कठ्याग्रिने जाडोसँगै अमलाको रुख चियाएर आकाशतिर हेर्दै खुसी भएको हिजो हो कि झैं लाग्छ । तर त्यो अतीत तीन दशक पुरानो भइसकेको रहेछ । त्यो बेला म रुखमा अमला देखेर होइन, फर्फराइरहेको रातो झण्डा देखेर पुलकित भइरहेको थिएँ । मन फुरुङ्ग पारेको थिएँ ।
म जहाँ हुर्कें, बढें र शिक्षा लिएँ, त्यहाँ नबसेको पनि आज १९ वर्ष बढी भइसकेछ । नजिकै रहेर पनि पाहुना जसरी जानु मेरो जीवनको अर्को बाध्यता हो । जब अनेक बाध्यता पन्छाएर घर पुग्छु त्यो विगत मेरा अगाडि सजीव भएर उभिन थाल्छ । हो, झट्ट हेर्दा आज पनि सबै उस्तै छ, दुरुस्तै छ, तर तीन दशक अघि मेरो घर अघि फर्फराउने गरेको झण्डा अमलाको रुखमा फर्फराएको छैन । अझ भनौं, मेरो रुखबाट, मेरो गाउँका हरेक घर र धन्सारका धुरीबाट ती राता झण्डा हराएका छन्, गुमनाम भएका छन् ।
यो मेरो मात्र कथा होइन । मेरो गाउँको मात्र कथा पनि होइन । अधिकांश गाउँको कथा हो, व्यथा हो । २०४६ सालको परिवर्तन पछि हरेकजसो गाउँहरू झण्डा टाँगेर राताम्मे बनाइएको हुन्थ्यो । कुनै घर झण्डाविहीन हुँदैनथ्यो । घर, गोठका धुरी, आँगन र चोटाका डिलमा रहेका रुख राता झण्डाले सजाइएका हुन्थे । झण्डा अलिकति पुरानो भयो कि बदल्न हतारो भइहाल्थ्यो । जसरी लालुपाते फुल्दा वनै राताम्मे हुन्छ, उसैगरी विभिन्न चिहृन लेपिएका राता झण्डाहरू निसंकोच फर्फराइरहेका हुन्थे ।
सानो उमेर भएकोले कमै मात्रामा कुरा बुझ्थें मैले । अरू धेरै कुरा बुझ्ने ल्याकत ममा नभए पनि एकाध कुरा बुझ्थें । दाइ/दिदी र काका/बुवाहरूले गरेका चियागफ खासखुस सुनिरहेको हुन्थें । ‘कसले सबभन्दा अग्लो रुखमा झण्डा गाड्यो ? कसको धुरीमा गाडेको झण्डा सबभन्दा ठूलो छ ?’ लगायतका गफहरू चियापसलमा मच्चीमच्ची गरिन्थे त्यो बेला । सायद यिनै गफ पनि दलीय जोडघटाउको मापनका विषय बनाइन्थे होला ।
साँच्चै त्यो बेला यिनै घर, गोठ र रुखमा टाँगिएका झण्डाहरूले औधी रमाइलो बनाउँथ्यो, मन चङ्गा झैं फुरुङ्ग पाथ्र्यो । दशैं, तिहार आउँदा होस् या डाँडाबाट क्यासेट बजाउँदै लाहुरे गाउँ भित्रिंदा किन नहोस्, निसंकोच खुसीले मन भरिएझैं त्यो बेलाका झण्डाहरूले मनमा थप खुसी र उमङ्ग दिइरहेको हुन्थ्यो । हामी स-साना भुराभुरी जम्मा भएर दिनमा कैयौं पटक झण्डा गनेर बसेको याद अझै ताजै छ मानसपटलमा ।
स्कूल जाँदा-आउँदा होस् या अलि उँचो डाँडोमा गएर गाउँ हेर्दा होस्, त्यो बेलाको मज्जा नै बेग्लै हुन्थ्यो । बिहान उठेदेखि बेलुका झमक्क साँझ नपर्दासम्म फर्फराइरहेका यिनै झण्डा आँखा वरिपरि घुमिरहन्थे, हामी हेरेर थप रोमाञ्चित भइरहन्थ्यौं । आज मनमनै सोच्छु, ‘त्यो बेला साथमा मोबाइल भइदिएको भए कति सेल्फी लिंदो हुँ म ?’
