राजनीतिक ग्राफलाई पछ्याउँदा नेकपा एमाले घोर दक्षिणपन्थी कित्तामा भेट्टाउन सकिन्छ । दलहरूलाई २००७ सालदेखि अहिलेसम्मको लोकतन्त्रीकरणको प्रक्रिया र संघर्षमा उनीहरूले निर्वाह गरेको भूमिकाको आलोकमा हेर्नुपर्छ । संगठनको नाम जेसुकै भए पनि संगठनभित्र वैचारिक रूप र त्यसको आधारमा बनेको संगठनको चरित्रको आधारमा हेर्दा प्रत्येक ठूला पार्टीभित्र तीन वटा धार छन् । खासगरी कम्युनिष्ट पार्टीहरूभित्र त्यो धार प्रबल रूपमा छ ।
दलहरूको तीन धार
एउटा– राजावादी धार हो । दरबारले अगाडि सारेको विश्व दृष्टिकोण र मूल्य–मान्यतालाई पछ्याएर वा नेपाललाई साँघुरो राष्ट्रवादी चश्माबाट हेर्ने जग एकदमै ठूलो छ । यस्तो पंक्ति कम्युनिष्ट पार्टीहरूमा विशाल छ । केपी ओलीले झापा विद्रोह कालदेखि आजको मितिसम्म दरबारवादी धारको नेतृत्व गर्छन् । हिन्दू कर्मकाण्डलाई पछ्याउँदै हिन्दू धर्म बोक्ने, नेपालभित्रको बहुलतालाई अस्वीकार गर्ने, व्यक्तिवादले नै सबै समस्याको समाधान दिन्छ भन्ने विश्वास गर्ने र खासगरी नेपाली समाजलाई हेर्ने पहाडी र केन्द्रीयतावादी दृष्टिकोण, साँघुरो नेपालीपन आदिको प्रमुख प्रतिनिधि पात्र केपी ओली हुन् र उनले नै एमाले पार्टीको नेतृत्व गरिरहेका छन् । यो पार्टी दक्षिणपन्थी धारको सबैभन्दा बलियो दल हो र अध्यक्ष ओलीले कमल थापा र रवीन्द्र मिश्रलाई पनि माथ गर्छन् ।
आफूले आफैंलाई कम्युनिष्ट भनेर दाबी गर्नु एउटा कुरा हो । तर दाबी गरेको व्यक्ति र संगठनले कस्तो मूल्यमान्यता बोकेर काम गरिरहेको छ, व्यवहार देखाइरहेको छ र संगठन विस्तार गरिरहेको छ भनेर हेर्दा कमल थापाले नेतृत्व गरेको राप्रपा र केपी ओलीले नेतृत्व गरेको एमालेको बीचमा नाम बाहेक धेरै केही फरक छैन । यो धारको नेतृत्व ओलीसँगै शशांक कोइराला, कमल थापा, रवीन्द्र मिश्रले गर्छन् । सारमा उनीहरू एकैप्रकारका दृष्टिकोण र मूल्यमान्यता बोकेका मान्छे हुन् । उनीहरू फरक पार्टीमा छन् तर विचारधारा एउटै छ । उनीहरूको विचारधारा, नेपाली समाजलाई हेर्ने र बुझ्ने दृष्टिकोण, खोजेको विकासको मोडेल र अभिव्यक्तिको सार एउटै छ । नेपालमा दक्षिणपन्थी धारको विशिष्ट विरासत छ । हिजो राजा सामन्ती संस्कृतिका प्रतीक थिए, सामन्तवाद थियो । त्यहाँभित्र व्यक्तिवाद हावी थियो, अरूको आवाज थिएन । यो धारको नेतृत्व गर्ने अहिले ओलीभन्दा उत्तम पात्र अरू छैन ।
दोस्रो- मध्यपन्थी धार हो । कांग्रेसको ठूलो पंक्ति यो धारमा पर्छ । नेपाली कांग्रेस आजको दिनमा दक्षिणपन्थी धार र मध्यपन्थी धारको बीचमा पर्छ । यसलाई चलनचल्तीको लोकतन्त्र भन्न मिल्यो, जहाँ बहुदलीय लोकतन्त्र छ, पार्टी छ, पार्टीले चुनाव लड्छ, भूमिपति र पूँजीपति वर्गले त्यसको नेतृत्व गर्दै शासन गर्छन् । आफ्नो शक्ति र सम्पत्तिको बलमा गरीब, निमुखा र आवाज नभएका मानिसहरूलाई किनारा लगाउँछन् । नेतृत्व, सहभागिता, नीतिनिर्माणमा आम मानिसलाई पहुँच दिंदैनन् । चलनचल्तीको भाषामा भन्दा अधिनायकतन्त्र सहितको पूँजीवादी व्यवस्था भन्न सकिन्छ । जहाँ शक्ति र सम्पत्तिको जगमा शासन चल्छ । केही आधारभूत पक्षहरूको उपस्थितिले गर्दा लोकतन्त्र जस्तो देखिन्छ । जस्तो कि वाक्, मिडिया र प्राज्ञिक स्वतन्त्रता, संगठन गर्न पाउने अधिकार, आवधिक निर्वाचन जस्ता चलनचल्तीका प्रजातन्त्रका पिलरहरू छन् । यसलाई नछाडे जस्तो गर्ने । तर गरीब र श्रमिक वर्गको हित वा उनीहरूको सहभागितामा केही पनि नगर्ने मध्यपन्थी मान्यता हावी छ । अर्को शब्दमा यसलाई यथास्थितिवादी धार पनि भन्न मिल्छ ।
