा भेटी अर्पण गरी यसको पूजा गर्न थालेको भन्ने ऐतिहासिक स्रोतमा उल्लेख छ ।

गोवर्द्धन पूजाको कथा

गोकुलवासीले वर्षाका देवता इन्द्रलाई मुख्य देवताको रुपमा पूजा गर्थे । तर, भगवान् कृष्ण यसप्रति सन्तुष्ट थिएनन् । गोकुलवासीको खाना र आश्रयको स्रोत गोवर्द्धन पर्वत नै थियो । त्यसैले श्रीकृष्ण त्यही पर्वतलाई भगवान् मानेर पुज्न गोकुलवासीसँग आग्रह गर्ने गर्थे ।

विस्तारै कृष्णको तर्कमा गोकुलवासी सहमत हुँदै गए । इन्द्रको साटो पर्वतको पूजा शुरु हुन थाल्यो । आफ्नो पूजा गर्न छाडेपछि इन्द्र झनै रिसाए, फलस्वरुप झन् झन् पानी पर्न थाल्यो । अन्ततः भगवान् कृष्ण मानिसहरूको उद्धारका लागि अघि सरे । आफ्नो कान्छी औंलाले गोवर्द्धन पहाड उठाएर, गोकुलवासीको जीवन बचाएको किंवदन्ती छ । यसरी इन्द्र कृष्णसँग पराजित भएको सम्झनामा गोवर्द्धन पूजालाई अन्नकूट पर्वका रूपमा पनि मनाइन्छ । यस पर्वमा अन्नकूट वा गोवर्द्धन पर्वतमा ५६ वटा भोगको प्रसाद चढाउने गरिन्छ । दैत्य राजा बलीलाई भगवान् विष्णुले वामन अवतारको रूपमा परास्त गरेको दिनको रुपमा यो पर्वलाई बली प्रतिपदाको रूपमा पनि मनाइन्छ ।

गोवर्द्धन पूजाको इतिहास

गोवर्द्धन पूजाको इतिहास खोज्दा विभिन्न धार्मिक स्रोतको आधारमा यो द्वापर युगीन कृष्णको समयसम्म पुग्न सकिन्छ । भागवत पुराणमा वर्णन गरिएको सबैभन्दा महत्वपूर्ण घटनामध्ये एक हो कृष्णले गोवर्द्धन पर्वत उठाएको प्रसंग । भागवत पुराणमा गोवर्द्धन नजिकै बसोबास गर्ने गोठालाहरूले वर्षा र आँधीका देवता इन्द्रको पूजा गरी शरद ऋतु मनाउने गरेको, यो कुरा कृष्णलाई मन नपरेको, उनी गाउँलेहरूले गोवर्द्धन पर्वतको पूजा गरुन् भन्ने चाहना राख्ने गरेकोजस्ता प्रसंग उल्लेख छ । गोकुल नगरमा हुने प्राकृतिक घटनाका लागि हिमाल जिम्मेवार थियो ।

गोकुलमा श्रीकृष्ण सर्वप्रिय पात्र थिए । त्यसैले गोकुलका मानिसहरूले श्रीकृष्णको सल्लाहलाई स्वीकार गरे । गाउँलेहरूमा कृष्णप्रति भक्ति फर्केको देखेर इन्द्र क्रोधित भए । इन्द्रले आफ्नो घमण्डी क्रोधको प्रतिबिम्बमा, शहरमा मेघगर्जन र भारी वर्षा शुरु गर्ने निर्णय गरे । प्रजाहरूलाई आँधीबाट बचाउनको लागि, श्रीकृष्णले गोवर्द्धन पर्वतलाई आफ्नो कान्छी औंलामा उठाए र शहरका सबै मानिस र जनावरलाई आश्रय दिए । ७–८ दिनको लगातारको हावाहुरीपछि गोकुलका जनतालाई अप्रभावित देखेर इन्द्रले हार मानेर आँधी रोके । त्यसैले यो दिनलाई पर्वका रूपमा मनाइने र यस पूजाको छुट्टै महत्व छ ।

किन गरिन्छ गोवर्द्धन पूजामा ५६ भोग ?

भगवानलाई अर्पण गरिएको ५६ भोगको पछाडि धेरै रोचक कथाहरू छन् । हिन्दु मान्यताअनुसार भगवान कृष्णले दिनमा आठ पटक खाना खान्छन् । इन्द्रको क्रोधबाट सबै प्रजालाई बचाउनका लागि भगवान् कृष्णले गोवर्द्धन पर्वत उठाएपछि भगवानले लगातार सात दिनसम्म भोजन र पानी लिन पाएका थिएनन् । त्यसैले, ७ दिन ८ पटकको दरमा ५६ भोग चढाउने चलन छ । त्यसयता गोवर्द्धन पूजाको दिन कृष्णलाई ५६ वटा भोग अर्पण गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ । त्यसैले हिन्दु धर्ममा गोवर्द्धन पूजाको विशेष महत्व रहेको र यस दिन ५६ वटा भोग अर्पण गर्नु फलदायी मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?