बस्ती रित्तिंदैछ । घर खाली छन्, भरिएका घरमा पनि विगतको जस्तो उत्साह र रौनकता छाएको देखिंदैन । भोको पेट भर्नैका लागि सहर झर्नुपर्ने बाध्यता ज्यूँका त्यूँ छ । नाम उही छ, गाउँ उही छ, घर उनै हुन् तर रित्तिने उपक्रम रोकिएको छैन
सम्झँदा पनि मन त्यसै प्रफुल्लित भएर आउँछ । त्यो विगत कति उन्मत्त खुसी दिएर गयो ? हामीलाई कति सपना देखाएर गयो । अहिले सम्झन्छु त्यो समय अनि पल । बच्चादेखि वृद्धसम्म सबैको ओठमा हाँसो छचल्किएको थियो । गाउँ तन्नेरी थियो, परिवेश तन्नेरी थियो । भर्खर पञ्चायत ढलेर बहुदलीय व्यवस्थाको प्रारम्भ भएको त्यो क्षण, प्रत्येक गाउँटोलमा अपेक्षा र आशाका किरणहरू सल्बलाइरहेका थिए । मानौं, त्यो बेला जनताले सबै अधिकार, सुविधा अनि विकास एकैपटक सर्लक्कै प्राप्त गरिसके । अब जनताको दुःख एक निमेषमै समाप्त भएर जाँदैछ ।
खै ! एकाध बाहेक दल र नेताप्रतिको त्यो उच्च विश्वास अनि भरोसा आजका दिनसम्म आइपुग्दा निकै धर्मराएको देखिन्छ । दलीय राजनीतिले तत्कालीन अपेक्षा अनुसार तीव्र परिवर्तन र विकासको चाहनालाई सम्बोधन गर्न सकेको छैन । अझ भन्नुपर्दा गरिबीले चिसिएको मनलाई राजनीतिक परिवर्तनको तातो बाफले सेक्न सकेको छैन । भोको पेटमा दन्दनी हुर्केको राँको निभ्ने कुनै सङ्केत देखिंदैन ।
म घोत्लिन्छु, ‘किन गाउँ विगतजस्तो तन्नेरी छैन ? अनि किन तन्नेरीहरूमा विगतको जस्तो उत्साह छैन ?’ हो, आज गाउँ विगतजस्तो भरिभराउ पनि छैन । वल्तिरको घर रित्तै छ, पल्तिरको घर रित्तै छ । मास्तिरको टोल त्यस्तै अनि तल्तिर झन् कन्तविजोग देखिन्छ । समग्रमा गाउँ सुनसान छ । अर्थात् बस्ती रित्तिंदैछ । घर खाली छन्, भरिएका घरमा पनि विगतको जस्तो उत्साह र रौनकता छाएको देखिंदैन । भोको पेट भर्नैका लागि सहर झर्नुपर्ने बाध्यता ज्यूँका त्यूँ छ । नाम उही छ, गाउँ उही छ, घर उनै हुन् तर रित्तिने उपक्रम रोकिएको छैन ।
२०४६ को जनआन्दोलनबाट प्राप्त बहुदलीय व्यवस्थाले साँच्चै धेरैमा नयाँ ऊर्जा ल्याएको पनि हो । बुवा-आमा, काका-काकी र दाइ-दिदीहरूले त्यो बेलाको युवा जोश सर्लक्कै पार्टीको काममा खर्चिएका थिए । आज त्यो बेलाका धेरै बुवा-आमाहरू क्रमशः प्रौढ भइसक्नुभएको छ तर त्यो कालको उभार उमेरसँगै निस्तेज हुँदै गएको महसुस गरेको छु मैले ।
पञ्चायत विरुद्धको आन्दोलनका क्रममा कैयन् नेताहरूलाई धन्सारमा लुकाएर खुवाएको र गमलामै गराएका दिसापिसाब व्यवस्थापन गर्दाका घटना अझै सम्झन्छन् बाआमाहरू । जसले आफ्नो गाँस काटेर भकारीमा नेता पाले, दिसापिसाब तर्काइदिए, उनीहरू नै त्यो परिवर्तनको सच्चा सिपाही हुनुपर्ने हो, तर आजका दिनसम्म पनि दल र तिनको नेतृत्वबाट पाएका आश्वासन पूरा नभएकोमा ठूलै दुःखमनाउ गरिरहेका भेटिन्छन् उनीहरू ।
भकारी रित्याएर होस् वा आफ्नो तलब सर्लक्कै पार्टीलाई बुझाएर किन नहोस्, आन्दोलनमा इँटा थप्नेहरूको पनि कमी छैन गाउँमा । रातभरि फदलाका काँडासँग पौंठेजोरी खेल्दै झण्डा टाँग्न टुप्पोमा पुग्नेहरू उहीं गाउँमै गम्खा-पहिरा चिनिरहेका छन् । बाँसका लामा लामा घोचा काटेर राँका बनाउने-बाल्नेहरू पनि जेनतेन एक पेटका लागि घुँडा धसिरहेका छन् । के सोचेर आन्दोलनमा होमिए कुन्नि ? तर तिनीहरूले खोजेको विकास र परिवर्तन आजसम्म भेट्टाउन नसकेको छनक उनीहरूको दैनन्दिनीबाट प्रष्ट देख्न सकिन्छ । यी दृश्य-परिदृश्य हेर्दा लाग्छ, आन्दोलनका थुप्रै सहयोद्धाहरूको मन चिमोटिएको छ, चिथोरिएको छ ।