एमाले यसअघि पनि बहुदलीय लोकतन्त्रका सबै कुरा स्वीकार्ने तर कुरा चाहिँ अर्कै गरिरहने पार्टीको रूपमा मूलधारमै थियो । तर अहिले एमाले थप दक्षिणपन्थतिर गएकोले त्यो ठाउँ कांग्रेसले लिइराखेको छ । २०६३ सालयता एमालेभित्रको मध्यपन्थी धार विस्तारै थप कमजोर भइरहेको स्थिति छ ।
तेस्रो- धार नौलो जनवाद वा आमूल परिवर्तनकारी धार हो । यो धार एकै प्रकारको हुँदैन । क्रान्तिकारी राजनीतिको नयाँ क्षितिजको खोजी गर्नुलाई कम्युनिष्ट भाषामा भन्दा नौलो जनवाद भनिएला । दक्षिणपन्थी र यथास्थितिवादी धारबाट बाहिर निस्किएर नेपालमा नयाँ किसिमको प्रगतिशील व्यवस्था स्थापना गर्न चाहने धारले लामो समयदेखि कम्युनिष्ट दलभित्र र बाहिर विभिन्न संघर्ष गर्दै आएको छ । हिजो माओवादी त्यसैको निम्ति लडेको हो । यद्यपि आजको माओवादी त्यो धारमा छैन, तीव्र स्खलनपछि पूर्ण विघटनतिर छ ।
यो तेस्रो धार अगाडिका दुई धारभन्दा के फरक छ भने पूँजीको नियमन गरेर समग्र जनताको हितमा त्यसलाई कसरी प्रयोग गर्ने, देशभित्र भएका महत्वपूर्ण स्रोतसाधन जस्तै, क्रान्तिकारी भूमिसुधार र अन्य स्रोत साधनको न्यायपूर्ण वितरणको बारेमा कल्पना गर्ने र सम्भावनाहरूको खोजी यो धारले गर्न खोज्यो । मजदूर र सीमान्तकृत वर्गको हितमा उत्पादनशीलतालाई ध्यान दिंदै सामूहिक स्वामित्वतिर जाने कुरामा यसले जोड दियो । यसले सीमान्तकृत र मजदूरहरूको स्वामित्व सहितको सहभागिता सुनिश्चित गर्ने तथा न्याय र पुनर्वितरणको कुरालाई प्राथमिकता दिन्छ । कम्युनिष्ट दलभित्र यो कुरा नौलो जनवादको खोजीसँग जोडिएर आउँछ । यसको खोजी नेपालमा विभिन्न तरिकाले भइरहेको छ ।
यी तीनमध्ये आज एमालेले प्रतिनिधित्व गर्ने नयाँ ऐतिहासिक परिवेश र केही नयाँ आवरणमा हिजो दरबारले बोकेको दक्षिणपन्थी धार नै हो ।
जबजः एक अन्योलग्रस्त दस्तावेज
Top Comment chhatra_luitel २०७८ मंसिर ७ गते १६:३० हामीले नेता भन्ने मान्छेहरू दलालका पनि दलाल हुन् । यसरी वैचारिक टाटपल्टाइका कारण केपी ओलीले व्यक्तिगत रूपमा क्षुद्र टिप्पणी गर्छन् । वैचारिक शून्यता ओलीको प्रत्येक अभिव्यक्तिमा झल्किन्छ । त्यसैलाई विचार मान्ने हो भने भन्नु केही छैन । See All Add Comment नेपालका सबै राजनीतिक दलहरूले क्रान्तिकारी राजनीति नै गर्छु भन्छन् । कांग्रेसले भनेको प्रजातान्त्रिक समाजवादले सामन्तवादको जगलाई निमिट्यान्न पारेर मात्रै प्रजातन्त्रको जग बस्छ भन्छ । यसरी हेर्दा नेपालमा सबै ठूला दलले आफूलाई परिवर्तनकामी राजनीतिक शक्तिको रूपमा दाबी गरिरहे पनि व्यवहार त्यस्तो छैन । एमालेले पनि आफूलाई कम्युनिष्ट नै भन्छ । हिजोदेखि आजसम्म पार्टीको कार्यक्रमको अध्ययन गर्ने हो भने कार्यक्रम र त्यसको परिकल्पना गर्ने तहमा न्याय र पुनर्वितरणको सवालमा कुनै खाका र भिजन देखिंदैन । न्याय र समानताको कार्यक्रम किन छैन भन्ने बुझ्न हामी मदन भण्डारीको समयतिर फर्कनुपर्छ ।
