
९ फागुन, काठमाडौं । ३ फागुनमा नेपाली बजारमा सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा पुग्यो । २ फागुनको तुलनामा तोलामा एकैदिन एक हजार दुई सय रुपैयाँले बढेर छापावाल सुनको भाउ ९६ हजार ७ सय रुपैयाँ प्रतितोला कायम भयो । जुन अघिल्लो वर्षको तुलनामा तोलामा ७ हजार ७ सय रुपैयाँले बढी हो ।
९ फागुन २०७७ मा नेपाली बजारमा छापावाल सुनको मूल्य ८९ हजार रुपैयाँ मात्रै थियो । माघ अन्तिम साताबाट बढ्न सुरु भएको सुनको मूल्य फागुन दोस्रो साता सुरु हुँदासम्म तीव्र उतारचढाबकाबीच बढ्दो क्रममा छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार दुइ सातायता सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँभन्दा माथि नै छ । सुनको उच्च माग हुने विवाहको सिजनमै मूल्यमा नयाँ रेकर्ड बनेपछि सुन खरिदकर्ताहरु सुनको मूल्य कहाँ पुग्छ भन्ने चिन्तामा छन् ।
दुइ सातायता मूल्यमा उतारचढाव
२५ माघयता मात्रै सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको छ । २५ माघमा तोलामा ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ३ फागुनमा उच्च रेकर्डमा पुग्यो । त्यसयता पनि सुनको मूल्य तोलामा ९५ हजारबाट तल झरेको छैन । २६ माघमा प्रतितोला ९३ हजार ४ सय, २७ माघमा ९३ हजार ९ सय र २८ माघमा सुनको मूल्य ९४ हजार पुग्यो । यस्तै १ फागुनमा प्रतितोला ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य २ फागुनमा स्थिर रह्यो । ३ फागुनमा सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा पुग्यो । उक्त दिन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भयो ।
४ फागुनमा एकै दिन तोलामा एक हजार ६ सय रुपैयाँले ओरोलो लागेको सुनको मूल्य ५ फागुनमा पुनः तोलामा एक हजार रुपैयाँले वृद्धि भएर ९६ हजार एक सय रुपैयाँमा पुग्यो । ५ फागुनमा चार सयले बढेर ९६ हजार पाँच सय रुपैयाँ पुगेको सुनको मूल्य ६ गते एक सय रुपैयाँ मात्रै वृद्धि भयो । ८ फागुनमा प्रतितोला एक सयले बढेर पुनः ९५ हजार ६ सय रुपैयाँ पुगेको सुनको मूल्य ९ फागुनमा चार सय रुपैयाँले घटेर ९६ हजार २ सय रुपैयाँमा झरेको छ ।
अन्तर्राष्ट्रिय मूल्य ट्रेन्ड
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार विदेशबाट कोटामा खरिद गरेर बिक्री गरिने सुनको मूल्य उतारचढाबमा स्वदेशी कारण केही हुँदैन । पछिल्लो समय सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै तीव्र उतारचढाबपूर्ण रहेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् । गोल्ड प्राइस डटकमकाअनुसार ७ फेब्रुअरीयता सुनको मूल्य प्रतिऔंश ७८.२३ डलरले वृद्धि भएको छ ।
बजार मागको तुलनामा उत्पादन कम हुनु, विभिन्न ठूला मुलुकका रिजर्भ बैंकले सुन खरिद बढाउनु, अन्तर्राष्ट्रिय बजारमा मुद्रास्फीति बढ्नु जस्ता कारणले सुनको मूल्य वृद्धिमा सहयोग पुर्याइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अब के हुन्छ मूल्य ?
सुनबारे सरोकार राख्ने विभिन्न संघसंस्थाहरुका अनुसार सुनको सिक्काको माग अन्तर्राष्ट्रिय बजारमा पछिल्लो दुई वर्ष यताकै उच्च छ । वर्ल्ड गोल्ड काउन्सिलकाअनुसार सन् २०२१ को समग्र सुनको सिक्काको माग पछिल्लो ८ वर्ष यताकै उच्च अर्थात ३१ प्रतिशतले बढेको छ । सन् २०२१ मा सुनको औद्योगिक खपत पनि बढेका कारण आगामी वर्ष सुनको मूल्य बढ्न सक्ने काउन्सिलको पूर्वानुमान छ ।
कोभिड-१९ का कारण पहिलो पटक २३ साउन २०७७ मा अन्तर्राष्ट्रिय रुपमै भएको लकडाउनले सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च एक लाख ३ हजार ५०५ रुपैयाँ पुगेको थियो । त्यसयता ओरोला लागेको सुनको मूल्य यूक्रेन र रसियाको तनाबका कारण उकालो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघको बुझाइ छ । कच्चा तेलको भाउ जस्तै युक्रेनमाथि आक्रमण भए सुनको भाउ बढ्ने र नभए घट्दै जाने महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् ।
प्रतिक्रिया 4