त्यति मात्र होइन, जनआन्दोलन भाग-२ मा समेत आमसर्वसाधारणले देखाएको विशाल उपस्थितिले एकपटक नेतृत्वलाई सच्चिएर अघि बढ्ने गोरेटो तय गरेको थियो । स्वतस्फूर्त सडकमा उभिएर दल र नेतृत्वका लागि आफ्नो छातीमा गोली थाप्न तयार ती सर्वसाधारणहरू आजका दिनमा कहाँ बसेर के सोच्दै होलान् ? के उनीहरूले देखेका र चाहेका सपनाहरू फगत यतिका लागि मात्रै थिए त ? अहँ… सायदै थिएन । उनीहरू माथि घात-प्रतिघातका शृङ्खलाहरू एकपछि अर्को गर्दै जबर्जस्त दोहोरिन पुगे ।
यतिबेला गाउँ गुनासै-गुनासाले विस्फोट हुने क्रममा छ । उनीहरू भन्छन्- ‘आँटी र ठाँटीमा हामीले नै लुकाएर पठाएकाहरू संसद् र सत्ताको भोग गरिरहँदा दिनभरि बाँसका घोचा ताछेर रातभरि राँको सल्काउने हामीहरू बहुदल/गणतन्त्र आएको अनुभूतसम्म गर्न पाएनौं ।’
राजनैतिक परिवर्तनपछि जनताले आर्थिक रूपान्तरणको ठूलै अपेक्षा गरेका थिए । हिजोका राजारजौटा र खान्दानियाको तुलनामा गरिबको छोरो सत्तामा पुग्दा ठूलै भिन्नता आउँछ भन्ने अनुमान गरेका थिए । तर अपेक्षा गरेअनुसारको परिवर्तन व्यवहारमा देख्न पाएनन् । दैनिक जीवनयापन, अर्थतन्त्र, रोजगार, शिक्षा, व्यापार, कृषि, स्वास्थ्य, राष्ट्रियता, शासन पद्धतिमा आएको अस्थिरता, उथलपुथल स्वाभाविक हुन सकेनन् । व्यक्तिवादी झोले प्रवृत्ति, ठेकेदारी पञ्जा जस्ताको तस्तै रहे ।
उच्च बेरोजगारी, औद्योगिक क्रान्ति, विश्वव्यापीकरणसँगै विज्ञानप्रविधि अर्थतन्त्रको विकास, आफ्नै राज्यमा विदेशी शरणार्थीको जीवन बाँच्न विवश नेपालीको दयनीय अवस्था, जनताप्रति राज्य बेखबर, समायोचित राष्ट्रिय नेतृत्वको अभाव लगायत विषय आज पनि ज्यूँका त्यूँ छन् । यी यावत् समस्याका कारण २०४६/२०६२-६३ को परिवर्तन पछिका जनउभार आज जस्ताको त्यस्तै टिक्न सकेन । दलप्रतिको जनविश्वासमा कमी आउँदै गयो । नेताहरूका बचनमा विश्वास टुट्दै गयो र त हिजो हाम्रा बुवा-आमाहरूको पालामा जस्तो घरघरका धुरीमा झण्डा टाँग्ने ऊर्जा हराउँदै गयो ।
समग्रतामा २०४६ सालपछि देशमा थुप्रै आन्दोलन भए । परिवर्तनका लागि देशले कहिल्यै क्षतिपूर्ति नहुने जनधनको लगानी गर्नुपर्यो । त्यति बेला राजनीतिक चेतनाको कमीका कारण एकअर्काप्रति रिसराग पाल्ने र आगोपानी बार्ने अवस्थाहरू पनि सिर्जना भए । सोही कारण कतिका टाउका फुटे, कति परिवार विस्थापित भए । फलस्वरुप चाहेर वा नचाहेरै हामी आगोपानी बार्ने मूर्खताबाट बाहिर आएका छौं ।
शक्ति प्रदर्शनका नाममा अनावश्यक जनता भिड्ने/भिडाउने, झण्डा लडाईं (झण्डा टाँग्ने/च्यात्ने) संस्कृतिबाट मुक्त हुँदै गएका छौं । पहिले जस्तो रुखका टुप्पादेखि घर-धन्सारका धुरीसम्म राता झण्डा टाँग्ने रवाफी होडबाजीबाट धेरै पर आएका छौं । अर्थात् हामी राजनीतिमा थोरै भए पनि संस्कार सुरुवातको अनुभव गर्दैछौं ।
प्रतिक्रिया 4