धेरै टाढा जानुपर्दैन । उनले २०४६ पछि जनताको बहुदलीय जनवादको विचार अगाडि सारे । त्यसमा उनले बहुदलीय व्यवस्थाभित्रैबाट जनताको जनवाद खोज्ने भने । हिजोको एमालेले भनेको यही हो । तर बहुदलीय जनवादभित्रबाट जनवाद कसरी खोज्ने भन्नेबारेमा पार्टीसँग कार्यक्रम थिएन । यो दस्तावेज आफैंमा एउटा अन्योलग्रस्त रणनीति थियो । वास्तवमा यो कुनै सिद्धान्त नै थिएन । जबजका तीन परिकल्पना । एक, हिजोको जस्तो वर्ग संघर्ष नगर्ने भनिरहँदा साम्राज्यवादीहरू र देशभित्र तिनीहरूका दलाल पूँजीपतिहरू जनताको हकअधिकार स्थापना गर्ने अभियानलाई अघि बढ्न नदिने वर्गशत्रु हो भनेर स्वीकार गरिएको थियो । दुई, मजदूर र किसानहरू नै क्रान्तिको संवाहक हुन् भनिएको थियो । तर मजदूरहरू नेतृत्वमा आउने सबै सम्भावनालाई पार्टीले रोक्दै प्रतिस्पर्धी दलहरूकै शैलीमा संसदीय निर्वाचनमा जनसमर्थन प्राप्त गर्ने बाटो रोज्यो । तीन, पहिलो र दोस्रो रुझानलाई बल दिन एमालेका धेरै वर्गीय संगठन हुँदाहुँदै पनि आधारभूत वर्गका प्रतिनिधिले संघर्ष र नेतृत्व कार्यक्रमहरूलाई छेकबार लगाइयो । त्यसैले एमालेसँग आमूल परिवर्तनकारी संघर्षका कार्यक्रम जबजयता रहेनन् । त्यसैले समावेशितासँग वर्गीय चरित्रका दृष्टिले किसान, मजदूर, सीमान्तकृत वर्गको नेतृत्वलाई एमालेले कहिल्यै पनि स्वीकारेन । जबजको विशिष्टता यही रह्यो ।
संघर्षको शक्ति र ध्रुवीकरण
प्रवृत्ति मिल्नेहरूको एकता यत्तिकै हुँदैन । यसको निर्धारण संघर्षले गर्दछ । अहिलेसम्म हाम्रोमा भएका संघर्षहरूले यस्तो ध्रुवीकरण गर्न सकेन । समाजमा विभिन्न स्वार्थ समुदाय हुन्छन् नै । पार्टीहरूमा उनीहरूको प्रतिनिधित्व हुनु अस्वाभाविक होइन । यसले पार्टीभित्र अन्तरविरोध सिर्जना हुन्छ । समाजभित्र भएका सबै स्वार्थ समूह र तिनीहरूको अन्तरविरोधको प्रतिबिम्ब पार्टी भित्र पनि हुन्छ । तर संघर्षको क्रममा पार्टीले निश्चित मूल्यमान्यता, सिद्धान्त अनुसार अगाडि बढ्न सके त्यसको प्रभाव समाजमा पर्छ । यसले समाज र पार्टीभित्रै गलत प्रवृत्ति पराजित हुँदै जान्छ । हाम्रा पार्टीहरूले यस्ता संघर्षहरू चलाइरहेको देखिंदैन ।
सामाजिक विविधतालाई आत्मसात् गर्दै संगठनको चरित्र परिवर्तन गर्ने किसिमको समावेशिता सीमान्तकृतहरूले खोजेका हुन् । संगठनको चरित्रलाई यथावत् राखेर त्यहाँ जो गए पनि केही फरक नपार्ने किसिमको समावेशिता होइन, पर्दैन । समावेशितामा प्रतिनिधित्वले मात्रै काम गर्दैन । मानौं कि अहिलेको कुनै पार्टीमा नेपालको जनसंख्या अनुसारकै प्रतिनिधित्व भयो । तर पार्टीको चरित्रमा परिवर्तन भएन भने त्यस्तो प्रतिनिधित्वले आधारभूत वर्गको पक्षमा नतिजा निकाल्न सक्दैन । हाम्रा संगठनहरू पार्टीलाई आधारभूत वर्गको पक्षमा काम गर्ने गरी रूपान्तरण गर्न सक्ने प्रकृतिको हुनुपर्छ । समावेशिता पनि त्यही उद्देश्य सहितको ।
