
१२ फागुन, काठमाडौं । १२ दिनपछि बल्ल काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न थालिएको छ । बुधबार स्थानीय र सरोकारवालाबीचका छलफलमा तत्काल सडक निर्माणको काम सम्पन्न गर्ने सहमति भएपछि आज बिहानदेखि उपत्यकाको १८ स्थानीय तहका फोहोर विसर्जन हुन थालिएको हो ।
तोकिएका समयमा सडक निर्माणको काम सम्पन्न नगरेको जनाउँदै स्थानीयको अवरोधका कारण यही फागुन १ गतेदेखि फोहोर उठ्न सकेको थिएन । हाल फोहोर बिसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने ६ किलोमिटर बाटो मर्मतको काम समयमा नै सम्पन्न नगरेको जनाउँदै पासाङल्हामु राजमार्गका स्थानीयले गरेको अवरोधका कारण ती स्थानीय तहको फोहोर उठ्न नसकेको हो ।
१२ दिनपछि फोहोरको व्यवस्थापन आज बिहानदेखि हुन थाले पनि यसअघि काठमाडौं उपत्यकाको सडकमा जम्मा भएको सबै फोहोर व्यवस्थापन गर्न भने कम्तीमा पाँचदिन लाग्ने काठमाडौं महानगरपनलिका(कामपा)को भनाइ छ ।
ती स्थानीय तहको फोहोर विसर्जन गर्नका लागि दीर्घ समाधान हुन नसक्दा पटक-पटक समस्या उत्पन्न भएको कामपा वातावरण विभागको प्रमुख सरिता राईको भनाइ छ । उनका अनुसार २०७० सालदेखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटक-पटक स्थानीयले आन्दोलन गर्दा फोहोर विसर्जनमा अवरोध हुने गरेको छ ।
सडक बनाउने जिम्मेवारी
हाल बञ्चरेडाँडामा दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माण कार्य भइरहेको र निर्धारित समस्यमा काम सम्पन्न नहँदा समस्या भएको पनि कामपाको भनाइ छ ।
कामपाले नियमितरुपमा उपत्यकाको फोहोर बिसर्जन गर्ने हो भने केन्द्र सरकारले छिटोभन्दा छिटो दीर्घ समाधन खोज्न आवश्यक रहेको भन्दै अन्यथा आगामी बर्खाका समयमा झन ठूलो समस्या आउने जनाएको छ ।
काठमाडौं उपत्यकाको फोहोर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । उक्त स्थान पनि भरिएपछि फोहोर व्यवस्थापनमा थप समस्या हुन थालेको हो । हाल फोहोर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माणको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाको भनाइ छ ।
प्रतिक्रिया 4