
२० फागुन, सुर्खेत । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले नीति निर्माण प्रक्रियामा युवा सहभागिता अपरिहार्य रहेको बताएका छन् ।
शुक्रवार वीरेन्द्रनगरमा आयोजित पूर्वसंसद सयोग शिविरको शुभारम्भ गर्दै सभामुख शाहीले राष्ट्र निर्माणका लागि नीति आवश्यक रहेको र नीति निर्माणमा युवा सहभागिता अपरिहार्य रहेको बताएका हुन् ।
‘राष्ट्र निर्माणका लागि नीति आवश्यक छ, तर नीति निर्माणमा युवा सहभागिता शून्य देखिन्छ । अव युवाहरुको ध्यान नीति निर्माणमा केन्द्रित गर्न आवश्यक छ’ उनले भने ।
सभामुख शाहीले नीति निर्माण प्रक्रियामा व्यापक युवा सहभागिता गराए उत्कृष्ट कानुन बन्नुका साथै नेतृत्व निर्माणको भूमिकामा समेत बल पुग्ने विश्वास व्यक्त गरे । ‘हामी नयाँ व्यवस्था कार्यान्वयनको प्रारम्भिक चरणमा छौं, यो व्यवस्था बचाउँनु हामी सबैको दायित्व हो । सबै मिलेर आफनो दायित्व निर्वाह गरौं ।’ उनले भने ।
संसदीय कार्यमा युवाहरूको सहभागिता प्रवर्द्धन गर्न अमेरीकी दूतावासको सहयोग तथा पोखरा रिसर्च सेन्टरसँगको सहकार्यमा ऋति फाउण्डेशनले सञ्चालन गरेको उक्त शिविरमा कर्णालीका १० जिल्लाबाट ५० जना युवाले सहभागिता जनाएका छन् ।
शिविरले युवाहरुलाई नीति निर्माण प्रक्रियाबारे बुझ्न र नीतिनिर्माताहरुसँग काम गर्ने अवसर प्रद्धान गर्ने आयोजक ऋति फाउण्डेशनका प्रवन्ध निर्देशक दिनेश गौतमले जानकारी दिए ।
प्रदेशमा पहिलोपटक आयोजना गरिएको उक्त शिविर तीन दिनसम्म चल्ने छ । ५० जना मध्येबाट २५ जना सहभागीलाई छनौट गरि दोस्रो शिविर सम्पन्न गरेपछि १२ जनाको अन्तिम सूची निकालिने छ ।
तालिमको प्रस्तुति र सक्रियताका आधारमा छनोट भएका १२ जना युवाहरुले आगामी ६ महिना कर्णाली प्रदेश सभाका सदस्हयरूसँग ज्ञान सहायकको रूपमा काम गर्ने छन् ।
प्रतिक्रिया 4