अहिले अभ्यासमा भए जस्तो समावेशिताले दाबी गरिए अनुसार संगठनको आधारभूत चरित्र बदल्ने गरी काम गर्न सक्दैन । यसले आम जनताले खोजे जस्तो संगठन, कार्यक्रम तथा समाजमा विद्यमान असमानता र अन्यायलाई सम्बोधन गर्ने खालको संस्था बनाउन सक्दैन ।
वैचारिक शून्यता र महाधिवेशन
अहिले प्रमुख पार्टीहरू महाधिवेशनको सँघारमा छन् । शुरुमै एमालेको महाधिवेशन छ । नेपालमा अहिले कम्युनिष्ट पार्टीहरू विग्रह र विघटनको चरणमा प्रवेश गरेका छन् । एमाले महाधिवेशन पनि यसबाट अछूतो छैन । यस्तो विघटन र विग्रहलाई रोक्न महाधिवेशन पार्टीलाई पुनर्संगठित गर्ने अवसर पनि हो । यो विग्रह र विघटन किन भयो ? बोली र व्यवहारको फरक मुख्य कारण हो । कम्युनिष्ट हो पनि भन्छ, होइन पनि भन्छ । यो अन्तरविरोधलाई सम्हाल्न नसक्दा पार्टीभित्र स्वार्थ समूह हावी भए । उनीहरूको अन्तरविरोध हल हुन नसक्दा पार्टी विग्रहको अवस्थामा आइपुगेको हो ।
नेकपा एमाले अहिले वैचारिक शून्यता भएको पार्टी हो । एमालेमा विचार छैन । एमालेले जबजको कुरा गरेको समयदेखि अहिलेको अर्थ–राजनीतिको चरित्र दलाल पूँजीवादी हो भनेर पहिचान गरेको थियो । यहाँ दलाल पूँजीपतिहरू धेरै छन् । शुरुमा वर्गीय समन्वयको सिद्धान्त अनुरूप उनीहरूसँग मिले पनि कालान्तरमा उनीहरूलाई परास्त गर्दै जाने हो भनियो । तर यहाँसम्म आउँदा दलाल पूँजीपतिहरूले नै पार्टीलाई पराजित गरे । त्यसैले आजको एमाले दलाल पूँजीपतिद्वारा पराजित पार्टी हो । यसका नेताहरूले ती दलालहरूको दलाली मात्रै गर्छन् । हामीले नेता भन्ने मान्छेहरू दलालका पनि दलाल हुन् । यसरी वैचारिक टाटपल्टाइका कारण केपी ओलीले व्यक्तिगत रूपमा क्षुद्र टिप्पणी गर्छन् । वैचारिक शून्यता ओलीको प्रत्येक अभिव्यक्तिमा झल्किन्छ । त्यसैलाई विचार मान्ने हो भने भन्नु केही छैन ।
त्यसैले आज एमालेले विचार विना पार्टी महाधिवेशन गर्दैछ । आजको दिनसम्म पनि केन्द्रीय उम्मेदवारी कहाँ कसले दिने भनेर पूर्वपदाधिकारीलाई नै थाहा छैन । एउटा व्यक्तिमा सबै अधिकार र निर्णय केन्द्रित भएको छ । यो व्यक्तिवाद र विचार शून्यताको अर्को नमूना हो । ओलीले आफूलाई कुनै पनि हिसाबले चुनौती नदिने किसिमको पार्टी निर्माण गर्न खोजिरहेका छन् । त्यसैका लागि महाधिवेशनको प्रक्रियामा मिलेर जाऊँ भनिरहेका छन् । मिलेर कसरी जाने भन्ने कुरा पोलिटब्यूरोमा पनि खुलेर छलफल नगरिरहेको अवस्था अहिले महाधिवेशनको तयारीमा झल्किन्छ । त्यसैले उनका नजिकका भन्नेहरूलाई पनि महाधिवेशन प्रक्रिया कसरी जान्छ, आफ्नो हैसियत के हुन्छ भन्ने थाहा छैन ।
यसलाई समन्वय पनि भनिंदैन । स्वार्थहरू बाझ्दा एउटा व्यक्तिको स्वार्थ र शक्ति हावी भएको छ । यहाँनेर वैचारिक शून्यता नै मुख्य जिम्मेवार छ । एउटा संगठन र पृष्ठभूमि भएकोले एक थान पार्टी त बन्छ नै । त्यो पार्टी ऐतिहासिक रूपमा नेपाली राज्यको मूल प्रवाहबाट छुटेका ठूलो तप्काको हितमा काम गर्न सक्ने पार्टी बन्दैन । केवल दलाल पूँजीपतिहरूकै सेवा गर्ने पार्टी बन्छ ।
प्रश्न गर्ने क्षमतामा क्षयीकरण
दशकौं संघर्ष गरेर आएका नेता कार्यकर्ताहरू अहिले मौन छन् । प्रश्न गर्ने क्षमता गुमाएका छन् । नेतृत्वबाट पदको आशा गरिरहेका छन् । निगाह खोजिरहेका छन् । यदि कम्युनिष्ट पार्टीभित्र भएर पनि उनीहरूसँग प्रश्न गर्ने सामथ्र्य छैन, नेपाली समाजमा विद्यमान अन्तरविरोधमा टेकेर आफ्नो पार्टीभित्र अहिलेको उपयुक्त र समयसापेक्ष अन्तरविरोधलाई अगाडि बढाएर पार्टीको संघर्षलाई गति दिने सामथ्र्य छैन भने ती नेता कार्यकर्ताहरूको गफ गर्नुमा कुनै तूक छैन । उनीहरूको इमानदारिता नेपाली समाजको रूपान्तरणका लागि चाहिने इमानदारिता भएन । छलकपट नगर्नु एउटा पक्ष हो तर राजनीतिमा उनीहरूको भूमिकाले कसलाई सहयोग पुर्याइरहेको छ अनि अर्को संस्कार बसाइरहेको छ भन्ने कुरा मुख्य हुन्छ । पार्टीभित्र विवेकलाई बन्धक नराख्ने मानिस चाहिन्छ ।
कम्युनिष्ट पार्टीभित्रको वैचारिक/सांस्कृतिक स्खलनका कारण सामूहिक सहकार्यको अभाव देखिन्छ । कम्युनिष्ट पार्टीको सदस्यता लिएर जग्गा दलाली गर्ने, सहकारीको कोष कुम्ल्याउँदै हिंड्ने, यस्ता काम गर्न मौका कुरेर बस्ने धेरै भए । सामूहिकता राजनीतिक अभ्यासबाट पर्नै सकेन । रूपान्तरण हामीले खोजेको हो भने त्यो भनेको कस्तो ? हामीले कतै साना साना मोडेलको विकास गर्न सकेका छौं ? त्यो बाहिरबाट आउने त होइन होला । पार्टीका विभिन्न तहमा संघर्षशील र इमानदार नेता कार्यकर्ता छन् भने उनीहरूले आफ्नो कुरालाई काममा देखाउन सक्नुपर्छ । व्यक्तिगत चरित्रमा सीमित राखेर हुँदैन । यसको लागि पार्टीभित्र चुनौती दिनसक्ने क्षमता हुनुपर्यो । एक्लै सकिंदैन भने मिलेर संघर्ष गर्नुपर्यो । त्यसो गर्न नसक्दा संगठित रूपमा संघर्ष गर्ने सामथ्र्य त उनीहरूमा देखिएन । पार्टी रूपान्तरणमा त्यस्तो सामथ्र्य भएका इमानदार नेता कार्यकर्ताको समाजमा खडेरी छ ।
एनजीओमा टिकेको एमाले
एमालेलाई बुझ्न विदेशी सहायतालाई बुझ्नुपर्छ । गएको ३० वर्षमा पार्टीभित्र विदेशी सहायता कसरी प्रयोग भयो ? त्यस्तो स्रोतको परिचालनले पार्टीलाई आजको जस्तो गतिहीन कसरी बनायो ? त्यो अर्थ–राजनीतिलाई छाडेर एमालेभित्र र बाहिर दलाल पूँजीवादको मात्रै जुन गोलमटोल बहस भइरहेको छ, त्यो पर्याप्त छैन ।
एउटा ऐतिहासिक संयोग के छ भने विश्वमा समाजवादी व्यवस्था विघटित भइरहेको र २०४६ सालको परिवर्तन उस्तै समयमा भयो । सँगसँगै एमालेसँग आवद्ध केही वामपन्थीहरूले एनजीओ खोल्ने काम त्यही सेरोफेरोमा गरे । एनजीओ विस्तारसँगै वैश्विक रूपमा अर्थ–राजनीतिमा जुन फेरबदल भयो, त्यसको फाइदा एमालेको ठूलो तप्काले उठायो । नेपालमा रहेका पहिलो तहका ५/७ ठूला कारोबार गर्ने एनजीओमध्ये एउटा राजावादीको छ बाँकी एमालेको । दोस्रो तहका ठूलो कारोबार गर्ने एनजीओ अधिकांशतः एमालेकै भयो । उहाँहरू सबै पार्टीको कार्यकर्ता हुनुहुन्छ । त्यसैले एनजीओ र पार्टीले सँगसँगै उस्तै कार्यक्रम अगाडि बढाए । योसँगै एमालेभित्र रहेको ठूलो पंक्ति एनजीओ क्षेत्रमा प्रवेश गर्यो ।
पार्टीसँग ठोस कार्यक्रम नहुँदा वैदेशिक सहयोगको रणनीतिभित्र एमाले सहायक पात्र बन्न गयो । पार्टीको स्रोत परिचालन र सञ्चालनको हिसाबले पार्टीलाई त फाइदा भयो होला । तर आजको वैचारिक टाटपल्टाइ सहित समाजको प्रगतिशील रूपान्तरणको कार्यक्रम नभएको एमाले बन्यो । यसले पार्टी र देशलाई नै घाटा भयो । कार्यकर्ता व्यवस्थापन, रोजगारी र आयस्रोतका हिसाबले फाइदा देखिए पनि एमालेको ठूलो पंक्ति एनजीओका कार्यक्रममा रमाउँदा उसले ठूलो नोक्सानी व्यहोरेको छ । यसले पार्टीको संघर्षको चरित्रमा स्खलन ल्यायो । पार्टी दक्षिणपन्थी बाटोमा हिंड्न थाल्यो । यो नोक्सानीको उत्कर्ष भनेको पार्टीको विग्रह र विघटन पनि हुनसक्छ ।
यी घटनाहरूले विश्व अर्थतन्त्रमा अन्तरनिहित खास चरित्रलाई नै बलियो बनाउने पंक्ति एमालेभित्र बढायो । यसले निमुखाको पक्षमा गर्ने राजनीतिलाई कमजोर बनायो । विदेशी दातृ निकायले दिने कार्यक्रमलाई पार्टीले निर्देशित गर्नुको सट्टा उनीहरूले नै पार्टीलाई प्रभावित गर्न सफल भए । उदाहरणको लागि, एनजीओको उदय भइरहेको बेला नेपालमा माओवादीले अर्को कम्युनिष्ट संघर्षलाई अगाडि बढाइरहेको थियो । त्यतिबेला मानवअधिकारसँग सम्बन्धित एनजीओहरूले बढी स्रोतसाधन, काम र चर्चा आउन थाले । त्यसमा एमालेहरू अग्रपंक्तिमा थिए । त्यसले घाटा कहाँ गर्यो भने जब २०६३ सालमा मधेश विद्रोह भयो अधिकांश मानवअधिकार उल्लंघनका घटनामा हिजोको पहाडी पञ्चायती राष्ट्रियता बोकेको मान्छे नै मानवअधिकारवादी रहेछन् एमालेभित्र भन्ने प्रष्ट भयो । भूगोल र संस्कृतिको आधार भेदभाव नगर्ने मानवअधिकारवादीको आवश्यकता महसूस भयो । त्यसैले मधेशकेन्द्रित मानवअधिकारवादीहरू निस्किए । किनभने युद्धकालमा विस्तार भएको मानवअधिकारको सम्बोधन गर्न समेत एमालेभित्र पहाडी राष्ट्रियतालाई बलियो बनाउने मानवअधिकारवादी मात्रै थिए ।
नेपाली समाजभित्रको संवेदनशीलता, असमानता र अन्यायले मानिसहरू कसरी अधिकारबाट बञ्चित भइरहेका छन् भन्ने तथ्य स्वीकारेर प्रत्येक मानवलाई मानवको रूपमा हेरिएन । खास किसिमको मानवअधिकारको मात्रै सुरक्षा गर्ने मानवअधिकारवादी संगठनहरू विस्तार भएका रहेछन् ।
अर्को उदाहरण, नेपालमा रहेका सहकारी संस्थामध्ये धेरै सहकारीहरूमा एमाले पंक्तिको उपस्थिति छ । तर ती सहकारीले भूस्वामित्व र उत्पादनको साधनमा श्रमिक र किसान वर्गको स्वामित्व र सहभागिता सुनिश्चितको परिकल्पना गरेर तदनुरूपको कार्यक्रम अगाडि ल्याउन सकेनन् । उनीहरू नयाँ ढंगको सुदखोरको रूपमा आए । हेर्दा सहकारी तर सहकार्य पनि छैन तथा किसान र मजदूरलाई कुनै फाइदा पनि गर्दैन ।
अर्को महत्वपूर्ण पाटो मजदूर संगठनबाट एमाले नेतृत्वमा मजदूर आन्दोलन नगर्ने नेता उदाए । तर त्यो मजदूर संगठनले विदेशी दाताबाट सबैभन्दा बढी विदेशी सहायता ल्याउँथ्यो । संघर्षको पाटोबाट मजदूरलाई संगठित गर्नेभन्दा मजदूर आन्दोलनलाई अस्तव्यस्त र ध्वस्त बनाएर संघर्ष उठ्नै नसक्ने अवस्था सिर्जना गरे । मजदूर संगठन र संघर्षको आधारभूत चरित्रलाई नै ती एनजीओले निस्तेज बनाइदिए ।
पहिला दाताहरूले केही अप्रत्यक्ष रूपमा सघाउँथे । विदेशी सहायता घुमाउरो पाराले आउँथ्यो । यसमा पछिल्लो समय देखिएको डरलाग्दो प्रवृत्ति भनेको अहिले दाताहरूले दलको नेता कार्यकर्ताहरूसँग सीधै कार्यक्रम गर्छन् । २०६३ पछि वैदेशिक सहायता सीधै दलहरूलाई आउन थालेको छ । यस्तो अभ्यासलाई संविधानसभाले थप सहज बनाइदियो । यस्तो अभ्यासले बढ्दा बढ्दा अहिले विद्रुप रूप लिएको छ । अहिले वैदेशिक सहायता लिने क्रम एमालेमा सीमित नभएर सबै दलहरू धेरथोर ग्रसित छन् । दलहरूले आफ्नो कार्यक्रमलाई प्राथमिकतामा तोकेर स्पष्ट नीतिगत निर्णय गर्दै वैदेशिक सहायताबारे पुनर्विचार गर्नुपर्छ । यसको स्वामित्व पार्टीले पनि लिन सक्नुपर्छ । यसो गर्न नसक्दा वैदेशिक स्वार्थ हावी हुन्छ र नेपालभित्र आधारभूत वर्गका जनताले चाहे जस्तो संघर्षको नेतृत्व यी दलहरूले गर्न सक्दैनन् ।
विदेशी सहायताबारे हाम्रो सार्वजनिक वृत्तमा र राजनीतिक रूपमा पार्टीभित्र खुलेर बहस नहुने र गोलमटोल रूपमा विदेशीले उठाएको एजेन्डा एमालेले बोक्ने अनि ३० वर्षमा सबैभन्दा बढी विदेशीको सहयोगमा आफ्नो जनाधार र पार्टीको पार्टपुर्जालाई बलियो बनाएर जनताको पक्षमा संघर्ष नगर्ने दल पनि एमाले नै हुने । यस्तो विरोधाभासपूर्ण स्थिति छ । विदेशी सहायतामा टिकेको राष्ट्रवाद नै एमालेको राष्ट्रवाद हो । यो गोलमटोलबाट एमाले निस्किएर पार्टीभित्र यसबारे जबसम्म खुलेर कुरा गर्दैन तबसम्म एमालेको पनि भविष्य छैन, अरू दलहरूले पनि नेपालको सीमान्तकृत जनताको पक्षमा संघर्ष गर्ने आधार तयार गर्न सक्दैन ।
समग्रमा यी सबै गतिविधिले पार्टीलाई विदेशी दातामुखी बनाएको, संगठनलाई संघर्षहीन बनाएको, दलाल वर्गको उत्पादन गरिरहेको देखिन्छ । यसले एमालेलाई विचारशून्यता र व्यक्तिवादमा पुर्याएको छ ।
सबैतिर संक्रमण
एमालेमा जस्तो संक्रमण सबैभन्दा पहिला अन्य कम्युनिष्ट पार्टीभित्रै भइरहेको छ । त्यसैले सबै कम्युनिष्ट पार्टीहरू विग्रह र विघटनकै चरणमा छन् । महाधिवेशनले यी सबै पार्टीलाई सच्याउने भन्दा शक्ति–सञ्चयको अवसर दिन्छ । आजको नेतृत्वले महाधिवेशनलाई योभन्दा माथिबाट हेर्न सक्दैन । सच्याउने/सच्चिने सम्भावना सधैं रहन्छ तर आजको नेतृत्वसँग यसलाई सच्याउने सामथ्र्य छैन । त्यसैले शक्ति–सञ्चय, आफ्नो गुटलाई संगठित गर्ने र म नै सबैभन्दा ठूलो कम्युनिष्ट दलमा छु भनेर दाबी गर्ने काम एमालेले गर्छ । अरूले पनि निर्वाचन अगाडि त्यही गर्ने हुन् ।
कांग्रेसको चरित्र अलि फरक छ । तर पनि कम्युनिष्टहरूको यो प्रवृत्तिको अभ्यास र संस्कृतिको संक्रमण कांग्रेसमा पनि हुन्छ । किनकि दुवै प्रकारका पार्टीहरूमा व्यक्तिवाद हावी छ । विभाजनअघि एमालेमा खुलेर महाधिवेशन हुने, विधि विधान र पद्धति अनुसार चल्ने भइरहेको देखिन्थ्यो । सहकार्यको संस्कार पनि केही थियो । केपी ओलीको महत्वाकांक्षाले एमालेलाई अलि बढी नै क्षति पुर्याएको छ । कांग्रेस पनि आजको मितिमा शेरबहादुर देउवाको तजबिजमा चल्ने पार्टीमा रूपान्तरण भइरहेको छ । यहाँ पनि विधि र पद्धति केही छैन । यति पुरानो पार्टीमा पनि सदस्यतामै लामो विवाद भएर महाधिवेशन नै प्रभावित छ । कांग्रेसभित्र आफू अनुकूलको मतदाता छनोट गरेर आफू नेतृत्वमा पुग्ने अभ्यास जबर्जस्त छ ।
अहिले ओलीले पनि एमालेलाई यस्तै संगठन बनाउन खोजिरहेका छन् जहाँ पहिला आफू अनुकूलको मतदाता छानिन्छ । पहिला मतदाता सुनिश्चित गर्ने र त्यसबाट आफू विजयी भएर आउने । कांग्रेसमा नेताहरूको पकेट क्षेत्र हुन्छ । पार्टीगत रूपमा संगठन र सदस्य नभएपछि जो अगाडि आउँछ ऊ नै सर्वेसर्वा हुने प्रचलन त्यहाँ छ । व्यक्ति अनुकूल नतिजा नआउने अवस्थामा प्रक्रिया नै रोकिन्छ । यसरी हेर्दा एमाले पनि अहिले कांग्रेसको व्यक्तिकेन्द्रित मोडेलमा तीव्र गतिमा अगाडि बढिरहेको छ ।
भविष्यको बाटो
पार्टी इमानदार मानिसले मात्र बनाउने होइन । यसको अर्थ बेइमान मानिसहरूले पार्टी बनाउँछ भनेको पनि होइन । पार्टी भनेको खास विचार, सिद्धान्त र विश्व दृष्टिकोण बोकेको र त्यसलाई पछ्याउने संघर्षको कार्यक्रम, त्यसलाई कार्यान्वयन गर्न प्रतिबद्ध भएको जनाधार र संगठनले बनाउने हो । नयाँ विचार चरित्र निर्माण गर्नको लागि पनि सही वैचारिक दृष्टिकोण र संघर्षको कार्यक्रम चाहिन्छ । त्यसैले केही राम्रा मानिसले मात्रै पार्टी बनाउन सक्दैनन् । समाज वा पार्टीभित्र सज्जन मान्छेहरूको कमी भएर हामी यो अवस्थामा पुगेका होइनौं ।
वैचारिक रूपमा टाट पल्टिए पनि अहिलेको नेतृत्वसँग साधन, स्रोत छ, उत्पादनका साधनमाथिको स्वामित्व छ । त्यसैले उनीहरूले पार्टी र संगठन नै यसरी बनाए कि त्यहाँ हुने–खाने मात्रै पुग्छन् । पार्टीले पनि हुने–खानेकै हितमा कार्यक्रम गर्छ । हामीले कम्युनिष्ट पार्टीको रूपमा चर्चा र बहस गरिरहेका छौं तर यो त वास्तवमा कम्युनिष्ट पार्टी नै होइन । कसैले दाबी गर्दैमा मात्रै कोही कम्युनिष्ट हुँदैन ।
नेतृत्वमा आउनका लागि पनि पार्टीभित्र केही प्रक्रियाहरू हुन्छन् । कुनै कालखण्डमा कुनै व्यक्तिले पार्टीलाई आफू अनुकूल डोर्याउन सक्ने सम्भावना रहन्छ । त्यसैले व्यक्ति र नेतृत्वको पनि भूमिका त हुन्छ तर कुनै कम्युनिष्ट पार्टीले केवल एउटा नेतृत्व मात्रै हेर्छ भने त्यो पार्टी र समाज दुवै अभागी हो । हामीले कुनै नेता खोजेर उसले चामत्कारिक परिवर्तन गर्छ भन्ने विश्वास राख्छौं भने हामी अभागी सावित हुन्छौं ।
अर्को कुरा एमालेले २०४६ सालदेखि योजनावद्ध रूपमा नै श्रमिक वर्ग जसरी पनि निर्णायक नहुने प्रकारको पार्टी र संगठन निर्माण गर्दै लग्यो । यसको स्वाभाविक नतिजा त्यस्तो पार्टीले जन्माउने केपी ओली जस्तै नेता हो । कारखाना नै त्यस्तो बनाएपछि उत्पादनमाथि चर्चा गरेर समय बर्बाद बनाउनुहुँदैन ।
कुनै व्यक्तिमा बढी क्षुद्रता, हठ र महत्वाकांक्षा होला, यी गुणहरू ओलीमा छन् । तर वैचारिक रूपमा उनले नेतृत्व गरेको धार भनेको हिजो पञ्चायतकालदेखि अगाडि बढिरहेको संकुचित राष्ट्रवाद, अत्यधिक केन्द्रीकृत प्रकारको सत्ता र कामदार वर्गप्रतिको घृणा बोक्ने मान्यता, विचार र कार्यक्रम भएको दल नै हो । एमाले त्यही हो । हिजो माधवकुमार नेपालले पनि यही दलको नेतृत्व गरेका हुन् । व्यक्तिको आनीबानी र अभिव्यक्ति गर्ने तरिकामा हुने फरकले पनि केही न केही फरक पार्छ नै । माधवकुमार नेपालको पालामा कतिपय कुरा चर्को रूपमा अभिव्यक्त भएनन् होला । अहिले धेरै अभिव्यक्तिहरूमा केवल क्षुद्रता हावी भयो । तर समग्रमा एमाले हिजो पनि श्रमजीवीको हित गर्ने पार्टी थिएन, आज पनि होइन । यही तरिकाले अगाडि बढ्दा भोलि पनि प्रगतिशील रूपान्तरण सम्भव छैन ।
(कुराकानीमा आधारित)
प्रतिक्रिया 4